चट्याङ्को त्रासदीः के कारण पर्छ चट्याङ्, कसरी जोगिने ?

0
629

काठमाडौं ।

वर्षायाम शुरु भएसँगै चट्याङ्को त्रासदी पनि शुरु हुन्छ । चट्याङबाट वर्षेनी दर्जनौंले अकालमै ज्यान गुमाउने गरेका छन् ।

यो प्राकृतिक विपदलाई रोक्न त सकिंदैन तर केही सावधानी अपनाए ज्यान भने जोगिन सक्छ । सामान्यतः चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेका हुन्छन ।

तर मनसुन शुरु हुनु भन्दा अघि र मनसुन सकिने बेला बादलको उचाईं धेरै हुने भएकाले अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने खतरा हुन्छ ।

आकाशमा विपरित दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसका अणुहरुबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरंग एवं शक्ति नै चट्याङ हो ।

यो अचानक हुने विद्युतीय विस्फोटन पनि हो । सबै किसिमका चट्याङले विद्युतको लहर उत्पन्न गराउने हुँदा चट्याङलाई खतरनाक मानिन्छ ।

जब आकाशमा उत्पन्न बादलको चार्ज र पृथ्वीमा रहेको विपरीत चार्जका बीच प्रतिक्रिया हुन्छ त्यसबाट उत्पन्न हुने उर्जाले पृथ्वीमा असर पुर्‍याउने मौसमविद् शान्ति कँडेल बताउँछिन् ।

खुला स्थान वा अग्ला डाँडामा चट्याङको जोखिम बढी हुन्छ । बादलमा जम्मा भएका विद्युतीय चार्ज आकाशबाट पृथ्वीतिर आउने क्रममा जुन वस्तु नजिक पर्छ त्यही वस्तुमा चट्याङले हान्ने हुँदा टावर, अग्ला रुख, अग्ला संचरनामा चट्याङ पर्ने गर्दछ ।

चट्याङबाट बच्न सबैभन्दा राम्रो उपाय घरभित्र बस्नु नै हो । तर घर भित्र बस्दा पनि केही सावधानी भने अपनाउनुपर्ने हुन्छ ।

घरभित्र बस्दा पनि टेलिभिजन/टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धारा बन्द गर्ने, झ्यालको छेउ, भित्तामा अडेस लागेर नबस्ने जस्ता सावधानी अपनाउन मौसमविद्हरु सल्लाह दिन्छन् ।

फलामे डन्डी प्रयोग गरेर बनाइएको पक्की घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्दा यसबाट बच्न सकिने सल्लाह दिंन्छन् ।

मौसम पुर्वानुमान शाखाका अनुसार नेपालमा कतिबेला चट्याङ पर्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here