जेलको ड्युटीबाटै प्रहरीको पेस्तोल गायव

0
528

बिर्तामोड।

ड्युटीमा रहेको प्रहरीले नै हतियार हरायोभन्दा तपाइँलाई अचम्म लाग्न सक्छ । तर, यस्तै भएको छ जिल्ला कारागार झापामा ।

जिल्ला कारागार झापामा सुरक्षार्थ खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित त्यसमा लाग्ने १४ राउण्ड गोली हराएका छन् ।

जिल्ला कारागार झापाको नेतृत्व सम्हालेका प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला जिल्ला कारागार झापाबाट प्रहरीले हतियार हराएको हो ।

प्रहरी नायव निरीक्षक आचार्य बिदामा रहेका बेला प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई काज दिइएको थियो । एक प्रहरीले अर्का प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, बिहान हतियारसहित गोली नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो ।

सुरक्षाकर्मीले नै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ । छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान गरिरहेको श्रोतले जानकारी दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले सूक्ष्म अनुसन्धान भइरहेको समेत बताए । कारागार सुरक्षार्थ खटिएका प्रहरीको लापरवाहीकै कारण यस अघि एक कैदी फरार भएका थिए । गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएको महिना बितिसक्दा पनि अझैं पक्राउ परेका छैनन् ।

२०७१ साल असार ७ गतेदेखि जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी २०७५ साउनमा दिउँसै कारागारबाट पर्खाल नाघेर भागेका थिए ।

माझी पेशाले इलेक्ट्रिसियन थिए । कारागारभित्रै बिजुली बनाउने काम गर्नका लागि उनले सिंढीको प्रयोग गरेका थिए । सिंढी चढेर काम गर्दै गर्दा उनी पर्खाल नाघेर फरार भएका थिए ।

फरार भएका उनलाई केही घण्टामै प्रहरीले फेला पारे पनि गरामनीमा प्रहरीमाथि ढुंगा प्रहार गरी उनी पुनः भाग्न सफल भएका थिए । कारागारबाट कैदी फरार भएपछि ६ प्रहरी कारावाहीमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here