सुवास संघाईको अटेरीले चिया मजदुर समस्यामा

0
868

इलाम।

आन्दोलनरत् चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भए पनि इलामका दुई बगानका श्रमिक भने अझै काममा फर्किएका छैनन् ।

संघाई ग्रुपले भाडामा लिएको इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने संघाई ग्रुपले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन् ।

ती बगानमा चियापत्ती हुर्किसकेका कारण नयाँ श्रम ऐन २०७४ अनुसार ज्याला दिन नसकिने संघाई ग्रुपका अध्यक्ष सुवास संघाईले बताए । मुख्य मौसमको चिया पूरै हुर्किसक्यो । अब कसरी हामीले चियाको ज्याला दिने ?– संघाईले भने– त्यसमा पनि श्रमिकले पूरा कामै गर्दैनन् । जम्मा छ घण्टा काम गर्नुपर्नेमा चार घण्टा मात्र काम गर्छन् । यही स्थितिमा पूरा ज्याला दिन सकिँदैन ।

उनका अनुसार श्रमिकले बगानको नियमअनुसार काम नगरेकाले पूरा ज्याला दिन नसकिएको हो । श्रमिकले पूरा काम गरेमा भने पूरा ज्याला दिन सकिने संघाईको भनाइ छ । उनले भने– आधा काम गरेर पूरा ज्याला माग्न पाइन्छ ?

यता चिया श्रमिक तथा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका जिल्ला अध्यक्ष रमेश खड्काले भने श्रमिकले पूरा काम गर्नका लागि बगानको व्यवस्थापन दरिलो हुनुपर्ने बताएका छन् । उनले भने– श्रमिकले नियमानुसार नै काम गर्छन् । तर, संघाई ग्रुपको व्यवस्थापन राम्रो हुनुपर्छ ।

अन्य चिया बगानमा सहमति जुटेपछि यी बगानमा पनि सहमति हुने आशा पलाएको अध्यक्ष खड्काले बताए । सरकारले समेत समन्वय गरिदिएकाले तत्काल सबै बगानमा ज्याला कार्यान्वयन नभए पनि विस्तारै समस्या सुल्झिने खड्काले बताए ।

मजदुरहरु नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गएको चैत १७देखि आन्दोलनमा उत्रिएका थिए ।

श्रमिकले नयाँ ऐनमा सुरक्षा योजनाअनुसार सात प्रतिशतको कोष निर्माण गर्नुपर्ने, श्रमिकलाई औषधि उपचार बापत रु. २० हजार दिने, प्रसूति बिदा नयाँ ऐन अनुसार ४५ दिनबाट बढाएर ७० दिन बनाउने र लगातार काम गरेको १५ वर्षपछि पेन्सनको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने चिया श्रमिकको माग छ ।

सरकारले श्रम ऐन अनुसार गत साउन १देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला रु. ३८५ तोके पनि श्रमिकले रु. २६५ देखि रु. ३००सम्म मात्र पाउँदै थिए । उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु. ४२ थपेर रु. ४ सय २७ ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम् मासिक ज्याला छ हजार ४ सय ६९ र मंहगी भत्ता चार हजार तीन सय ८१ तोकिएको छ तर यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन मजदुरले माग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here