जापानी दम्पत्तीले बनाइदिए विद्यालयलाई करोडको भवन

0
554

बिर्तामोड।

जापानका एक दम्पत्तीले झापाको बिर्तामोड नगरपालिका–६ वुट्टावारीमा रहेको सरस्वती माविलाई आठ कोठे विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।

एक करोड रुपैयाँको लागतमा तोशिरो र हात्च्यूए हिरोता दम्पत्तीले दुई तले विद्यालय भवन निर्माण गरिदिएका हुन् ।‘हिरोता ड्रिम भवन’ नाम दिएर निर्माण गरिएको विद्यालय भवनको बुधवार आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन हिरोता दम्पत्तीले नै रिवन काटेर गरेका थिए । उनीहरुले भवन उद्घाटनसंगै विद्यालय नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । भूकम्प प्रतिरोधात्मक विद्यालय भवन हस्तान्तरणसंगै हिरोता दम्पत्तीले बिद्यार्थी बस्नका लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचर समेत उपलब्ध गराएका छन् ।

भवन उद्घाटन समारोहमा बोल्दै जापान टिम अफ ह्युमनका सदस्य समेत रहेका तोशिरो हिरोताले जापानमा आफू लामो समयसम्म शिक्षा अधिकारी रहेर शैक्षिक क्षेत्रमा काम गरेकाले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि आर्थिक सहयोग गरेको बताए । शिक्षाको माध्यमबाट नेपाल र जापानका नागरिकबीचको सम्वन्ध अझ सुमधुर बन्न सकोस्, नेपालका हरेक नागरिक शिक्षित बन्न सकून् भन्दै आफूहरुले विद्यालय निर्माणका लागि आर्थिक सहयोग गरेको बताए ।

झापाको भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा जापान टिम अफ ह्युमनमार्फत हिरोता दम्पत्तीले विद्यालयको भवन निर्माण गरेको प्रतिष्ठानका सदस्य डा. राजीव खनालले जानकारी दिए । प्रतिष्ठानकै समन्वय र जापान टिम अफ ह्युमनमार्फत यस अघि झापाका १३ विद्यालयको भवन निर्माण गरिएको छ भने विभिन्न विद्यालयलाई खानेपानी ट्याङ्की र शौचालय समेत निर्माण गरिएको डा. खनालले बताए ।

डा. खनालका अनुसार राष्ट्रिय विजय मावि सुनमाईका लागि दुई कोठे भवन, भानु माविमा ८ कोठे भवन निर्माण गरिएको छ । त्यस्तै सिंहदेवी निमावि टेक्रामा ४ कोठे, लक्ष्मी मावि अर्जुनधाराका लागि ८ कोठे, सरस्वती निमावि पाराखोपी ३ कोठे, पशुपतिनाथ निमावि घोडामाराका लागि ४ कोठे, लक्ष्मीप्रसाद देवकोटा मावि पथरियाका लागि ५ कोठे, श्रीनिमावि अर्जुधाराका लागि ३ कोठे, महारानीगञ्ज मावि सालवारीमा ४ कोठे भवन निर्माण भएको छ ।

यसैगरी ज्यामिरगढी माविका लागि ३ कोठे, गौरीशंकर मावि डाँगीवारीका लागि ४ कोठे, गणेशमावि शान्तिनगरमा ५ कोठे विद्यालय निर्माण भएको छ ।

यता गणेश मावि शान्तिनगरमा विद्यालयलाई खानेपानी ट्याङ्की र गौरीशंकर माविमा १० लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको प्रतिष्ठानका सदस्य भरत पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०१९का लागि समेत झापाका दुई विद्यालयलाई विद्यालय भवन निर्माणमा सहयोग गर्ने बताउँदै उनले नवदुर्गा निमावि रातेखाल र लक्ष्मीनारायण प्रावि बिर्तामोडको सम्भाव्यता अध्ययन भइरहेको बताए ।

सरस्वती मावि वुट्टावारीको भवन उद्घाटन कार्यक्रमकमा जापान टिम अफ ह्युमनका प्रतिनिधि, प्रतिष्ठानका अध्यक्ष नवकुमारी खनाल, कोषाध्यक्ष तारा खनाल, सदस्य सन्तोष पोखरेल र प्रतिमा रिजाल खनालको सहभागिता रहेको थियो । सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वाको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक दीपक लुइँटेलले विद्यालयको शैक्षिक र भौतिक गतिविधिका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष खनाल, बिर्तामोड नगर शिक्षा अधिकृत युवराज पाण्डे, समाजसेवी रामकुमार कन्दङ्वा, लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नारायण चम्लागाँईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here