प्रसूति गराउँदा ५ हजार पुरस्कार

0
418

दमक।

झापाको दमकमा रहेको जिल्ला अस्पतालको रुपमा स्वीकृत सरकारी दमक अस्पतालले बुधबारबाट अस्पतालमा प्रसूति सेवा उद्घाटन गरेपछि पहिलोपटक प्रसूति सेवा लिने महिलालाइ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले ५ हजार रुपैयाँ प्रदान गरेकी छन् । अधिकारी अस्पताल बिकास समितिकी अध्यक्ष पनि हुन् ।

कमल गाउँपालिकाकी निर्मला घिमिरे दमक अस्पतालमा पहिलोपटक प्रसूति गराउने महिला बनेकी छन् । उनी सोमबार नर्मल रुपमा यहाँ सुत्केरी भएकी थिइन् । अधिकारीले यो सेवा शुरुवात गर्ने समयमा नै पहिलोपटक यहाँ सेवा लिने महिलालाई ५ हजार पुरस्कार दिने घोषणा गरेकी थिइन् ।

नगरपालिकाले नगरबासीका महिलाहरुका लागि एम्बुलेन्स सेवा समेत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । अधिकारीका अनुसार ल्याउन र लैजान अब नगरपालिकाले एम्बुलेन्सको ब्यवस्था गर्ने छ । डा. सुरक्षा बास्कोटाले प्रसूति बिभागमा सेवा दिँदै आएकी छन् ।

सुत्केरी ब्यथा लागेपछि फोन गर्नुभयो भने हामी बिरामी भएको ठाँउमा नै एम्बुलेन्स पठाउँछौ र प्रसूतिपछि पनि घर पुर्याउँछौ– अधिकारीले भनिन् । नेपाल सरकारबाट प्रसूति गराएपछि पाउने एम्बुलेन्स खर्च १ हजार पनि महिलाले पाउनेछन् ।

नगरपालिका बोर्ड बैठकबाट यो निर्णय भएर कार्यान्वयन शुरु भएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार यो सुविधा नगरबासीहरुका लागि मात्र लागू हुनेछ ।

स्वास्थ्य चौकी रहेको अवस्थामा २०७२ सालमा अस्पतालमा स्तरोन्नति भएको सो अस्पतालले ३ बर्षपछि प्रसूति सेवा शुरु गरेको हो । नगर उपप्रुमख अधिकारीले सामान्य शल्यक्रिया समेत नहुने अवस्था रहेको भन्दै एकदेखि दुई महिनाभित्रमा शल्यक्रिया हुने अवस्था सिर्जना गराउन लागीपरेको बताइन् ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत यस क्षेत्रको एक मात्र प्रथम बिन्दु अस्पताल यो भएकाले दैनिक २ सयभन्दा बढी बिरामीहरुले ओपीडी सेवा पाइरहेको पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here