बत्ती बलेपछि सहकालेबासी खुशी

0
565

शिरशिर बतास, डाँडामा टन्टलापुर घाम । नजिकै सुनसान बगिरहेको खानी भञ्जाङ नदी । साँझपख धिप–धिप बल्ने कुपी बत्ती । समसाँझैं सुनसान बन्ने गाउँ ।

चकमन्न, एकान्त र अनकन्टार छ । न त आमा दिदि–बहिनीले उज्यालोमा घरधन्दा गर्न पाउँछन्, न त बालबालिकाहरुले उज्यालोमा पढ्न नै पाउँछन् । दैनिक कामकाज गर्न सधैं अप्ठयारो हुन्छ । यसरी नै कैयौं पुस्ताले आफ्ना जीवनका अध्यारा पलहरु अध्यारो कोठामा बिताएका छन् झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ स्थित सहकालेमा ।


अर्जुनधारा–२ को खुदुनाबारी–बेलटार–लाप्चेटार र इलामको रोङ गाउँपालिका–२ अन्तर्गत रहेको मंगलटार–धनसार हुँदै पुलविहीन टाङटीङ नदी पार गरेपछि पुगिने सहकालेमा राई, लिम्बू, तामाङ, गुरुङ, बाहुन, क्षेत्री लगायतका जातजातिका दुई सयभन्दा बढी समुदायको बसोबास रहेको छ ।

उत्तरमा इलामको शिरिसे बतबासे, पूर्वमा फिक्कल, पश्चिममा माईनगरपालिका र दक्षिणमा रोङ र अर्जुनधारा नगरपालिका पर्दछ । नौलो मान्छे पुगेपछि हत्तपत्त नखुल्ने सहकालेका बासिन्दाहरुको आफ्ना जीवनका अध्यारा अध्यायहरु सकिएको छ । सो क्षेत्रका १७ घरधुरीमा बिजुली बत्ती बल्न थालेसँगै उनीहरुका अध्यारा अध्यायहरु उज्यालोतर्फ लम्किएको हो ।

झापाको अर्जुनधारा नगरपालिका–२, सहकालेका स्थानीय ५५ वर्षीय धनबहादुर बस्नेतले निर्वाचनमा खसाएको मत खेर नगएको बताए । ‘गाउँमा बिजुली बत्ती आउँछ भनेर सपनामा देखेको थिइन’ –उनले भने– ‘स्थानीय सरकारको, गर्ने आँट भएपछि जे पनि गर्न सम्भव हुँदोरहेछ । साविक खुदुनाबारी गाविस हुँदा रकम विनियोजन भएर कुनै विकास निर्माणको काम भएको मलाई थाहा छैन । तर, अहिले यहाँ पहिलो पटक बिजुलीबत्ती बलेको छ ।’

सहकाले बस्तीमा बिजुलीबत्ती बाल्न पाउँदा त्यहाँका स्थानीयबासी हर्षित छन् । बल्लतल्ल दुःखले निर्माण भएको सामान्य ट्रयाक हिँडडुल गर्न पाए पनि वर्षायाम शुरु भएपछि त्यो पनि ठप्प नै हुन्छ । खुदुनाबारी र इलामको सीमाक्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय बासिन्दा आफ्नै गाउँघरमा बिजुलीबत्ती बल्न थालेपछि औधी खुसी भएको ७० वर्षीय छविलाल मगरले बताए । उमेरछँदै गाउँमै बिजुली बत्ती बाल्ने कल्पनासम्म नगरेका उनले स्थानीय सरकार आफूहरुका लागि बरदान सावित भएको बताए ।

आफू निर्वाचित भएपछि भूगोल नहेरी बाटो निर्माणका लागि नगरपालिकाको तर्फबाट योजना पठाएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले बताए । त्यस क्षेत्रको विकासको लागि पटक–पटक स्थानीय जनताको आवश्यकता र मागको विषयमा संवाद गरेर योजना अगाडि सारेको उनले बताए । आगामी वर्षको योजनामा नगरपालिकाले प्राथमिकतामा बाटो व्यवस्थापन राखेको बताउँदै उनले निर्माण र विकासले नभेटेको क्षेत्रहरुलाई समुन्नत समुचित र समयाअनुकूल विकास निर्माण गर्दै अगाडि बढाउने बताए ।

सानु बस्ती भए पनि नगरपालिकाले लगानी गरेर नागरिक बस्न योग्य ठाउँ बनाउने अठोट गरेकोप्रति प्रदेश सांसद बृख प्रधानले प्रशंसा गरे । जोडिएको विद्युत्को संरक्षण, सम्वद्र्धन र दिर्घकालीन रुपले अघि बढाउन अब स्थानीय बासिन्दाको दायित्व बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए । विद्युत् प्राधिकरण शनिश्चरे उपशाखाका कर्मचारी कमल रायले स्थानीय सरकारको लगानीमा ग्रामीण विद्युत्तीकरणलाई तीव्र पारिएको बताए । स्थानीय सरकारको पहलमा इलामको सिमलेबाट करिब पाँच किलोमिटर क्षेत्रबाट विद्युत्को पहँुच सहकालेमा पु¥याएको उनले जानकारी दिए ।

पर्यटकीय गन्तव्य बन्न सक्छ सहकाले

पर्यटकीय र सुन्दर ठाँउ हो, सहकाले । निकै गर्मी मौसममा समेत चिसो सिरेठो चल्ने विशेषता बोकेको छ सहकालेले । झापा जिल्लाको सबैभन्दा सम्भवत उच्च स्थान भनेर चिनिने अर्जुनधारा नगरपालिकामा रहेको सो क्षेत्र पर्यटकीय केन्द्रका रुपमा समेत विकास गर्नका लागि कार्यक्रम समावेश गर्ने नगर प्रमुख हरिकुमार रानाले बताए ।

उनले भने– ‘बिजुलीबत्ती त बल्यो, गाउँघर खोप क्लिनिक भवन निर्माणका लागि शिलान्यास भइसकेको छ, बाल शिक्षाको कार्यक्रम आगामी वर्षबाट सञ्चालन गरी यहाँको जनजीवन फेर्ने लक्ष्य राखिएको छ ।’

यसरी गरियो उद्घाटन

प्रदेश सांसद बृख प्रधान, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले संयुक्तरुपमा स्वीच अन गरेर बिजुलीबत्तीको उद्घाटन गरे ।

उनीहरुले बत्ती बाल्दा स्थानीयबासीहरु दंग देखिन्थे । उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख हरिकुमार रानाले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता मध्येको एक प्रतिबद्धता पूरा गरेको बताए । अर्जुनधारा नगरपालिकाको ११ लाख र जनश्रमदानबाट दुई लाख ८१ हजार पाँच सय ३९ रुपैंया गरी १३ लाख ८१ हजार पाँच सय २९ रुपैयाँको लागतमा सहकालेमा बिजुलीबत्ती बलेको पोल र तार विस्तार समितिका अध्यक्ष कृष्ण दंगालले जानकारी दिए ।

नगरको योजनालाई प्रदेश सरकारले सहयोग गर्ने

अर्जुनधारा नगरपालिकाले सहर बजारसँग ग्रामीण क्षेत्रलाई जोड्नुपर्छ भन्ने मान्यता राखेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

दुर्गम बस्ती र भू–भागलाई समेटेर विकासको मूल फुटाउनुपर्ने उनले बताए । त्यस्तै प्रदेश सांसद बृख प्रधानले प्रदेश सरकारले पनि विकास निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । कृषिमा विषादिरहित उत्पादन आईपिएम पाठशाला र पशुमा बाख्रापालनको पकेट क्षेत्र बनाउने अवधारणा रहेको मेयर रानाले जानकारी दिए ।

सहकालेका लागि कार्यक्रम संचालन गर्न सिमित श्रोत दिने त्यसलाई भरपूर सदुउपयोग गर्नुपर्ने उनले सुझाव दिए । नगरका ५५ वटा टोलमध्ये एउटा नमूना टोल बन्नेमा आफूले विश्वास लिएको प्रमुख रानाको भनाई रहेको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडा नं. २ अध्यक्ष रघुनाथ खनाल, बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, रुपनारायण समाल, स्वास्थ्य संयोजक मुकुन्द्र बस्नेत लगायतले समेत सहकालेको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन अर्जुनधारा नगरपालिकाका बरिष्ठ योजना अधिकृत हिमराज सेढाईले गरेका थिए ।
प्रस्तुति : सागर गौतम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here