कनकाई मावि र विशेष शिक्षा

1
1475

वेदप्रसाद खतिवडा,

झापा जिल्लाको केन्द्र भागमा रहेको कनकाई नगरपालिका वडा नं. ३ मा अवस्थित कनकाई माध्यमिक विद्यालयमा वि.स. २०५३ सालबाट समाजमा अतिपिछडिएका अपाङ्ग बालबालिकाहरु मध्ये बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाहरुलाई अध्ययन–अध्यापन गराई सांगबालबालिका सरह शिक्षाको पहुँच पु¥याउने उद्देश्यले विशेष शिक्षाको कक्षा संचालन गर्ने व्यवस्था गरियो ।

शुरुको अवस्थामा अपाङ्गता भएका बालबालिकाका अभिभावकको मनमस्तिष्कमा अपाङ्गता भएका बालबालिकाले केही गर्न सक्दैनन् भन्ने थियो । त्यसमा कान नसुन्ने र बोल्न पनि नसक्ने बच्चाहरुले कसरी पढ्छन् भन्ने धारणाले गर्दा पटक–पटक तपाईहरुका नानीहरुलाई विद्यालय पढाउनुहोस्, उनीहरुलाई पठनपाठन गराउने व्यवस्था छ ल्याउनुहोस् हामी पढ्न, लेख्न सक्षम बनाउछौं भन्दा पनि अभिभावक विद्यालय पठाउन तयार भएनन् ।

विद्यालयको क्याचमेन्ट एरियाभित्र र त्यसका आसपासका क्षेत्रहरुमा बहिराबालबालिकाहरु के–कति रहेछन् ? अभिभावकको उनीहरुप्रतिको धारणा बुझ्नका लागि स्थलगत अवलोकन गर्ने कार्य गरियो । उक्त कार्य गर्न जाँदा त्यस्ता बालबालिकाहरुका अभिभावकहरुमा उनीहरुप्रतिको सकरात्मक सोच नभएको पाइयो । यतिसम्मका एक धनाड्य शिक्षिक परिवार भएको घरमा पुग्दा त्यस घरमा तीन जना छोरा एक जना छोरी गरी चार जना बच्चाहरु मध्ये दुई छोरा र एक छोरी बहिरा भएको पाइयो । हामी दुई जना शिक्षक त्यस घरमा पुग्दा अग्लो कम्पाउन्ड, फलामे गेट लगाई सधै गेटमा ताला लगाइदो रहेछ । हामीले पटक–पटक घर धनीलाई बोलायौं, उहाँले घरभित्रका झ्यालबाट हामीलाई हेर्दै गर्नुभयो र कुनै प्रतिक्रिया देखाउनुभएन ।


धेरै अनुनयविनय पश्चात गेट नजिकै आएर भन्नुभयो के काम थियो ? कहाँबाट आउनुभएको थियो ? त्यसपछि हामीले भन्यौं ? गेट खोल्नुहोस् न तपाईसँग केही कुरा गर्नुछ हामी कुनै फटाहा बद्मास होइनौं । नेपाल सरकारका सामुदायिक विद्यालयमा पढाउने स्थायी शिक्षक हौं भनेपछि उहाँ नबोलिकन आफ्नो घरतर्फ फर्कनुभयो र घरको पछाडि खेलिरहेका बहिरा नानीहरुलाई बोलाएर घरको एउटा कोठाभित्र हाली बाहिरबाट ताला लगाउनुभयो । अनि फेरि हामी भएको ठाउँमा आएर भन्नुभयो । ल आउनुहोस् भन्दै सानो बरन्डामा भएको खाटमा बस्न भन्नुभयो ।

त्यसपछि आफ्नो परिचय दिँदै हामीले उहाँको पारिवारिक अवस्थाका बारेमा विभिन्न जिज्ञासा राख्यौं, उहाँले गाह्रो मान्दै केही जवाफ दिनुभयो । आफ्नो बच्चाको बारेमा केही बोल्न चाहनुभएन, हामीले फेरि बच्चाहरुको विषयमा जिज्ञासा राख्यौं । उहाँले भन्नुभयो मेरो एउटामात्र छोरा छ अहिले कलेज गएको छ, भन्ने कुरा सुन्दा हामी आश्चर्यचकित भयौं । त्यसपछि अनेकौ कुरा गर्दै जाँदा अघि तपाई घर पछाडिबाट ल्याएर कोठामा थुनेका नानीहरु को हुन् ? हामी पनि हेर्न सक्छौं भनी प्रश्न गर्दा उनीहरु पल्लाघरका बच्चा हुन् र आज उनीहरुका अभिभावकहरु घरमा छैनन् । यहाँ हाम्रो घरमा छोडेर गएका छन् धेरै चकचक गर्दछन् त्यसैले कोठामा खेलेर बस् भनेर त्यसो गरेको हो भन्नुभयो । त्यसपछि के ती नानीहरु अपाङ्ग हुन् ? भनेर सोध्दा होइनन् भन्नुभयो ।

हामीले तपाईको घरमा बहिरा बच्चाहरु छन् भन्ने सुनेर कस्ता रहेछन् भनी अध्ययन गर्न आएका हौं, कृपया देखाउन सक्नुहुन्छ ? भन्दा गाह्रो मान्नुभयो र त्यसपछि उनीहरुका नामथर नै भनेर कस्का बच्चाहरु हुन् तपाईले चिन्नुभएको छ ? भनी सोध्दा कुनै जवाफ आएन । हामीले तपाई कै बच्चा हुन् ? तपाई गाह्रो नमान्नुहोस् भन्दा पनि कुनै प्रतिक्रिया जनाउनुभएन । त्यसपछि तपाईको घरमा तपाईका बच्चा बहिरा छन् भन्ने कुरा अरुले थाहा पाए भने इज्जत जान्छ, अरुले खिसी गर्छन् भन्ने लाग्छ ? भनी सोध्दा पनि उहाँले कुनै प्रतिक्रिया नजनाएपछि अब पत्रिकामा तपाई र तपाईको बच्चासहित छापीदिन्छौं त्यो बेला तपाई के गर्नुहुन्छ ? भनेपछि मात्र पत्रिकामा नछाप्ने र कसैलाई नभनिदिने सर्तमा उहाँले बच्चा देखाउँदै मेरै बच्चा हुन् भन्ने स्वीकार्नु भयो ।

बच्चाहरुको भविष्यका बारेमा अनेकौं कुराहरु गर्दै के सोच राख्नुभएको छ ? तपाईले उनीहरुको भविष्य उज्जल बनाउनुहोस् । तपाई सफल अभिभावक बन्नुपर्छ, आफ्नो घरपरिवार र समुदायमा तपाई नमुना बन्नुपर्छ भनी प्रोत्साहन ग¥यौं । पटक–पटक त्यस घरमा पुगेर भलाकुसारी गरी बच्चाहरुलाई विद्यालयमा ल्याउन इच्छुक बनायौं र शैक्षिक सत्र शुरु हुनासाथ विद्यालयमा प्रवेश गराइयो । त्यसैगरी पनि अन्य ठाउँमा पुगेर अभिभावकहरुसँग परामर्श तथा अन्तक्रिया गरी बल्ल दसजना विद्यार्थीहरु संकलन गरेर एउटा स्रोत कक्षाको स्थापना गरियो । विभिन्न सम्प्रदायबाट आएका बहिरा बालबालिकाहरुका आफ्नै किसिमका भाषाको कारणबाट एउटै चिजलाई भिन्नभिन्न किसिमले व्यक्त गर्ने गरेको पाइन्छ । भाषिक कठिनाईका कारण उनीहरु बीच झैं–झगडा हुने जस्ता समस्याहरु आए ।

कुनै पनि चिज व्यक्तिहरु देख्ने तर त्यो केहो ? भन्ने कुरा पहिचान गर्ने र व्यक्त गर्न कठिनाई हुने गरेको पाइयो । एकिकृत नेपाली सांकेतिक भाषाको माध्यमबाट पूर्ण सञ्चारविधि, प्रयोगात्मक विधि जस्ता शैक्षणिक विधिको माध्यमबाट नेपाली सांकेतिक भाषाको मूलधारमा ल्याई शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराई पठनपाठनका कार्यहरु अगाडि बढाइयो । बालबालिकाहरुलाई खेलविधिको प्रयोग गरेर अध्यापन गरी आवश्यक शैक्षिक सामग्रीहरुको प्रबन्ध मिलाई बालबालिकाहरुलाई सरिक गराउँदा अझ प्रभावकारी भएकोले बालबालिकाहरुले उत्साहका साथ सिक्ने अवसर मिलेको महशुस गरे ।

दृष्य सामग्रीहरुको प्रयोगबाट शिक्षण सिकाई क्रियाकलाप बालकेन्द्रित सिकाईका लागि यो अझ प्रभावकारी र उत्साहित शिक्षण सिकाईको एउटा अभिन्न अंग बन्यो । त्यसका लागि शैक्षिक सामग्री व्यस्थापन गर्ने कार्यका रुपमा बालबालिकाद्वारा स्थानीय शैक्षिक सामग्री संकलन, शिक्षक निर्मित सामग्रीको व्यवस्था गरी केही सामग्रीहरु बजारबाट पनि खरिद गरी त्यसको उचित संरक्षण र भण्डारन समेतको व्यवस्था मिलाइयो । यसलाई पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरु निरन्तर प्रयोगमा ल्याइएको छ । यति हुँदाहुदै पनि बहिरा तथा सुस्तश्रवण भएका बालबालिकाहरुका क्षेत्रमा काम गर्न भनी निकै समस्याहरु झेल्नुपरिरहेको छ ती हुन्ः

भाषिक कठिनाई
क) थोरै मात्र शब्दको सांकेतीकरण हुनु ।
ख) सांकेतिक भाषाको विकास तथा निर्माण कार्यमा दोभाषे शिक्षकहरुलाई संलग्न नगराइनु ।
ग) पर्याप्त मात्रामा सांकेतिक भाषाका पुस्तकहरु उपलब्ध हुन नसक्नु ।
घ) शिक्षकहरुलाई बेला–बेलामा पुनर्ताजगी तालिमको व्यवस्था नहुनु ।
ङ) तहगत र विषयगत शिक्षकको कमी हुनु ।

यहाँ उल्लेखित कठिनाइहरु चुनौतिपूर्ण रहेको हुँदा यसलाई उचित व्यवस्थापन गर्नका लागि स्थानीय तह र नेपाल सरकारले तदारुकताका साथ समस्याको समाधान गर्ने कार्य गरेमा शिक्षण सिकाइ अझ प्रभावकारी बनाउन मद्दत पुग्दथ्यो भनी सम्बन्धित निकायमा आफ्ना प्रस्तावहरु पु¥याउने कार्यमा आवश्यक कदम चालिएको छ । यो विद्यालय पूर्वाञ्चलकै एक सामुदायिक, नमूना विद्यालयकोे रुपमा रहेको हुँदा यहाँ अध्ययन गर्न झापा, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, उदयपुर, धनकुटा, मोरङ्ग, सुनसरी, सिराहा, सप्तरी लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु आउने भएकाले उनीहरुलाई बस्ने व्यवस्थाका लागि एउटा छात्राबासको व्यवस्थाका लागि नेपाल सरकारसँग जोडदार माग गरी सोको निर्माण गरी सम्पन्न भई हाल ६९ जना विद्यार्थीहरु मध्ये ४० जना छात्राबासमा बसी अध्ययन गरीरहेका छन् । बाँकी विद्यार्थीहरु विद्यालयको आसपासमा डेरा गरी बस्ने र केही विद्यार्थीहरु आफ्नै घरबाट आवातजावात गरिरहेका छन् । कक्षा १ देखि कक्षा १० सम्म मात्र यस विद्यालयमा पढाई हुने हुँदा उच्च शिक्षाका लागि पोखरा तथा काठमाडौं जानुपर्ने बाध्यता छ ।

त्यसो हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुले टाढा लगेर कोठाभाडा तिर्न, खान, बस्न लाग्ने खर्च र पाठ्यपुस्तक, कापी–कलम किन्ने व्यवस्था गर्न समेत गाह्रो भई बीचैमा पढाई छोड्न बाध्य भएका विद्यार्थीहरुका लागि यसै विद्यालयमा उच्च शिक्षाको पठनपाठन गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायमा पहल समेत गरिँदैछ ।
म २०५३ सालदेखि यस क्षेत्रमा प्रवेश गरी यसै कनकाई माध्यमिक विद्यालयमा बहिरा शिक्षाको शुरुवातदेखि निकै संवेदनशील भई कार्य गरिरहेको शिक्षक भएको हुँदा उनीहरुको उज्जव भविष्य निर्माणको कार्यमा एक सहयात्री भई मन, वचन र कर्मले सक्दो सहयोग गरिरहेको छु । आगामी दिनहरुमा यसलाई सबल बनाउनका लागि सबैको साथ सहयोग अपेक्षा गर्दै निरन्तर विकास गर्नका लागि निम्न लक्ष्यहरु राखेको कुरा समेत यहाँ प्रस्तुत गर्न चाहन्छु ।

लक्ष्यहरु ः
१. प्रदेश नंं. १ कै उत्कृष्ट बहिरा मावि निर्माण गर्ने ।
२. बहिरा बालबालिकाहरुलाई साङ्गसरह समाजमा प्रतिस्थापन गराई उनीहरुका हक–अधिकारको संरक्षण गर्ने ।
३. देशकै एक विशेष शिक्षातर्फको नमूना विद्यालयको रुपमा यस विद्यालयलाई स्थापित गर्ने ।
४. व्यवसायिक सीपमा संलग्न हुने र जिविकोपार्जन गर्ने सीप प्रदान गर्ने ।
५. बहिरा बालबालिकाहरुको मनोबल उच्च राख्ने वातावरणको सृजना गर्ने ।
६. विद्यालय तथा समुदायका हरेक क्रियाकलापमा उनीहरुलाई सरिक गराउने ।
७. देशको भौगोलिक परिस्थतिको प्रत्यक्ष अवलोकन र अनुभव गर्नका लागि हरेक वर्ष शैक्षिक भ्रमणको व्यवस्था मिलाउन आगामी शैक्षिक सत्रबाट आवश्यक पहल गर्ने ।
८. उच्च शिक्षाका कक्षाहरु सञ्चालन गर्नका लागि आवश्यक पहलकदमी गर्ने ।
(खतिवडा कनकाई मावि सुरुङ्गाका विशेष शिक्षाका स्रोत शिक्षक हुन् । )

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here