झापामा ३८ मानिस र १० हात्तीले ज्यान गुमाए

0
594

झापा ।

डिभिजनल वन कार्यालय झापामा जंगली हात्तीका कारण बालीनाली सखाप पारेको भन्दै गुनासो गर्ने र क्षतिपूर्तिका लागि राहत फारम भर्नेको संख्या अझै घटेको छैन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनाएर चुनाव जितेका जनप्रतिनिधिले काम नगरेको स्थानीयले आरोप लगाएका छन् । हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्षति पु¥याइरहेको आधारमा अध्ययन गर्दा झापाका पाँचवटा संघीय र १० वटा प्रादेशिक निर्वाचन क्षेत्रमध्ये तीनवटा संघीय र सातवटा प्रादेशिक इकाइ हात्ती समस्याको चपेटामा परेको देखिएको थियो । हात्ती समस्याबाट झापा क्षेत्र नं. १, २ र ३ पूर्णरुपमा प्रभावित छन् ।

कुनै समय झापा क्षेत्र नं. १को बाहुनडाँगी क्षेत्र हात्ती प्रभावित क्षेत्रका रुपमा रहेको थियो भने हाल क्षेत्र २ र ३का दक्षिणी क्षेत्रका बासिन्दा हात्तीको त्रासका कारण रातभर जाग्रम बस्ने गरेको स्थानीयले बताएका छन् । मानव हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६७÷०६८देखि चालूआर्थिक वर्ष ०७५÷०७६को हालसम्ममा ३८ जना झापालीले हात्तीका कारण ज्यान गुमाइसकेका छन् भने १० वटा हात्ती पनि मान्छेका कारण मरेको डिभिजनल वन कार्यालय झापाका अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७०÷०७१सम्म ज्यान गुमाउनेमा उत्तरी झापाको बाहुनडाँगीका नागरिक नै धेरै पर्थे भने आर्थिक वर्ष २०७४÷०७५ यता दक्षिणी क्षेत्र हात्ती आतंकको केन्द्रका रूपमा बढ्दै गइरहेको छ । यसको प्रमुख कारण बाहुनडाँगीमा निर्माण भएको विद्युतीय तारबार नै भएको स्थानीयको बुझाइ छ । मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइ दिने, प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना बढ्दै गइरहेको अधिकृत घिमिरेले बताए ।

हात्तीका कारण हालसम्म मृत्यु भएका ३८मध्ये ३६ जनालाई राहत वितरण गरिएको डिभिजनल वन कार्यालय झापाले जनाएको छ । ३६ जनालाई एक करोड ३३ लाख ५० हजार रुपैयाँ राहत बितरण गरिसकेको र दुई जनालाई राहत बितरणको प्रक्रिया शुरु गरिएको वन कार्यालयले जनाएको छ । हात्तीको आक्रमणको कारण शख्त घाइते भएका ३६ जनालाई २१ लाख ८९ हजार एक सय ५४ रुपैयाँ राहत वितरण गरिएको छ भने सामान्य घाइते १२ जनालाई ८३ हजार तीन सय २० रुपैयाँ राहत वितरण गरिएको बताइएको छ । हात्तीको आक्रमणका कारण एक सय ६० घरगोठ क्षति भएका पीडितलाई १५ लाख तीन हजार दुई सय रुपैयाँ राहत वितरण गरिएको छ भने एक हजार दुई सय ४२ जना अन्नवालीमा क्षति पु¥याए वापत एक करोड २९ हजार सात सय ७५ रुपैयाँ वितरण गरिएको जनाइएको छ ।

डिभिजनल वन कार्यालय झापाले हात्तीका कारण क्षति पु¥याएकाहरुलाई हालसम्म तीन करोड ५४ लाख ८९ हजार दुई सय ४५ रुपैयाँ राहत वितरण गरिसकेको अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार राहत लिन आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । जंगली हात्तीको संख्या बढ्दै जानु र आहारा घट्नुका कारण पनि हात्तीहरु गाउँ पस्न थालेको अधिकृत घिमिरेले बताए ।

यसैबीच जंगली हात्तीले मकैवाली नष्ट गरेको भन्दै हल्दिवारी–३का हात्तीपीडित स्थानीयले राहतको माग गर्दै डिभिजनल वन कार्यालय झापामा शुक्रवार ज्ञापनपत्र बुझाएका छन् । रणकाली सामुदायिक वनमा हाल १० वटा जंगली हात्ती रहेको र हात्तीले दिनहुँ दुःख दिने गरेको स्थानीय दीपक वनले जानकारी दिए । हात्तीका कारण रातभर जाग्राम बस्नुपरेको स्थानीय योगेन्द्र लिम्बूले बताए । उनले भने– जंगली हात्ती कति बेला गाउँ पसेर विगार गर्ने हो भनेर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।

जंगली हात्तीबाट बर्षौदेखि पीडित भए पनि जननिर्वाचित प्रतिनिधिले दिगो समाधानका लागि ठोस् कदम नचालेको भन्दै स्थानीयले गुनासो गरेका छन् । हात्तीका कारण हिँड्डुल गर्न समस्या भएको स्थानीय गीता न्यौपानेले बताइन् । सामुदायिक वनमा हात्तीलाई आहाराका लागि बाँस लगायतका खाद्यवस्तु लगाए पनि गाउँ पसेर त्रसित हुनु परेको अर्का स्थानीय यामनाथ आचार्यको भनाइ छ । हात्तीका कारण बालबालिका र बृद्धबृद्धा भाग्न नसक्ने सोही ठाउँका भूमिराज गिरीले बताए । उनीहरुले वन कार्यालय र सरकारले ठोस् कदम चालेर हात्ती समस्याको दिगो समाधान गर्न माग समेत गरेका छन् । उनीहरुले हात्ती पीडितले स्थानीय तहबाट नै क्षतिपूर्ति पाउनुपर्ने माग समेत राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here