बिर्तामोडका कृषकलाई एक करोड ८२ लाख बाँडिदै

0
498

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले कृषि क्षेत्रका लागि एक करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गर्दै कृषकको जीवनस्तर उकास्न विशेष पहल शुरु गरेको छ ।

नगर क्षेत्रका सबै कृषकलाई कृषि पेशामा आत्मनिर्भर गराइ अग्र्यानिक बाली उत्पादनका लागि प्रोत्साहन गर्न नगरपालिकाले विशेष पहल गर्दै कृषि क्षेत्रका लागि सो रकम विनियोजन गरेको थियो । आर्थिक बर्ष २०७५÷०७६का लागि उक्त बजेट बिनियोजन गर्दै कृषकलाई यान्त्रिकीकरण र व्यवसायिकीकरणतर्फ उन्मुख गर्न नगरले रकम विनियोजन गरेको हो ।

जसअन्तर्गत नगरका कृषकलाई विभिन्न प्रकारका कृषि औजार उपकरण वितरण गरिरहेको छ । शनिवार श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले नगर क्षेत्रमा रहेका कृषकका लागि यान्त्रिक उपकरण वितरण गरे । मन्त्री विष्टले उपकरण बितरण गर्दै नगर क्षेत्रमा रहेका कृषकका लागि बिर्तामोड नगरपालिकाले विशेष पहलकदमी गरेको भन्दै अग्र्यानिक उत्पादनमा जोड दिएको र विदेशबाट आयात हुने कृषिजन्य वस्तु रोक्न नगरले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

बिर्तामोड नगरपालिका कृषि विकास शाखाले कृषिमा यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषक समूहलाई २० लाख २० हजार रुपैयाँ बराबरको कृषि औजारहरु हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच कृषकहरुलाई खेत जोत्ने मिनी टिलर, मकै छोडाउने मेसिन र घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो । मन्त्री बिष्टले बाह्रघरे महिला कृषक समूहकी युवामाया प्याकुरेललाई मकै छोडाउने मेसिन हस्तान्तरण गर्दै औजार हस्तान्तरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उनले बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका कृषक समूहलाई नगरपालिकाले ८ वटा मिनी टिलर, २० वटा मकै छोडाउने मेसिन र ४० वटा घाँस काट्ने मेसिन हस्तान्तरण गरेको उपमेयर एवम् कृषि समितिकी अध्यक्ष पवित्रा महतारा प्रसाईंले बताइन् । मिनी टिलरले बाँझो जग्गा जोत्ने, हिल्याउने, ड्याङ उठाउने, गोड्ने र उकेरा दिने काम गर्छ । तरकारी खेती गर्ने किसानका लागि मिनी टिलर लाभदायक हुने बिर्तामोड नगरपालिकाका कृषि विकास शाखा अधिकृत राजेन्द्र कडरियाले बताए । उनका अनुसार १२ लाख २० हजार रुपैयाँमा मिनी टिलर खरिद गरिएको हो । जसमा किसानको १५ प्रतिशत लगानी छ ।

२० वटा मकै छोडाउने मेसिन ३ लाख रुपैयाँमा खरिद गरिएको कृषि शाखा अधिकृत कडरियाले बताए । यसमा पनि किसानको १५ प्रतिशत लगानी छ । ‘एउटा मेसिनले एउटा गाउँकै मकै छोडाउन सकिन्छ’– कडरियाले भने– ‘गतवर्ष पनि २० वटा मकै छोडाउने मेसिन दिएका थियौँ, अब एकपटक दिने हो भने नगरलाई नै मकै छोडाउने मेसिन पुग्छ ।’

नगरपालिकाको पशु सेवा शाखा अन्तर्गत ४० वटा घाँस काट्ने मेसिन किसानलाई वितरण गरिएको हो । ४ लाख ४० हजार रुपैयाँमा मेसिन खरिद गरिएको नगरपालिकाले जनाएको छ । मेसिनमा जडान गर्नुपर्ने मोटरमा किसानको आफ्नै लगानी रहने छ ।

नगरपालिकाभित्रका कृषक समूहलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले यी उपकरण हस्तान्तरण गरिएको नगरपालिका कार्यालयले जनाएको छ । ‘यी यन्त्रहरु व्यक्तिगत होइन, सामुहिक रुपमा सञ्चालन गर्नका लागि समूहलाई हस्तान्तरण गरिएको हो’– कृषि अधिकृत कडरियाले भने– ‘काम गर्दै जाँदा मेसिन बिग्रियो भने बजारमा पार्टपूर्जा पनि सजिलै पाइन्छ ।’

नगरपालिकाले यसवर्ष कृषिका लागि एक करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । सरकारले कृषिमा लगानी बढाइरहे पनि कृषिजन्य उत्पादनको आयात नघटेकोमा मन्त्री विष्टले चिन्ता व्यक्त गरेका थिए ।

‘स्थानीय तहले यन्त्र वितरण गरेर कृषिमा यान्त्रिकीकरण गर्न सहयोग गरिरहेको छ’– उनले भने– ‘नेपाल किसानै किसानको देश हो तर, बाहिरबाट आएको कृषिजन्य उत्पादनले धान्नु परिरहेको छ ।’ वार्षिक डेढ खर्बभन्दा बढीको कृषिजन्य उत्पादन बाहिरबाट भित्रिइरहेको उनले बताए ।

मन्त्री विष्टले अन्नको भण्डारको रुपमा रहेको नेपालमा जमिनको खण्डीकरणका कारण उत्पादन घटेको बताउँदै यहाँको किसानले व्यवसायमुखी कृषि उत्पादनमा जोड दिँदै अन्न उत्पादन गरेको खण्डमा राज्यले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको धारणा राखे ।

पछिल्लो समय बिर्तामोड नगरपालिकाले कृषकका लागि मकै छोडाउने मेसिनदेखि धान रोप्न प्रयोग गर्ने मेसिनसम्म कृषकलाई वितरण गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीकरणका लागि गरेको सहयोगप्रति बिर्तामोडका किसानले खुशी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here