किसानलाई बजारको समस्या

0
751

कृषि प्रधान देशको पहिचान जोगाउँदै खाद्यान्नमा आत्मनिर्भर बनिन सरकारले कृषि आधुनिकीकरण परियोजना लागू गरेको छ । त्यसै अनुसार झापाको बनियानी क्षेत्रलाई धान सुपरजोन घोषणा गरी कार्यान्वयन गरिँदैछ ।

सुपरजोनको अवधारणा अनुसार सरकारले किसानहरुलाई सेवा, सुविधा र सहुलियत प्रदान गरेको छ । सोसँगै प्रविधिको समेत पहुँच विस्तार भएपछि कृषकहरु कृषि कार्यलाई व्यावसायमुखी बनाउन उत्साहित समेत भए । तर, उनीहरुको उत्साह यो वर्ष निराशामा परिणत हुन थालेको छ । प्रकृतिको प्रतिकूलताका कारण नोक्सानी व्यहोर्न बाध्य किसानहरुले जसोतसो जम्मा गरेको धानले उचित मूल्य नपाएकाले निराश कृषक बजारको अभावले झन् ठूलो पीडा सहन बाध्य भएका छन् ।

सरकार योजना ल्याउँछ तर कार्यान्वयन र परिणामका बारेमा कहिल्यै जवाफदेही हुन सकेको छैन । अन्न, फलफूल तथा सागसब्जी उत्पादनका लागि विशेष क्षेत्र छुट्याएर सरकारले किसानलाई आकर्षित गर्ने प्रयास त ग¥यो तर त्यसका लागि पूर्वाधार तयार गर्ने कुरामा भने कहिल्यै उदार देखिएन ।

अर्थात् उत्पादकत्व बढेको अवस्थामा उत्पादित कृषि उपजको बिक्री वितरणको सुनिश्चितताको प्रत्याभूति सरकारले गरेन । उत्पादित कृषि वस्तु खरिद गर्ने व्यापारीहरु आफैले मूल्य निर्धारण गर्दा लागत मूल्य नपाएर किसान निरुत्साहित हुनु स्वभाविक नै हो । यस्तो निराशाले कृषिमा आत्मनिर्भरताको नारा नारामै सीमित रहने निश्चित छ । एकातिर यो वर्ष चैते हावाहुरी र असिनाका कारण पाकेको धान नष्ट भएको छ भने अर्कातिर मूल्य र बजारको अभावमा किसान नोक्सानी व्यहोर्न बाध्य छन् ।

देशका लाखौं युवा जनशक्ति रोजगारीका लागि विदेशिएका छन् । कति अध्ययन, अवसर र युवाशक्तिविहीन भइरहेको छ । जन्ती–मलामी जाने युवाको अभाव भइरहेका बेला सरकारले स्वरोजगार र आत्मनिर्भरताका नाममा ल्याएका योजनाहरुको कार्यान्वयन र सफलतका लागि भरपर्दो नीति अख्तियार नगर्दा राज्यको लगानी बालुवामा हालेको पानी सरह भइरहेको छ । समृद्धिको मूल आधार प्रतिव्यक्ति आय हो, यसलाई उकास्न हाम्रो देशको परिवेशमा कृषि क्षेत्रमा क्रान्ति आवश्यक छ । त्यो क्रान्ति उत्पादन बढाएर मात्र पुग्दैन यथोचित वितरणका लागि बजारको समेत प्रबन्ध हुनुपर्दछ ।

यही समय अग्र्यानिक उत्पादनमा जोड दिँदै आएको बिर्तामोड नगरपालिकाले कृषक लक्षित कार्यक्रम अघि सारेको छ । यस अनुसार कृषिमा आधुनिकीकरणसँगै प्रविधि सहयोग गर्न नगरपालिकाले झण्डै दुई करोड रुपैयाँ विनियोजन गरेको छ । किसानलाई व्यावसायीमुखी बनाउने उद्देश्यका साथ नगरपालिकाले खेत जोत्ने मिनी टिलर, घाँस काट्ने र मकै छोडाउने मेसिन जनतासँगको साझेदारीमा वितरण गर्न थालेको छ ।

बिर्तामोड शहरी सभ्यताले जित्नै लगेको नगरपालिका भएर पनि शरह बाहिरका बासिन्दा कृषि पेशामै आश्रित छन् । यस्तोमा शहरमुखी प्रवृत्तिलाई आ–आफ्नो ठाउँमै रोक्न समेत सेवासुविधा उपयोगी हुने निश्चित छ । त्यसैले नगरपालिकाको लगानी खेर नजाओस् गाउँमै रोजगारी सृजना होस् उत्पादकत्व बढोस् र उत्पादित कृषि वस्तुले उचित मूल्य प्राप्त गरोस् त्यसतर्फ पनि नगरपालिकाको ध्यान जानु पर्दछ । अन्यथा यस्तो सहयोग ‘परेवालाई चारो’ सरह हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here