चियाको ‘ट्रेडमार्क’ कार्यान्वयन प्रक्रिया सुरु

0
552

इलाम ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आधिकारिक बिक्रीका लागि लोगो ‘टे«डमार्क’ को कार्यान्वयन प्रक्रिया सुरु भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले लोगो कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो ।

बोर्डले ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ मा उल्लेख भएअनुसारका समिति निर्माण गरेर लोगो कार्यान्वयनका लागि काम अगाडि बढाएको प्रवक्ता खनालले जानकारी दिनुभयो । खनालका अनुसार लोगो कार्यान्वयन गराउनु उच्च प्राविधिक विषय भएकाले बोर्डले ‘नेपसट’ संस्थालाई परामर्शदाताका रूपमा जिम्मा दिएको छ ।

यो संस्थाले केही दिनमै साना किसान र सहकारीहरूसम्म पुगेर आफूले उत्पादन गरेको चियाको स्तर, गुणस्तर कायम गर्न सचेतनाको कार्यक्रम गर्छ, लोगो प्रयोग गराउन सूचना जारी गर्छ, प्रवक्ता खनालले भन्नुभयो– “अबको एक वर्षमा नेपालभित्र लोगो पूर्ण कार्यान्वयनमा आउँछ तर विदेशमा भने त्यहाँको नियम, कानुनअनुसार नेपाली चियाको लोगो दर्ता गराउन दुई–तीन वर्ष लाग्ने रहेछ । बोर्डले यसअघि अमेरिका, युरोपियन युनियन र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि निवेदन दिइसकेको छ ।

नेपाली चियाका लागि हिमालको आकृति अगाडि ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ लेखिएको लोगो तयार गरिएको छ । तर लोगो र कार्यविधि सार्वजनिक गरिएपछि पूर्वका धेरै चिया किसान र सहकारी संस्थाहरूले त्यसप्रति असन्तुष्टि भने जनाएका थिए ।

उनीहरूले होड्पा नामको संस्थाले प्रयोग गरेको लोगो नेपालकै लोगो हुन नसक्ने मत राख्दै आएका थिए तर बोर्डले यो लोगो आफ्नै स्वामित्वमा रहने गरी कार्यान्वयनका चरणमा प्रवेश गरेकाले किसानलाई ढुक्क हुन र कार्यान्वयनको प्रक्रियामा सहभागी हुन प्रवक्ता खनालले आग्रह गर्नुभएको छ । बोर्डले लोगो कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा करिब २० लाख रूपियाँ खर्चने खनालले जानकारी दिनुभयो ।

ठूला घरानाका व्यापारीले त आ–आफ्नो लोगो लगाएरै विदेशमा चिया बिक्री गरिरहेका छन्, प्रवक्ता खनालले भन्नुभयो– “तयार भएको यो लोगो साना किसान र किसानले चलाएका सहकारीकै लागि हो, यसमा शङ्का नगर्दा हुन्छ, बरु राज्यस्तरबाट भएको लोगोको अभियानमा साथ दिन र प्रयोगका लागि तयार हुन किसानहरू लाग्नुपर्छ ।” किसान आबद्ध सहकारीहरूको छाता संस्था केन्द्रीय चिया उत्पादक सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले भने लोगो कार्यान्वयन गर्ने विषयमा चिया तथा कफी विकास बोर्ड कुनै पनि बहाना बनाएर पन्छिन नहुने बताउनुभयो ।

लोगोमा बोर्डको स्वामित्व हुन्छ, निर्देशिका अनुसार सञ्चालक समिति हुन्छ र त्यो स्वतन्त्र समितिले लोगो सञ्चालन गर्छ, दाहाल भन्नुहुन्छ– “अहिले पनि नेपाली चियाको लोगो कुनै–कुनै सङ्घसंस्थाले प्रयोग गरिरहेका छन्, त्यसो गर्नु अनाधिकृत हो, उनीहरूलाई कारबाही गर्न र जरिवाना लिन बोर्डले सक्नुपर्छ । कार्यान्वयनमै नआइसकेको लोगोलाई कसैले पनि आफूखुसी प्रयोग गर्न पाउँदैनन् ।

चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार हाल नेपालका इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा ५९ प्रतिशत किसान र व्यवसायीले परम्परागत रूपमा आठ हजार आठ सय ३८ हेक्टरमा चिया खेती गर्दै आएका छन् ।-कोकिला ढकाल / गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here