पाँचथरमा २५ वर्ष अघि पनि भएको थियो सामूहिक हत्या

0
966

विराटनगर ।

दुई परिवारका नौ जनाको हत्या भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे शोकमा छ । घटनाका संदिग्ध मानिएका व्यक्ति पनि रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

पाँचथर त्यही जिल्ला हो, जहाँ २५ बर्ष अघि पनि यस्तै सामूहिक हत्या भएको थियो । नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी भन्छन्, ‘२०५० साल १७ वैशाखमा दुलाल परिवारका पाँच सदस्यको यसरी नै सामुहिक हत्या गरिएको थियो ।’

साविकको लुम्रुपा गाविस ९ टिम्बुरेमा एक दुलाल परिवारको यसरी नै सामुहिक हत्या भएको थियो । रातको समयमा घरमुली कुवेर दुलाल, आमा सरस्वती रिजाल, वहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्वव दुलाल गरी ५ जनाको घारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । कुवेर दुलालको छिमेकी नांगिन गाविस–३ सेजेपामा र अन्य सदस्यको घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या भएको थियो ।

दुलालका दुई छोरी ज्ञानु र मनु दुलाल भने मावली गएकाले जोगिएका थिए । मनु नांगिनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरी स्थित आफन्तको घर गएकी थिइन् ।

पछिल्लो समय पाँचथरमा व्यक्तिगत वा सामूहिक हत्याको कारण ब्यक्तिगत रिसईबी साँध्न भएको पाइएको समेत नेकपा अध्यक्ष भण्डारीले सुनाए ।

त्यसबेला लामो समयसम्म हत्यामा संलग्न अपराधी पत्ता नलागेपछि दुलाल परिवारका आफन्तले अनुसन्धान टोलीको साथमा कुकुर झिकाएका थिए । अनुसन्धानमा खटाइएको कुकुरले कुवेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलालसहित ८ जनालाई समातेको थियो ।

कुकुरको सहयोगमा पक्राउ परेका मध्ये ७ जनाले ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउन लगाएको बयान दिएका थिए भने ओमनाथले पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए । हत्या गराएको स्वीकार गरेका उनीहरुलाई अदालतले जनही २० वर्ष कैद सजाय सुनाएको थियो । उनीहरु ३ वर्ष अघि कैद भुक्तान गरी जेलबाट छुटेका छन् ।-अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here