गहना सफा गर्ने वहानामा ठगी

0
520

भद्रपुर।

के तपार्इं आधिकारिक सुनचाँदी पसल छाडेर झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? यदि हुनुहुन्छ भने बेलैमा होशियारी अपनाउनु होला । किनभने, अहिले नेपालका सीमावर्ती नाकामा गरगहना सफा गर्ने निहुँमा भारतीय झोले ठगहरुको बिगबिगी बढ्न थालेको छ ।

ती झोले भारतीय ठगहरु नेपालमा घरमा अन्य सदस्य नभएको मौका छोपी महिलालाई आफ्नो कला देखाउँदै ठग्न थालेका छन् । ती नै झोले भारतीय व्यक्तिको फन्दामा परेर भद्रपुरकी एक महिला ठगिएकी घटना बाहिर आएको छ ।

घटना विवरण अनुसार भद्रपुर नगरपालिका–५ बसपार्क बस्ने जुनू मेचेले भारतीय व्यक्तिबाट केही महिना अघि सुनको गरगहना घरमै सफा गराएकी थिइन् ।

मेचेले एक तोला १३ आना भएको सुनको सिक्री घरदैलोमा आएका भारतीय झोले व्यक्तिसँग सफा गराएकी थिइन् । त्यसबेला उनको सुन ठगी भएको उनले थाह पाइनन् । जब उनले सुनको सिक्री राखेर कर्जा लिन भद्रपुरकै एक सुनचाँदी पसलमा गइन् तब सिक्रीबाट सात आना सुन कम भएको थाह पाइन् ।

एक तोला १३ आनाको सिक्री एक तोला ६ आनामा भएपछि उनी तीन छक्क परिन् । त्यसपछि उनी स्थानीयको सहयोगमा सुन सफा गराउने ती भारतीय झोले व्यक्तिको खोजीमा लागिन् । उनीहरुलाई खोज्ने क्रममा बुधवार बिहान भद्रपुरको मेची पुलबाट स्थानीयकै सहयोगमा चार जना झोले व्यापारीलाई पक्राउ गरी वडा प्रहरी कार्यालय भद्रपुरमा लगेर बुझाएका थिए ।

सुन सफा गर्ने सामग्रीसहित पक्राउ परेका बिहार, भागलपुर नौगछिया बस्ने ४५ बर्षीय हरिस साह, कटिहार बस्ने ३९ बर्षीय धर्मेन्द्र साह, भागलपुर बरारी बस्ने ३८ बर्षीय रोकश साह र कटिहार अयोहमागञ्ज बजार बस्ने ३७ बर्षीय हिरालाल साह रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । दिनभर थुनामा राखेर अनुसंन्धान गरेपछि उनीहरुले सुन ठगी गरेको स्वीकारे नगरे पनि पीडित महिला मेचेलाई आठ हजार भारतीय रुपैयाँ दिने शर्तमा छाडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here