पानीकलमा सुविधासम्पन्न सामुदायिक भवनको शिलान्यास

0
798

लक्ष्मीपुर।

अर्जुनधारा नगरपालिका–५ स्थित पानीकलमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण हुने भएको छ । बागेडाँगी सामुदायिक विकास केन्द्रको हातामा निर्माण हुन लागेको सो भवनको एक समारोहबीच शिलान्यास गरिएको छ ।

करिव ७० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सो एकतले सामुदायिक भवन ९०ह३० फिट क्षेत्रफलको निर्माण हुने छ । तीन तलाको इष्टिमेट गरिएको भवन पहिलो तलाको काम सकिएपछि मात्र अन्य तला थप गरिने योजना रहेको वताइएको छ । सो भवन निर्माणको लागि पहिलो चरणमा सहारा नेपाल साकोसले रु. १० लाख, अर्जुनधारा नगरपालिकाले रु. ८ लाख र वडा नं. ५ वडा कार्यालयले रु. ५ लाख रकम उपलव्ध गराएका छन् ।

१० कठ्ठा क्षेत्रफलमा रहेको सामुदायिक विकास केन्द्र वि.संं. २०४९ सालमा स्थापना भई २०५४ सालमा विधिवत रुपमा दर्ता भएको संस्था हो । स्थानीय बासिन्दाका सम्पूर्ण सामाजिक, धार्मिक एवम् सांस्कृतिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापित सो संस्था अर्जुनधारा–५ पानीकल (बागेडाँगी) आसपासका वासिन्दाको पहिचान र एकताको प्रतीकको रुपमा लिने गरिन्छ ।

धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भावको सेतुको रुपमा रहेको यस संस्थालाई राज्यको कुनै पनि निकायले राम्ररी नहेरेको गुनासो गर्दै आएका स्थानीय अब सामुदायिक भवन वन्ने भएपछि आशावादी देखिएका छन् ।

हुन त स्थानीय जनताले आफ्नै वलवुताले खरिद गरेको जमिनमा हालसम्म पनि संस्थाको प्रयोजनको लागि सुविधासम्पन्न भवन बन्न सकेको छैन । एकतले टिनको छाना भएको कच्ची भवनमै संस्थाले आफ्ना सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ । यो सामुदायिक भवनवाट वडा नं. ४ र ५का पाँच सय घरपरिवार लाभान्वित हुने छन् ।

सामुदायिक विकास केन्द्रका अध्यक्ष एवम् भवन निर्माण समितिका संयोजक टेकनाथ अधिकारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा १ नं. प्रदेशसभा सदस्य वृख प्रधानको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरी, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र सुव्वा, वडा नं. ५ का वडा सदस्य शकुन्तला घिमिरे, खड्ग चौहान, नेत्र नेपाल, उपेन्द्र सिंह, राजबहादुर तामाङ, संस्थापक रघुवीर कार्की लगायतको आतिथ्य रहेको थियो । अध्यक्ष अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम खड्ग बुढाथोकीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here