सक्कली र नक्कली मसला छुट्याउन अलमल

0
1015

झापा, बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजुरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्याउन सकेन ।
नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन शुक्रवारबसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सक्कली र नक्कली मसालको भेउ पाउन नसकेपछि समिति नै अलमलमा परेको छ ।
सक्कली मसला पहिचान गर्ने र नक्कली मसलाको आयातकर्तालाई कारवाही गर्ने उद्देश्यले समितिको बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योग सचिव, भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो ।
बिएमसीको नाममा भेटिएको दुई मसलाको प्याकेट झण्डै दुरुस्तै थियो । मसलामा प्रयोग भएका तत्वका नाम एउटै र परिमाण एकै थिए । प्याकेट भने झट्ट हेर्दा उस्तै देखिए पनि गहिरिएर हेर्दा मात्र फरक देखिन्थ्यो । बिएमसी मसला सक्कली कि नक्कली भनेर छुट्याउन मन्त्री, सचिव, सांसद् निकैबेर घोत्लिए पनि समिति निष्कर्षमा पुग्न सकेन ।
छलफलमा सहभागी हुने केही सांसदले नक्कली मसलाको भन्सार जाँचपास गरेको भन्दै भन्सारतर्फ प्रश्न तेस्र्याए भने कतिले मसलाको गुणस्तर जाँच गरिनुपर्ने बताए । त्यस्तै केही सांसदले भने सक्कली बिएमसी मसलाको आयातकर्ताले कारोवार कम देखाउन भन्सार छली गरेर नक्कली मसला भित्र्याएको हुनसक्ने आशंका समेत गरे । बैठकमा केही सांसदले मसलामा मिसावट भएको छ भनेर आफूले मसलाको प्रयोग नै बन्द गरेको सुनाउन समेत भ्याए ।
समितिमा उजुरी परेकै भरमा अलमल, अस्पष्टताकाबीच बैठकमा बोलाएको भन्दै उद्योगमन्त्री मातृका यादवले रोष प्रकट गरे । मन्त्री यादवले नक्कली मसला बजारमा देखिएको बारे सम्बन्धित निकायमा उजुरी आउनुपर्ने बताए । मसला नक्कली भएको भन्नेमा मन्त्रालयमा कुनै उजुरी नपरेको उनको भनाइ थियो । मन्त्री यादवले भने– कुन मसला नक्कली र सक्कली हो र कुन घातक छ भन्न सक्नुहुन्छ ? बिना प्रमाण कोही बोल्न हुँदैन । उनले खाद्य पदार्थमा हुने मिसावट रोक्न सरकार गम्भीर रहेको बताए ।
सांसद कृष्णबहादुर श्रेष्ठले तत्कालै उक्त मसलाको गुणस्तर छानबिन गर्न खाद्य प्रयोगशालामा पठाइनुपर्नेमा जोड दिँदै परीक्षणपछि मात्र कुन सक्कली र नक्कली हो छुट्टयाउन सकिने बताए । सांसद अमृतादेवी अग्रहरीले दैनिक उपभोग्य सामग्रीमा मिसावट भएको जनगुनासो व्यापक आएको उल्लेख गर्दै अखाद्य वस्तु बजारमा आउन नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताइन् । समिति सदस्य गोपाल बमले नेपालमै उत्पादन भए पनि मसला नक्कली भएको पाइएको हुँदा तत्कालै संसदीय उपसमिति बनाएरै छानबिन गरिनुपर्ने बताए ।
छलफलमा भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले नक्कली मसलाको आधिकारिकता जाँच गर्न तत्कालै सबै भन्सार कार्यालयलाई परिपत्र गर्ने उल्लेख गर्दै केही दिनभित्रै समितिलाई जानकारी गराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here