चीनपछिको संसारको दोस्रो ठूलो जनसंख्या भएको र ९० करोड बढी मतदाता सहभागी भएको भारतको हालै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टी र उसको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) स्पष्ट बहुमतसहित आगामी पाँच वर्षे कार्यकालका लागि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।
पार्टी अध्यक्ष अमित शाह, महासचिव अरुण जेटली र संसदीय दलका नेता नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारतमा फेरि एक पटक कमलको फूल फुलेको छ । सन् १९८० मा स्थापित भारतीय जनता पार्टी भारतमा एउटा राष्ट्रवादी राजनीतिक दल हो । भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा र प्रमुख दर्शनको रुपमा एकात्मक मानवतावाद र हिन्दू राष्ट्रवादलाई लिएको छ ।
यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चित गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरताको पृष्ठपोषण गर्दछ । दक्षिणपन्थी रुझानको यो पार्टीले हिन्दूत्व, हिन्दू राष्ट्रवाद, अखण्ड मानवतावाद र आर्थिक उदारीकरणलाई राजनीतिक मार्गदर्शक सिद्धान्तहरु मानेको छ ।
विश्वको अर्थ राजनीतिको प्रतिस्पर्धामा चीन, अमेरिका, जापान लगायत देशसँगको दौडमा भारतले आफूलाई पनि अगाडि सारेको छ र विश्व शक्तिराष्ट्रको रुपमा विश्व राजनीतिक रंगमञ्चमा आफूलाई उभ्याउने निश्चित छ । आउने दिनमा यी देशहरुसँग उसको के सम्बन्ध रहन्छ भन्ने कुराले पनि विश्व राजनीतिमा ठूलो महत्व राख्नेछ । भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने निश्चित छ ।
भारतीय कांग्रेसको एकछत्र र एकमना दबदबाको प्रतिरोधका रुपमा उदाएको भारतीय जनता पार्टीले स्थापनाको शुरुवातदेखि नै राम्रो परिणाम ल्याएको भने अवश्य होइन । स्थापनाको १८ वर्षपछि मात्र यो दल केन्द्रमा सरकार बनाउने हैसियतमा पुगेको थियो ।
राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका दलहरुको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखि २००४ सम्म सरकार चलाएको थियो । हुन त यस अघि पनि भारतीय जनता दलका नेता मोरारजी देसाईको नेतृत्वमा गैर कांग्रेसी सरकार बनेको थियो, तर अटल बिहारी बाजपेयीको सरकारले मात्र पहिलो पटक आफ्नो कार्यकाल पूरा गरेको थियो । सन् २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरु मध्ये एक प्रतिपक्षी दलको भूमिकामा रह्यो ।
भाजपा हिन्दूवादी पार्टी भएकाले यो विजयको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने विश्लेषण पनि भइरहेको छ । भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्ने निश्चित छ । कट्टर हिन्दू राष्ट्रवादी धारको नेतृत्व गर्दै मोदीले विश्वको दोस्रो ठूलो मुस्लिम जनसंख्याको समेत नेतृत्व गर्ने छन् । भारतले विश्वका दुई प्रमुख द्वन्द्वग्रस्त क्षेत्र कश्मीर र साउथ चाइना सी रहेको क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोज्ने छ ।
लोकसभामा बहुमत हासिल गरेर मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदै गर्दा उनको लोकप्रियता र विजयका कारणबारे पनि चर्चा परिचर्चा सघन रुपमा भइरहेको छ । दुनियाँको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा ब्रिटेनलाई उछिन्न तयार, भारत, एक विशाल युवा जनसंख्याका साथ, विश्व आर्थिक विकासको प्रमुख संवाहक मध्य एक हुन सक्ने सम्भावना छ । भारतको खुला अर्थनीतिमाथि आशावादी विदेशी लगानीकर्ताहरूको यो विजयले हौसला बढाएको छ ।
चुनावी जीतका पछि विगत कार्यकालको समीक्षा र भावी योजना समेटिएको खाकासहितको चुनावी अभियान र प्रचारप्रसारले सबभन्दा ठूलो भूमिका खेलेकोमा दुईमत छैन । सडकको संख्यामा वृद्धि, ग्रामीण पूर्वाधार निर्माण, गरिबहरूका लागि सस्तोमा खाना पकाउने ग्यास, गाउँमा शौचालय, समान बिक्री कर, ५० करोड परिवारलाई फाइदा पु¥याउन सक्ने आशा गर्न लायक स्वास्थ्य बिमा योजना अघि सार्नुले भाजपाप्रति भारतीय जनमत आकर्षित भएको हो ।
बढ्दो अर्थतन्त्रको मागलाई धान्न र आफ्नो युवा जनसंख्यालाई दिग्भ्रमित हुन नदिन भारतले नयाँ–नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने भाजपाप्रति युवाहरु तानिने प्रमुख कारण थियो । भाजपाको जीतको अर्को कारण उसको कट्टर राष्ट्रवादी छबि पनि हो । महानता प्राप्त गर्ने चाहना संसारभरका शक्तिशाली राष्ट्रवादी नेताहरूमा देखिएको छ । चाहे त्यो अमेरिकाका डोनल्ड ट्रम्प हुन् वा रूसका पुटिन वा चीनका सी जिनपिङ वा इजरेलका बेन्जामिन नेतन्याहु ।
मोदीले पनि उनीहरूकै जस्तो राष्ट्रवादी भाषा चुनावी भाषणका बेला प्रयोग गरेका छन् । उनले भारतलाई त्रेतायुगको राम र उनको राज्यसँग तुलना गर्ने गरेका छन् । मोदीले रामलाई आदर्श राजा र उनको शासनलाई आदर्श शासन प्रणालीका रूपमा व्याख्या गरेका छन् । हिन्दू बहुल मुलुकका लागि भगवान रामको आदर्शको पुनरावृत्ति हुने सपना देखाउन सक्नुले विजयश्री पहिरिन काम गरेको छ ।
अघिल्लो चुनावमा भाजपा अल्पसंख्यक विरोधी दलको रुपमा विरोधीबाट चित्रित थियो भने यस पटक मुश्लिम तथा गैर हिन्दू तथा अन्य जातीय अल्पसंख्यकको ठूलो समर्थन भाजपातिरै रहन गयो । भाजपाले आफ्नो पार्टी एक अर्ब ३० करोड भारतीयहरूका लागि हो र यसले धर्मको आधारमा भेदभाव गर्दैन भन्ने नारा लिएको थियो । चुनावी अभियान शुरु गर्नुभन्दा केही अघि पाकिस्तानका आतङ्ककारीहरूमाथि गरेको आक्रमणले पनि भाजपालाई फाइदा पुगेको देखियो ।
मोदीले राष्ट्रवादलाई काँध थापेर शक्तिशाली पुरुषको छवि बनाएका छन् । उनका समर्थकहरूले उनलाई सामान्य इतिहासबाट उठेर आएको असामान्य व्यक्तिका रुपमा चित्रित गरेका छन् । भारतीयहरूका लागि मोदी इमान्दार, कर्मठ र निर्णय क्षमता भएका एक कुशल नेताको रुपमा स्थापित भएका छन् ।
मोदीको जीतको अर्को कारण भूराजनीतिक भूमिका पनि हो । दक्षिणपन्थी लोकप्रियतावादको उदय हुनु भाजपाको बहुमत प्राप्त गर्न प्रमुख कारण बन्न सकेको छ । भाजपाले दक्षिणपन्थी राजनीतिलाई लोकप्रियतावादसँग मिसाइरहेको छ । ट्रम्पले आप्रवासी गिरोहलाई जसरी ‘जनावर’ भने भाजपा अध्यक्ष अमित शाहले त्यसैगरी गैरकानूनी आप्रवासीहरूलाई ‘धमिरा’ भन्दै उनीहरूलाई बङ्गालको खाडीमा फ्याँक्ने बताएका छन् ।
अब प्रधानमन्त्री मोदीले आगामी पाँच वर्ष कसरी शासन चलाउँछन् भन्ने कुराले विश्वलाई ठूलो प्रभाव पार्ने निश्चित छ । बढ्दो जनसंख्या, भोकमरी, बेरोजगारी, चीन र पाकिस्तानसँगको प्रत्यक्ष–अप्रत्यक्ष तनाव, हिन्दूवादी सोचबाट फरक धर्म र अल्पसंख्यकमाथिको प्रभाव, उदार अर्थव्यवस्थाले सिर्जना गर्ने समस्याहरु लगायतका चुनौतिहरुसँग सामना गर्दै मोदी समस्त भित्री र बाहिरी समस्याका समाधान खोज्दै अघि बढ्छन् भन्ने कुराले भाजपाको आगामी भूमिका र भारतीय जनताको भविष्य निर्धारण हुने निश्चित छ ।