भारतीय उखुका कारण नेपाली किसान समस्यामा

0
834

बिर्तामोड। भारतबाट आयात हुने गरेको उखुका कारण झापामा नेपाली उखुको बिक्री नभएको किसानले गुनासो गरेका छन् ।
सरकारले भारतबाट आयात हुने उखुमा रोक लगाए पनि अवैध रुपमा भारतीय उखुहरु नेपाल भित्रिने क्रम अझै नरोकिएको उखु किसान सञ्जु भारतीले बताए । उनले भने–झापाका किसानले लगाएको उखु बिक्री हुनै छाड्यो, भारतबाट अवैध रुपमा आएका उखु मुख्य समस्या बन्यो । सरकारले आयात रोके पनि अवैध रुपमा नेपाल भित्रिने गरेको उखुको विषयमा प्रशासनले चासो नदिँदा किसानहरु मारमा पर्ने गरेको उनले बताए । जिल्लाको ४ सय बिगाह क्षेत्रफलमा उखु खेती हुने गरेको भारतीले जानकारी दिए ।

झापामा उत्पादन हुने उखु जिल्लाका विभिन्न शहरहरुका साथै काठमाडौं, हेटौंडा लगायतका स्थानमा बिक्री हुँदै आएको छ । जिल्लाका शनिश्चरे, अर्जुनधारा, बिर्तामोडका विभिन्न स्थान, जयपुर, डाँगीबारी, चन्द्रगढी लगायतका क्षेत्रमा व्यवसायिक रुपमा उखु खेती हुने गरेको भारतीले जानकारी दिए ।

नेपाली बजारमा प्रति गोटा २० रुपैयाँका दरले उखु बिक्री हुँदै आएकोमा भारतीय उखु भित्रिने क्रम बढेपछि आफूहरुको उखु बिक्रीमा समस्या भएको किसान नवराज भारतीले बताए । किसानले लगाएको उखु विक्री नहुँदा बारीमै बिग्रिने अवस्थामा पुगेको अर्का किसान योगेश गिरीले बताए ।

जग्गा लिजमा लिएर उखु खेती गरे पनि सरकारले सिञ्चाई, मल वीऊ लगायत कुनै पनि क्षेत्रमा सहयोग नगरेको किसानहरुले गुनासो गरेका छन् । बैंकबाट ऋण लिएर उखु खेती गरे पनि बिक्री नहँुदा ऋण तिर्न समस्या भएको किसान जेबी कार्कीले बताए ।

सरकारी सहयोग नपाए पनि उखु खेती गरिरहेका किसानहरु उचित बजार नपाउँदा समस्यामा परिरहेका बेला जंगली हात्तीले उखु खेतीमा पसेर नष्ट गर्ने गरेका कारण किसान व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ । झापामा प्रतिबिगाह २० हजार गोटा उखु उत्पादन हुने किसानहरुले बताएका छन् । उनीहरुले भारतबाट आयात हुने उखुलाई रोक्न सके मात्रै पनि आफूहरुको उखुले मूल्य पाउने भन्दै उक्त विषयमा प्रमुख जिल्ला अधिकारीले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । सीमावर्ती क्षेत्रबाट सस्तोमा उखु नेपाल भित्रिने गरेका कारण नेपाली किसान समस्यामा पर्ने गरेको उनीहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here