९ जनाको हत्या ‘ज्वाइँबाटै’

0
878

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको दुई परिवारका ९ जनाको विभत्स हत्या मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले निष्कर्ष निकालेको छ ।

गएको जेठ ६ गते राति खुकरी प्रहार गरी ९ जनाको हत्या गरिएको थियो । घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको र राति नै झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका माखिमले नै सबैको हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो । माखिमले प्रयोग गरेको मोबाइलमा पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेशन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँरले बताए । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ छ ।

प्रहरीले शंका गरेका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले सोही राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनका श्रीमती पुर्सिमाया फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेयाको हत्या भएको थियो । त्यस्तै ४१ वर्षीय धनराज सेर्मासहित उनका परिवारका ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्माको विभत्स हत्या गरिएको हो । बमबहादुर र धनराज ज्वाइँ, ससुरा हुन् ।

घटनास्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छ–छैन भन्ने खुल्ने प्रहरीले वताएको छ । यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो घटना भएको बताए । स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here