दरबार हत्याकाण्डको १८ वर्ष पुरा, घटना अझै रहस्यमै

0
1204

काठमाडौं । नेपालको राजपरिवारको एउटा वंश विनास भएको आज १८ वर्ष वितेको छ । २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको रहस्य अझै गर्भमै छ ।

तत्कालीन राजा वीरेन्द्र शाहको बंशविनास भएको १८ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो दरबार हत्याकाण्डको नेपालको इतिहासमै डरलाग्दो घटना थियो ।

तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो ।नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन् ।

जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

सो समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरेको छ । त्यसबारेमा नागरिकले भने अझै प्रश्न उठाइरहेका छन् र विश्वसनीय आधार नभएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन ।

दरबार हत्याकाण्डका बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्याकाण्डबारे केही नबताए पनि नियोजित भएको भन्नेसम्म जानकारी गराएका थिए ।

यद्यपी नियोजित भनिएको यो हत्याकाण्डका बारेमा जनताले विश्वास गर्ने खालको छानबिन हुन सकेको छैन । दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहको शासनकालमा पनि यो हत्याकाण्डबारे थप छानबिनको कुनै पहल भएन ।

गणतन्त्र स्थापनापछि देशको कार्यकारी बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते हत्याकाण्डको पर्दाफास गर्ने घोषणा गरेको पनि ११ वर्ष बितिसकेको छ ।

पटक–पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमै उभिएर पनि सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन्, तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।

हत्याकाण्डमा राजपरिवारकै सदस्य वा बाह्य शक्तिको संलग्नता थियो या थिएन भन्ने प्रष्ट हुने आधार र तथ्य छैन ।हत्याकाण्डपछि नारायणहिटी दरबारभित्र भएका धेरै तथ्य विस्तारै नष्ट हुँदै गएका छन् । हत्याकाण्डका केही प्रमाण चार वर्षपछि एक पछि अर्को गर्दै नष्ट पारिएको थियो ।

हत्याकाण्ड भएको त्रिभुवन सदनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भत्काइएको थियो । ज्ञानेन्द्र शाहको बहिगर्मनपछि नारायणहिटी दरबारले संग्रहालयको रुप लियो ।

राजतन्त्रको नाममा गणतन्त्र र राजाको स्थान राष्ट्राध्यक्षका रुपमा राष्ट्रपतिले लिएका छन् । नारायणहिटी संग्रहालय अवलोकन गर्न पुग्नेहरुले दरबार हत्याकाण्डका साक्षी बनेर रहेका गोलीका दागहरु देख्छन्, हरेकको मन चसक्क पोल्छ । मन कुटुक्क काट्छ ।

आँखा रसाउँछ, वीरेन्द्रका त्यही शालीन मुस्कान आँखै अगाडी घरीघरी नाच्न आउँछन् । तर हत्याकाण्डमा मारिएकाले न्याय नपाउने मात्र होइन सत्यसम्म खोतल्ने आँट अहिलेसम्म गर्न कसैले सकेको छैन । जसका कारण यो दिन नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here