२० कर्मचारीका लागि १६००को आवेदन

0
709

भद्रपुर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)मा २० जना नयाँ कर्मचारीका लागि खोलिएको विज्ञापनमा एक हजार ६ सयभन्दा बढीले आवेदन भरेका छन् ।

मुलुकमा शिक्षित बेरोजगारीको अवस्था र सहकारीको जागिरप्रतिको आकर्षणलाई उक्त संख्याले देखाएको छ । शनिवार कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी लिखित परीक्षा भएको थियो । एनएमसीले सहायक अधिकृतस्तरका पाँच, वरिष्ठ सहायकस्तरका आठ र कार्यालय सहायकस्तरका सातजना कर्मचारीका लागि आवेदन मागेको थियो ।

जसमा एक हजार ६०६ जनाले आवेदन दिएको र उनीहरु सबैलाई लिखित तथा मौखिक परीक्षामा सामेल गरेर २० जना छनौट गरिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

मेचीनगर–१४स्थित शहीद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसमा शनिवार दुई चरणमा लिखित परीक्षा भएको थियो । जागिरप्रतिको आकर्षण र निष्पक्ष परीक्षाप्रतिको विश्वासका कारण आवेदकको संख्या धेरै भएको संस्थाका उपाध्यक्ष उप्रेतीले दावी गरे । परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन गरेको छ भने परीक्षामा नेपाल प्रहरीको समेत सहयोग लिइएको थियो ।

एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डारसमेत सञ्चालन गर्दै आएको छ । वि.सं. २०५०मा स्थापित झापाको अग्रणी सहकारीका रुपमा चिनिएको यो संस्थामा हाल ६०० भन्दा बढी कर्मचारी, ३५ वटा सेवा केन्द्र, ७३५ करोड रुपैयाँको वार्षिक कारोवार, ६५ हजारभन्दा बढी सदस्य, ५६५ करोड रुपैयाँ निक्षेप र ६७ करोड रुपैयाँ शेयर पुँजी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here