सामुदायिक विद्यालयका विद्यार्थीमाझ चुनावी अभ्यास

0
644

महेन्द्ररत्न र मोहनमायामा क्याप्टेनको निर्वाचन

बिर्तामोड। बिर्तामोडस्थित महेन्द्ररत्न माध्यमिक बिद्यालयको वातावरण चुनावमय बन्यो । बिद्यालयको परिसरलाई मतदान स्थल बनाइएको थियो भने तीन वटा मतदान गर्ने स्थान (बुथ) बनाइएको थियो ।

मतदान गर्नका लागि तीन वटा लाइन बनाइएको थियो भने मतपत्र खसाल्ने व्यालेट बक्स पनि तीन वटै राखिएका थिए । गोप्य मतदानका लागि छुट्टै कोठा तोकिएको थियो । मतदान अधिकृतहरुले मतपत्र रुजु गरिरहेका थिए भने निर्वाचन स्वयम्सेवकहरुले मतदाताहरुको हातमा मसी लगाउँदै मतपत्र दिएर मतदान गर्न पठाइरहेका थिए ।

बिद्यालयको त्यो दृश्य देख्दा लाग्थ्यो त्यहाँ राष्ट्रिय निर्वाचन भइरहेको छ । बिद्यालयको बाटो भएर हिँड्ने यात्रीहरु पनि एकछिन रोकिएर बिद्यालयको त्यो दृश्य हेरिरहेका थिए । देशमा संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन भइसके पनि फेरि केको निर्वाचन भएको हो सर्वसाधारणमा उत्सुकता देखिन्थ्यो ।

तर, त्यहाँ कुनै संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन नभएर विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन पद चयन गर्नका लागि विद्यार्थीहरु माझ गरिएको निर्वाचन थियो । सरकारले नमूना बिद्यालय घोषणा गरेपछि पहिलोपटक चुनावी प्रक्रिया अपनाएर विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन पद चयन गरिएको विद्यालयका प्रध्यानाध्यापक मनबहादुर लिम्बूले बताए । विद्यार्थीहरु माझ चुनावी प्रक्रिया अपनाएर सक्षम नेतृत्व चयन गर्नका लागि विद्यालयमा क्याप्टेन, भाइस क्याप्टेन, चयन गरेर उनीहरुलाई चुनावी शिक्षा प्रदान गरिएको विद्यालयका प्रध्यानाध्यापक मनबहादुर लिम्बूले बताए ।

निर्वाचन प्रक्रियाबाट छनौट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने उनले बताए । उक्त निर्वाचन कार्यक्रममा दुई पदका उम्मेदवारका लागि ३६ जना बिद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये एक जना क्याप्टेन र एक जना भाइस क्याप्टेन गरी जम्मा दुई जना उम्मेदवार निर्वाचनबाट निर्वाचित भएकोे विद्यालयका शिक्षक युवराज कट्टेलले जानकारी दिए ।

गत जेठ ११ गते क्याप्टेन र भाइस क्याप्टेन पद चयनका लागि बिद्यार्थीहरुलाई आह्वान गरिएको थियो । जेठ १२ गते क्याप्टेन, पदका लागि २० जना र भाइस क्याप्टेन पदका लागि १६ जना गरी ३६ जना बिद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । जेठ १३ गते क्याप्टेन, पदका लागि १२ जना र भाइस क्याप्टेन पदका लागि आठ जना गरी २० जना बिद्यार्थीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

त्यस्तै जेठ १४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मतदाता नामावली प्रकाशन गरिएको थियो भने जेठ १५ गते क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले ककसमार्फत उम्मेदवारी दिनुको औचित्यमाथि प्रकाश पारेका थिए । जेठ १६ गते विद्यार्थीहरुसँग भोट मागेका उम्मेदवारहरुले जेठ १७ गते निर्वाचनमा भाग लिएका थिए । निर्वाचनअघि बिद्यालयका शिक्षक भोजराज दाहालले बिद्यार्थीलाई निर्वाचन शिक्षाबारे जानकारी गराएका थिए ।

सम्पूर्ण चुनावी प्रक्रिया पूरा गरी निर्वाचन गरिएको थियो । शुक्रबार भएको निर्वाचनका लागि निर्वाचन केन्द्र क, ख, र ग गरी तीन वटा पंक्ति बनाइएको थियो । निर्वाचन केन्द्र क मा इच्छाराम निरौला, ख मा लक्ष्मीप्रसाद प्रसाईं र ग मा रवीन खनाललाई निर्वाचन अधिकृतमा चयन गरिएको थियो भने मुख्य निर्वाचन अधिकृतमा इन्दिरा वस्तीलाई चयन गरिएको थियो ।

विद्यालयमा कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत् चार सय २६ जना बिद्यार्थीले मतदानमा भाग लिएका थिए । निर्वाचनमा तीन मत बदर भएको मुख्य निर्वाचन अधिकृतमा इन्दिरा वस्तीले बताइन् । शुक्रबार भएको निर्वाचनबाट क्याप्टेन पदमा कक्षा ९ ख का अनिमेश राजवंशी ११७ मत प्राप्त गरी बिजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी कक्षा १० ग का सरगम तिवारीले ९९ मत प्राप्त गरेकोे शिक्षक युवराज कट्टेलले जानकारी दिए ।

त्यस्तै भाइस क्याप्टेन पदमा गोविन्द पौडेल एक सय ६६ मत ल्याएर बिजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी झरना राईले ६५ मत प्राप्त गरेको उनले बताए । बिद्यालयको सामाजिक बिषय समितिले उक्त निर्वाचन गराएको सामाजिक बिषय समितिका संयोजक डिल्ली निरौलाले जानकारी दिए ।

कक्षा १० को सामाजिक विषयमा निर्वाचन प्रक्रिया सम्बन्धी पाठ रहेकोले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिन चुनावी प्रक्रियाद्वारा क्याप्टेन र भाइस क्याप्टेन पदको चयन गरिएको सामाजिक बिषय समितिका संयोजक डिल्ली निरौलाले जानकारी दिए । बिजयी विद्यार्थीहरुलाई विद्यालयका प्रध्यानाध्यापक मनबहादुर लिम्बू र बिर्तामोड नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत दिनेशकुमार आचार्यले बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै बिर्तामोड–२ चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयले निर्वाचन प्रक्रियाबाट स्कूल क्याप्टेन र भाइस क्याप्टेन छनौट गरेको छ ।

उक्त निर्वाचन कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका चार सय ५३ जना विद्यार्थी मतदाताको रुपमा रहेकोमा चार सय २५ जना विद्यार्थीहरुले मतदानमा सहभागी भएका थिए । सो निर्वाचन प्रक्रियाबाट कक्षा ९ कि एन्जिला नेपालले दुई सय १६ मत प्राप्त गरी स्कूल क्याप्टेनमा विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्दी लोचन कार्कीले ९४ मत प्राप्त गरेको बिद्यालयका शिक्षक पुण्यप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै कक्षा ९ का लक्ष्मी यादवले एक सय ९० मत प्राप्त गरी स्कूल भाइस क्याप्टेनमा विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी प्रशान्त आचार्यले एक सय ३३ मत प्राप्त गरेको उनले बताए । उक्त निर्वाचनमा जम्मा चार सय २५ मत खसेकोमा नौ वटा वदर भएको निवार्चन अधिकृत शिक्षक ममताकुमारी राजवंशीले जानकारी दिइन् । बिद्यालयमा भएको निर्वाचनले बिद्यार्थीमा सक्षम नेतृत्व चयन गर्ने क्षमता बढेको विद्यालयका प्रध्यानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here