खोला उत्खनन् रोकिएन

0
1369

दमक। राजनीतिक आड र पहुँचमा झापाको दमकस्थित रतुवा र मावा दोहन हँुदा स्थानीय सरकार एवं प्रशासन मुकदर्शक बनेको पाइएको छ ।

झापाको दमक नगरपालिकाले रतुवा र मावा खोलामा खोलाजन्य पदार्थ उत्खनन्को कार्य गत जेठ १ गतेदेखि रोक्न सम्बन्धित ठेकेदार कम्पनीलाई निर्देशन दिएको भए पनि कार्यान्वयन नभएको पाइएको छ । उत्खनन्, संकलन र ढुवानी कार्यको अनुगमन तथा प्राविधिक टोली सहितले नापजाँच गर्दा तोकिएको भन्दा बढी निर्माण सामग्री निकालेको ठहर गर्दै अब खोलामा उत्खनन् नगर्न एक साताअघि पुनः नगर पालिका कार्यापालिका बोर्ड बैठकले निर्णय गरेको थियो । तर, स्थानीय राजनीतिक पहुँच भएकाहरु नै ठेकेदार भएकाले नरोकिएको बताइन्छ ।

शिवलिङ्ग निर्माण सेवाले ठेक्कावापत बुझाउनु पर्ने तीन करोडभन्दा बढी रकम अहिलेसम्म नगरपालिकामा जम्मा नगरेको र दिनरात जेसीबी लगाएर खोला गहिरो बनाउँदै निर्माण सामग्री झिक्ने काम भइरहेको पाइन्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले खोला उत्खनन् रोक्न निर्देशन दिइएको बताए । ‘तोकिएभन्दा धेरै परिमाणमा बैशाख ३० गतेसम्ममा नै सामग्री निकालेको पाइएको छ’ –उनले भने ।

दमक– ३ मा करिब ५० हजार ट्रिप सामग्री भण्डारण गरेर राखिएको पनि स्रोतले दाबी गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले आफूहरुले जेसीबी खोलामा नलाउन बारम्बार आग्रह गरेको र हटाउनका लागि प्रयास गर्ने गरेको भए पनि अटेर गरेको जनाए । ‘हामी जाँदा हटाए जस्तो गर्छन् फेरि ल्याउदा रहेछन्’ –उनले भने ।

नगरपालिकाले ३२०३५२ घन मिटर उत्खनन गर्नका लागि अनुमति दिएकोमा ३४८९०९ घन मिटर उत्खनन् गरेको उल्लेख गर्दै अब उप्रान्त उत्खनन् कार्य रोक्ने भन्दै बोर्ड बैठकले निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here