स्वास्थ्यका लागि साइकल

0
588

बिनोद दहाल (तुलसी)
‘यात्रा’ मानव जीवनको अत्यावश्यक अंग हो । दैनिक जीवनयापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागी । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट अर्काे ठाउँको यात्रा गर्नैपर्ने हुन्छ । आदिमकालमा धर्तीका सबै मानवजाति पैदल यात्रा गर्ने गर्दथे ।

हिन्दूधर्म ग्रन्धलाई आधार मान्ने हो भने भगवानहरुले यात्राका लागि फरक–फरक वाहन प्रयोग गर्ने गरेको पाइन्छ । जस्तैः मयूर, घोडा, मुसा आदि । कालान्तरमा प्रविधि विकाससँगै यातायातका विभिन्न साधनको विकाश हुँदै गयो जसले गर्दा आजको हाम्रो यात्रा निकै सजिलो, छिटो–छरितो अनि आरामदायक हुँदै गइरहेको छ ।

विश्व साइकल दिवसका अवसरमा आज हामी यहाँ यिनै यातायात साधनमध्येको एक साइकलका बारेमा केही चर्चा गरौं । दुईवटा मात्र चक्काको भरमा सन्तुलन गरेर चलाउन सकिने यो सवारीसाधन १८औं शताब्दीमा जर्मन नागरिकले पहिलोपटक प्रचलनमा ल्याइएको खोजकर्ताले दाबी गरेका छन् । सोही दशकको मध्यतिर फ्रान्सेलीहरुले यो दुई चक्के सवारीसाधनलाई ‘साइकल’ भनी नामकरण गरेका थिए । व्यवसायिक रुपमै साइकलको पहिलो पटक उत्पादन÷आविस्कार गर्ने श्रेय भने जर्मनी नागरिक कार्ल भान ड्राइस ९पबच िखबल म्चबष्क०लाई जान्छ । प्रायजसो भागहरु काठबाट बनाइएको उक्त साइकलको तौल २२ किलोग्राम थियो । जसको प्रयोग जर्मनी, फ्रान्स र उत्तर अमेरिकाबाट शुरु भई विश्वका अन्य भागमा फैलदै गएको पाइन्छ ।

नेपालमा पनि साइकल निकै लोकप्रिय सवारीसाधनको रुपमा प्रयोगमा आएको पाइन्छ । बिशेषतः तराइ–मधेशका सर्वसाधारणले साइकलको प्रयोग गर्ने गरेका छन् । तुलनात्मक रुपमा सस्तो, शारीरिक परिश्रमद्वारा चलाउन मिल्ने, कुनै प्रकारको इन्धनको आवश्यकता नपर्ने, चालक अनुमति पत्रको आवश्यकता नपर्ने, अन्य सवारीसाधन जस्तो दर्ता गर्नु नपर्ने आदि कारण पनि साइकल लोकप्रिय बनेको हो ।

साना बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले सजिलै चलाउन सक्ने यो सवारीसाधनको प्रयोगले यातायात र सानातिना सरसामानको ढुवानीमा ठूलो सहयोग पु¥याउनुका साथै वातावरण र मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको छ ।

यो विवरणलाई पढिरहँदा तपाईं पाठकबृन्दलाई म सोध्न चाहन्छु– ‘तपाईंले कहिलेदेखि साइकल चढ्नुभएको छैन ?’ हो, हामीमध्ये धेरैलाई अघिल्लो पटक साइकल चढेको सम्झना नै नहुन सक्छ । हामी कसैले सानो केटा–केटी छँदै साइकल चढेका थियांै, कसैले कलेज जाँदा मात्रै चढेको हो । त्यसपछि भने छैन । कतिपयले भने जागिरे जीवन शुरु भएपछि साइकल चढ्न छाडेका छौ । हामी कतिले भने आफ्नो ब्यापार व्यवसाय शुरु भएपछि र अलिक फस्टाएपछि साइकल चढ्न छाड्यौं । यसको निचोड के हो भने जब हामी आर्थिक रुपमा सबल बन्दै जान्छौ, समाजमा नेतृत्वदायी भूमिका निभाउँदै माथिल्लो ओहोदामा पुग्छौ– तब साइकलको प्रयोगलाई ‘अनावश्यक’ भन्न थाल्छौं ।

तराईमा बसोबास गर्ने अधिकांश अभिभावकले साइकल किनेका छौं, तर आफ्नो लागि होइन, आफ्ना बालबालिकाका लागि मात्र । हाम्रा बालबच्चा सानो छँदा खेलौना साइकल, अलि ठूला भएपछि तीनचक्के साइकल, अझ केही ठूला भएपछि दुई चक्के साइकल घरमा राख्ने बाध्यता झैं हुन्छ । तर, जब हाम्रा छोराछोरी माध्यमिक तथा उच्च माध्यमिक तहमा पुग्छन्, तब ती साइकल प्रयोगविहीन हुन् थाल्छन् । हाम्रो समाजमा संस्कार नै यसरी बिकसित भएको छ कि ठूलो भएपछि साइकल चढ्ने होइन अथवा आफूसँग केही पैसा कमाई भएको छ भने साइकल चढ्ने होइन ।

‘अफिसमा जागिर खान जाँदा कसरी साइकलमा जाने ? बाटोमा साथीभाइले देखेमा के भन्लान ?’ यस्तै सोच र धारणाका बीचमा हराइरहेको छ हाम्रो–साइकल संस्कार । निश्चय नै लामो दूरी साइकलमा तय गर्न कठिन हुन्छ । समयको हिसाबले पनि साइकल यात्रा अलि बढी समय लाग्ने नै हुन्छ । अन्य सवारी साधनजस्तो छिटो–छरितो नभए पनि छोटो दुरीको यात्रा तय गर्दा वा ४÷५ किलोमिटर क्षेत्रभित्र यात्रा गर्नुपर्दा हामीले साइकलको प्रयोग बढाउन सके यसले वातावरण र हाम्रो स्वास्थ्यमा ठूलो सकारात्मक असर ल्याउन सक्छ । साइकल चलाउनाले मुटु सम्बन्धी समस्या, मष्तिस्क तथा हृदयघात तथा केही प्रकारका क्यान्सरको खतरालाई न्यूनीकरण गर्न सकिने विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० को प्रतिवेदनले प्रमाणित गरिसकेको छ । मधुमेह अर्थात डायवेटिज नियन्त्रणमा समेत यसले ठूलो सहयोग पु¥याएको प्रमाणित भइसकेको छ ।

पोहोर साल अर्थात् सन् २०१८ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको छ । ‘स्वास्थ्य र स्वस्थ वातावरणका लागि साइकल’ भन्ने नाराका साथ आज विश्वभर साइकल दिवस मनाइँदैछ ।

हामी पुनः एकपटक हाम्रो धुलोले ढाकिएको र खिया लागेको साइकल घरको कुनाबाट निकालौ, सफा गरौं, हावा भरौं र चलाऔं । साइकलको माध्यमले स्वास्थ्यको अनि हाम्रो वातावरणको सुधार गर्न मद्दत गरौं । त्योभन्दा पनि महत्वपूर्ण कुरा ‘ठूलो भएपछि साइकल चलाउन छाड्नुपर्छ’ भन्ने संस्कार विकाशित भइरहेको यो समयमा त्यसलाई गलत साबित गरौं र, साइकल संस्कारको विकास गरौं । साइकल चढ्न शुरु गरेपछि मात्र यसका कठिनाइहरु अलग साइकल लेन, साइकल सुरक्षा जस्ता बिषयमा छलफल शुरु गर्न सकिन्छ । विश्व साइकल दिवस २०१९ को सबैमा हार्दिक शुभकामना ।
दाहाल बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here