बिर्तामोड।

झापाको बिर्तामोड– ६ स्थित सुगमशान्ति टोलमा हुन सक्ने चोरी, डकैती लगायतका आपराधिक गतिबिधिलाई नियन्त्रण गर्दै समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यले सुरक्षा समिति गठन गरिएको छ ।
सुगम शान्ति टोल बिकास संस्थाले आयोजना गरेको सुरक्षा सचेतना कार्यक्रममा संस्थाका सदस्य पूर्व प्रहरी हवल्दार चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सुरक्षा समिति गठन गरिएको हो ।
नवगठित सुरक्षा समितिका सदस्यहरुमा उद्धव डाँगी, गोकुल श्रेष्ठ, मोहनविक्रम मल्ल, मोहन उप्रेती, विष्णु अधिकारी, मदन लुइँटेल रहेका छन् । समितिका सदस्यहरु मध्ये विष्णु र मदन बाहेक अन्य सबै पूर्व प्रहरी हुन् ।
सुगम शान्ति टोल बिकास संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष डिल्लीराम कोइरालाले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कार्की र बिर्तामोड–६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले टोलको बिकास गर्न आफूहरु लागीपर्ने बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापाले सुगम शान्ति टोलबासीका सम्पूर्ण सुरक्षाको ग्यारेण्टी गर्ने प्रतिबद्धता जनाए । उनले नागरिकसँगको सहकार्यमा मात्र शान्ति–सुरक्षा कायम गर्न सकिने भएकाले त्यसका लागि टोलबासीको साथ चाहिएको बताए ।
सुरक्षा समितिले टोलको शान्ति–सुरक्षा कायम गर्न मोबाइल गस्ती गर्ने, रात्रिकालीन गस्ती गर्ने, त्यहाँ घट्ने जुनसुकै किसिमका घटनाहरुबारे तत्काल प्रहरीलाई खबर गर्ने लगायतका गतिविधिहरु सञ्चालन गर्ने टोल विकास संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल लकान्द्रीले गरेका थिए ।





























