स्थानीय सरकारका बजेट र कार्यक्रमको प्राथमिकताबारे दलहरुको सुझाव

1
441

बिर्तामोड।


झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

शुक्रबार बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका नेताहरुले स्थानीय सरकारका काम, कारवाहीको समीक्षासहित अब बन्ने नीति, कार्यक्रम र बजेटका लागि प्राथमिकता दिनुपर्ने विविध विषयबारे सुझाव दिएका  हुन् । उनीहरुले स्थायी शान्ति, गुरुयोजनासहितको दिगो विकास र गरिबी न्यूनीकरण तथा सशक्तिकरणसहित समृद्धिलाई टेवा पुर्याउने नीति कार्यक्रम बनाउन सुझाएका छन् ।

त्यस्तै स्थानीय सरकार सामाजिक समावेशी तथा लैङ्गिग उत्तरदायी हुनुपर्नेमा दलका नेताहरुको जोड छ । कतिपय स्थानीय तहमा विवाद र द्वन्द्व बढेको भन्दै उनीहरुले सर्वदलीय, सर्वपक्षीय सहभागितामा विज्ञहरुको समेत सल्लाह लिएर आवश्यकताको पहिचान गरी तीनलाई प्राथमिकीकरण गरेर विवादरहित ढंगले नीति, कार्यक्रम र बजेट बनाउन सुझाव दिइएको छ ।

नीति, निर्माणदेखि कार्यान्वयन तहसम्म जनसहभागिता, पारदर्शी र जवाफदेही कार्यप्रणाली अवलम्वन गर्न पनि नेताहरुको सुझाव छ । त्यस्तै व्यवहारिक, सिपमुलक तथा राष्ट्र, राष्ट्रियता र राष्ट्रभक्तिपूर्ण शिक्षालाई जोड दिनुपर्ने उनीहरुले बताए । बढ्दो वेरोजगारी र युवाको विदेश पलायन लहर रोक्न रोजगारमुखी कार्यक्रम, प्रविधियुक्त उत्पादनमुखी कृषि र उद्योगलाई विशेष ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ । त्यस्तै स्थानीय पर्यटकीय क्षेत्रलाई समेत प्रवद्र्धनका लागि प्राथमिकतामा राख्नुपर्ने उनीहरुले बताए ।

नागरिकको स्वास्थ्य तथा सामाजिक सुरक्षालाई स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने राजनीतिक दलको सुझाव छ । नीति, कार्यक्रम र बजेट निर्माणमा लक्षित वर्गको सार्थक सहभागितासँगै त्यसको व्यवहारिक कार्यान्वयन पनि त्यही वर्गमा हुनुपर्ने दलका नेताहरुको भनाइ छ ।

छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेकपा झापाका सचिव मणिकुमार साम्पाङ विजयले स्थानीय सरकारका कामको समिक्षासहित अब दिगो परिणाम दिने नीति कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै संघीय समाजवादी पार्टी नेपालकी जिल्ला उपाध्यक्ष संगीता रौनियार, राजपाका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, सचिव सिवन सोराली मगर, राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझा, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले समेत विविध विषयमा सुझाव राखेका थिए । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here