सूचना नदिए कार्वाही हुने

0
536

भद्रपुर।

सरकारी कार्यालयमा तोकिएका सूचना अधिकारीले सेवाग्राहीले माग गरेको सूचना उपलब्ध गराउन आनाकानी गरे राष्ट्रिय सूचना आयोगले कारवाही गर्ने बताइएको छ ।

आयोगले जिल्ला समन्वय समिति झापाको सभाहलमा शुक्रवारमा आयोजना गरेको सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली कार्यान्वयन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा सूचना आयुक्तले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले कुनै पनि नागरिक सूचनाको हक अधिकारबाट बञ्चित हुन नपाउने बताए । उनले भने– ‘सूचना पाउने अधिकार कानूनमै व्यवस्था गरिएको छ, सूचना अधिकारीले नागरिकलाई अनुभूति हुने खालका सूचनाहरु दैनिक रुपमा प्रवाह गर्नु पर्छ ।’ ‘जुनसुकै सरकारी कार्यालयमा अनिवार्य सूचना अधिकारी नियुक्त गर्नुपर्ने हुन्छ’– उनले भने–‘सूचना नदिने सूचना अधिकारीलाई आयोगले कारवाही गर्छ ।’

‘जनप्रतिनिधिहरुले जहिले पनि जनताको पक्षमा मात्र काम गर्नुपर्ने उल्लेख गर्दै बास्कोटाले भने– ‘कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयवस्तु नागरिकको प्रत्यक्ष जीवनमा सरोकार राख्ने क्षेत्र भएकोले सोही प्रकारको काम गरेमा मात्र देशमा समृद्धिको सपना पूरा हुन्छ ।’

त्यस्तै सूचना आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए । उनले संविधानको धारा २७ बमोजिम सूचना पाउने आम नागरिकको मौलिक हक अधिकार रहेको बताए । ‘लोकतान्त्रिक पद्धतिमा सूचना अधिकारीले पारदर्शी तरिकाले आम नागरिकलाई सूचना प्रवाह गरेर मात्र नागरिकको मौलिक हक अधिकार सुनिश्चित हुन्छ–उनले भने ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेल, कानून व्यवसायी लक्ष्मीप्रसाद अधिकारी, रमेशहरि अधिकारी लगायतले सूचनाको हक प्राप्तिका विषयमा देखिएका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले सूचना र प्रबिधिलाई आम नागरिकमा पुर्याउन आफूहरु कटिबद्ध भएर लाग्ने बताए । बाबुराजा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत आयोगका सचिव मणिराम ओझाले गरेका थिए । कार्यक्रममा झापाका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी, जनप्रतिनिधिहरु, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here