लाख राशिको भानु पुरस्कार चूडामणिलाई

२५ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

काँकरभिट्टा।

झापामा २०५ औँ आदिकवि भानु जयन्ती तीन दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८, र २९ गते विविध कार्यक्रमका साथ भानु जयन्ती मनाउने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार २७ गते मेचीनगर क्षेत्रभित्रका मावि स्तरीय प्रतियोगितात्मक कवि गोष्ठी हुनेछ । गोष्ठीमा प्रथम , दोस्रो , तेस्रो र सान्त्वना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सोही दिन नगरभित्रका क्याम्पस स्तरीय प्रतियोगितात्मक कवि गोष्ठी हुने छ ।

प्रतियोगिताका पहिलो, दोस्रो ,तेस्रो र सान्त्वना हुनेले जनही नगद ५ हजार, ३ हजार, २ हजार तथा १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, २८ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कविहरुले प्रतियोगितात्मक रचना पाठ गर्ने छन् । यसमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सान्त्वनाले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक, देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालीक तथा बलिहाङको शालिकमा माल्यार्पण, प्रवचनसहित पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने छ ।

यसै वर्षदेखि विभिन्न तीनवटा प्रतिष्ठानले स्थापना गरेका पुरस्कार समेत एकसाथ प्रदान गरिने भएको छ । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज–मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पुरस्कार समेत एकै दिन प्रदान गर्ने बताइएको छ ।

यसवर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ । हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले प्रदान गर्ने नगद १ लाख १ हजार रुपैयाँ राशिको पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारको राशि नगद १५ हजार रुपैयाँसहित कदरपत्र रहेको छ । यी दुई पुरस्कार भानु साहित्यिक प्रतिष्ठानले स्थापना गरेको हो । यसैगरी ५१ हजार रुपैयाँ राशिको धनमाया—पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा सोही धनराशिको टीकाराम–जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरिने छ । धनमाया—पवित्रा स्मृति पुरस्कार कृष्ण—पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम–जानुका खरेल स्मृति पुरस्कार हेमराज—मेदनी खरेल प्रतिष्ठानले आफ्ना बाबुआमाको नाममा स्थापना गरेको हो ।

यी सबै पुरस्कारहरुका लागि प्रतिभा छनौट गर्न गठित प्रतिभा छनौट समितिको बैठकले स्रष्टाहरुको नाम सिफारिस गरेको थियो । सवै पुरस्कार आगामी असार २९ गते भानु जयन्तीका दिन प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङद्वारा प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here