राजनीति भनेको खापैखाप ठग्ने काम पनि हो र ?

0
540

व्यंग्यनारान पाँडे,

“एसबाजी हाम्रै जिल्लाका बइगुनधुरे डाग्डर युवाराज खत्तिओडाले अस्ति एई दुई हज्जार छ्यात्तर साल जेठ पन्द्र गते दशमी तिथि बुधारका दिन सम्सतमा बाचन गरेको यस बर्खको बजेटको पाठ–पाराइन तपइँलाई कस्तो लागो हओ पाँडे भाइ ?”— भन्दै, एउटी भूस खाँदी–खाँदी भरेर टुइँक्क बाँधेको अटस्मटस् दुई मने बोरा जस्ती, महिलालाई, लिएर आएइका गौंथलीको बाऊले त्यो महिलालाई कुनाको कुर्सीतिर इशारा गर्दै बस्न अह्राएर आफू मेरो नजिकैको कुर्सीमा बस्तै भने— “हुन त तपइँ बिर्दबिर्दा पनि परेनउ न एक्कल मैला र काम गरिखान नसक्नेका हन्जामै परेउ भने के जुआफ देउला र ? न त तपइँ नेपकाको कुनै कम्रेट नै होउ र राम्रो छ नै भन्छौ !”

मैले, त्यति पर बसेकी त्यो महिलाको पसिना ठस्स गनाएको महसूस गर्दै, त्यसलाई राम्ररी हेरें । त्यसले पिँडुलामा फुट्ला झैं कसिएको पेन्ट लगाएकी थिई भने माथि पनि पट्ट फुट्ला झैं कसिएको पुरुषको लामो दौरु लगाएकी थिई । त्यसको शरीर ठूलो हो कि ती कपडा साँगुरा हुन् निधो गर्न सकिएन तथापि कपडाले छोपिएको त्यसका शरीरका साना–ठूला अवयवका आकार–प्रकार कपडाले उत्ति लुकाउन सकेका थिएनन् ।

र, त्यसलाई औंल्याउँदै मैले सोधें— “यो कसलाई लिएर आउनु भयो नि दाइ ?”
उनले उपरखुट्टी लाउँदै भने— “हत्तेरिका हओ, तपइँ कस्तरी आइमाई देखेपछि तेतै हिरिक्क हुन खोज्या हँ ? तपइँलाई ग्यानगुनका कुराभन्दा आइमाईका कत्रो इन्टेस भको ? काँहाँ म हाम्रो सर्खारको बजेटले एस बर्ख बिर्दबिर्दा, एक्कल मैला, आँखामा दिस्टिकोन नभका, हातगोडामा पाओर नभका मान्छेहेरु र सर्खारी कर्मचारीको भत्ता र तलप–तन्खामा थपनी थपेर सम्बिर्दि ल्यायो । यो बर्खलाई सम्बिर्दि तेत्ति हो हए देशमा आउने । बढता आसै नगर्नु । अरु कुरा त डाग्डर खत्तिओडाको पाठ–पाराइनमा ‘म–म’ भन्र भग्वान सम्जिनुपर्ने पोरप्रार जस्तै हो हए भन्र तपइँलाई अन्डरस्टाङ्गिङ गराउँदैछु काँहाँ तपइँ क्यातितिर लम्पट हुन खोज्छौं हउ !”

मैले जर्केर भनें—“किन लिएर आउनु भो त यो ठस्स गनाउने थुम्से जस्तो आइमाईलाई मेरो घरमा ? आफ्नै घरमा लुकाएर राख्नु नि ? त्यति सोध्नु पनि… म तपाईं जस्तो लम्पट हूँ र ?”
उनले भने— “हत्तेरिका हओ मेरा भाइ, तपाइँ गोस्सा र एङ्री किन भका ? तपइँले इनलाई आँखा लायौ कि भन्र भन्या पो त तेती कुरा । भइगो, म त भामट लम्पट हुँदै हूँ केरे । एस्ता सजिला मैला देखेसि जीउभरि रोटे कमिला पसे झैं उजाति हुने मेरो बेहोरा त होल–टोट्टल नेपाल अदिराज्जे अथ्वा आज नेपकामा एक–जइन् अऔलका अऔल कम्रेटको राम्राज्जेलाई मालम छ । अनि म जस्तो लम्पटका दिस्टिले अर्हर्लाई पनि लम्पटै देख्नु त परम् सोभाभिक छैन त अनि ? एस्ता कुरामा बिभेक राखेसि रिसाइँदै रिसाइँदैन नि मेरा भाइ ।”
मैले केही भनिन ।

त्यो ढोइ महिला त कुर्सी अलिक ढल्काएर र टाउको भित्तामा अड्याएर आँखा चिम्म गरी कुन दुनियाँमा थिई कुन्नि । हाम्रा कुरासित मानो उसलाई कुनै वास्तै थिएन ।

गौंथलीको बाऊले प्रसंग जोड्दै भने— “हुन ता मसित आउने मैला जा पनि मेरै त हुन्छन् नि । तपइँले बुजेकै बात हो । गौंथलीकी मम्मी उस्को मितदाजुको पल्टने भाइसित इण्डेको सेनिमा बनाउने बम्बई शहर घुम्न गकी सातआठ बर्ख भो, घुरेकी छैन । त्यो आइमे तेता लागेर तीन्चार मैना नघुर्दाखेरिदेखुन् नै रामदुलारी मसित बस्तै एताउता हराउँदै फेरि मैसित गर्दैथी, मैले सोस्फोस् लाइदेर, सस्तैमा भनम् न, सनबन्दित अड्डाका सर्खाबसित दुईखेप सिल्गडी टुरमा गकै भरमा नागृकता किनेसि एता कम र उता उस्कै देश बेहार फरख्खाको भइँसा टोलमा बढ्ता चल्खेल गर्न थालिगई । तेस ट्याममा हाम्रै कम्रेट हरिराम पँडितकी बैला छोरी मनकुमारीमा म इन्जेक भएँ ।

तो पनि बुलु सेनिमा खेल्न धरानतिर धाउन थालेसि भट्टी हुटेले कैलु बेहारीकी साली रामप्यारीले जइले भनो तइले मेरामा पाउना खान धाउन थाली र तेसैसित छे–सात मैना म निढुंकक थेँ । मेरा खाइन्–पाइन्, इजोत र अइस–आरामीले तेस्का क्यातिमा बोसो लागो क्यार, पारि इण्डेको गलगलेबड बएलम्यान गर्न एता डेल्लीका डेल्ली धाउने एउडा भूसतिग्रे जोद्दासित टाप भइगई । तेससि म एक्कल पुरुषमा टाँचलेट भ’र गुज्रा गर्दैथेँ, भाग्गेले इ इनलाई जुराइर’छ । तर, इ चइँ पर्मानेन होलिन् । किन भन्लाउन भने, भरिसक्के नबोल्ने र अरुले बोलेको पनि नसुन्ने सारै राम्रो चलित्र रछ । हेर न कति राम्री हेमा मालिन्नी जस्तै । मैले इनको नामै हेमा मालिन्नी राखिसक्या छु । जीउ–डाल हेर न कस्तो काँच्चै खाउँ जस्तो । इनको सप्पै केजाति फस्किलास छ । तपइँलाई पनि मुनपरो होइन्त ? तर, के गर्छौ जोजन मिलाउने र जुराउने भाग्गे रछ, मलाई जुरो–तपइँलाई जुरेन ।”…

मैले सोधें— “तपाईं जस्तो फुकिढल बयोवृद्धको भाग्यले कहाँबाट जुरायो त यो गुजराँती भैंसी जस्ती जोडी, हँ दाइ ?”
उनले उनकी हेमातिर हेरे र प्रशन्न भएर मतिर हेर्दै भने— “हन अस्तिको सन्सरबार मसित आका दोर्जेलिङका दोडा केटाहर्सित उनेरको आको साथीको भिनाजुकी मोटी दिदी पनि छे भन्थेनन् ? तिनै हुन् यी हेमा ।”
मैले फेरि सोधें— “ती केटाहरुले यसलाई चाहिँ छोडेर गए ?”

उनले भने— “मेरो पन्द्र सहे रुप्पे चोरेको अभ्योगमा थुनाउँछु भन्र थर्काएसि ती के टिक्थे मेरा समच्चे ।”
मैले भनें— “हन तपाईंलाई दया लागेन तिनको ? अघिल्लो राती तिनै गरीब परदेशी विचराहरुका खल्ती खलास गराउने र भोलिपल्ट बेखर्ची बिचराहरुलाई त्यसो गर्ने हो त ?”

उनले भने— “तिनलाई पुग्दो बाटाखर्ची हातमा हाल्देरै पठाएँ नि मैले । इ इनै हेमाको नाकको फुली बन्दक राखेर साँडे छ सहे रुप्पे आइरथ्यो कि अन्तखेरी तेसबड दुई सहे खाइखर्च मैले राखेर चाइन्जो साँडे चाससहे ख्याप्प हातमा हाल्दिया हूँ । गरीलाई तेस्सै धपाउने त हाम्रो पाटीको सिधान्तले नै दिंदैन नि हओ पाँडे भाइ । एस्ता कुरामा हामी कट्टर पो छौं त ।”
मैले भने— “नापियो कट्टर भएर ! त्यसदिन तपाईंको पन्ध्र सय रुपैयाँ चोरी भएको थियो र ?”

उनले किच्च दाँत देखाउँदै भने— “के चोरी हुन्थ्यो, मसित एकै कन्चो पनि थेन भन्र तेसै दिन भन्या थिन र मैले ? मैले रानीतिक खेल्या मात्तै ।”

मैले भनें— “त्यस्तो पनि राजनीति हुन्छ ?”
उनले सहजै भने— “केइ पाउनु छ भने हामी ती तेस्तो राजनीतिक पनि खेल्छौ क्या भाइ । राजनीतिकमा जे गरे नि हुन्छ रछ भन्ने अब त बुज्यौ नि तपइँले पनि पस्टसंगले । तडिका र ट्याउटिस् मिला’र चइनेकेरे आफ्नु हात माथि पार्नु र आफ्नो हुँदो गर्नु नै राजनीतिकको पोल्टिस गर्नु हो भनने सिधान्तमा हामी सारै नै च्याम्पेन छौं क्या पाँडे भाइ । मुखमा रामराम–बगलीमा छुरा हामै्र पारा र तडिकालाई भन्या हो । कसैले मुन पराओस् कि नमुन पराओस् हामीलाई नो मतलप !”…

उनको लिचढ्याइँले मलाई थकायो र केही नभनी म सोच्न थालें— “यस्तो ठगाईमाथि ठगाई पनि राजनीति हो र ?…हो पनि कि !”…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here