चिहानसँग बिहे !

२५ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

सुनिताको रुपरङ्ग देखेर शहरका महिलाहरुले कानेखुशी गरे– “होइन यो सुनितेले त विहे नै नगरी पो सिउँदोमा सिंदुर र गलामा पोते लगाइ त !” कसैले थपे– “गरी होली नि त कसैसँग कुम्ले विहे ।” कसैले थपे– “सुटुक्क मन्दिरमा बिहे गरे होलान् नि त ।” फेरि कसैले थपे– “होइन हामीलाई थाहै दिन नहुने, कस्तो बिहे हो ? कस्तासँग बिहे गरी त सुनितेले ?” कसैले थपे– “बिहे खर्च जोगाएकी होली नि । हामीले कति न भतेर खाइदिउँदाला जस्तो ।”

सुनिताको अचानकको त्यो रुप देखेर शहरका टोलका महिलाहरु अचम्ममा परे । अरु अचम्म त सुनिताकी आमा पो परिन् । आपूmले छोरीको बिहे नै गरिदिएको छैन अनि छोरी त विवाहित महिलाले जस्तै सिंदुर पोते पो लगाएर हिँड्न थालि त । “यो के तमासा हो छोरी ! दुनिया हँसाउने ? समाजले नपचाउने यस्तो के गरेकी तैँले । को सँग बिहे गरिस् ? मलाईसम्म भन्न नहुने अनि देखाउनै नहुने कस्ता ज्वाइँ हुन् ती ?” आमाको जिज्ञासा र केरकारमा सुनिताले भनिन्– “आमा यसमा एउटा कथा छ ।”

“कस्तो कथा हो त्यस्तो ?” आमाको प्रश्नमा सुनिताले सुनाइन्– “जब म स्कुलमा कक्षा आठमा पढ्दथेँ । हाम्रो कक्षामा एक नयाँ विद्यार्थी टाढाबाट भर्ना हुन आयो । उसलाई कक्षाका साथीहरुले नयाँ भनेर खुब हेप्दथे र उल्याउँथे तर मलाई भने त्यस्तो हर्कत मन पर्दैनथ्यो । म उसलाई सहयोग गर्दथेँ ता कि उसलाई कक्षामा बस्न, पढन सहज वातावरण बनोस् । मेरो सहयोगी व्यबहारले उसमा म प्रति आत्मियता बढ्दै गयो । उसका हरेक कुरा मलाई शेयर गर्न पनि थाल्यो ।
कक्षाका साथीहरुमा नयाँ विद्यार्थीप्रतिको व्यबहारमा कति पनि परिवर्तन आएन । साथीहरु उसलाई नराम्ररी जिस्क्याउँथे । म भने– “टाढाबाट हाम्रो विद्यालयमा पढ्न आएको छ, ऊ त हाम्रो अतिथि हो, अतिथिलाई यसरी दुव्र्यबहार गर्नु हाम्रो नैतिकताले कसरी दिन्छ् ?” भन्दथेँ । तर, साथीहरु त सरहरुले सम्झाउँदा पनि मान्दैनथे । उसको असहायपनमा मेरो सपोर्टले म प्रति उसको मनमा माया पलाउन थाल्यो । साथीहरुले उसलाई नानाभाँती भनेर जिस्क्याउँदा मेरो मन साह्रै दुख्थ्यो । कताकता म पनि ऊ प्रति थाहा नपाइ ढल्किँदै गएछु ।” आमाले अनायासै सोधिन्– “थैट् अनि ?”

“उसले हाम्रो स्कुलमा एसएलसीसम्म पढ्यो र एसएलसीको जाँच दिएसँगै ऊ आप्mनै गाऊँ फर्केर गयो र कलेज अर्कै शहरमा पढ्न थाल्यो । यसबीचमा हामीले भगवान साक्षी राखेर एकअर्का सँगै बाँच्ने सँगै मर्ने बाचा गरिसकेका थियौँ । हाम्रो सम्बन्ध प्रेममा बदलिसकेको थियो । पढिसकेर हामी एकअर्का आप्mनै खुट्टामा उभिन सक्ने भएपछि एरेञ्ज विवाह गर्ने योजनामा थियौँ ।”

“आम्मम अनि किन भनिनस् त ?” –आमाले सुनितालाई सोधिन् । “कसरी भन्नु त जब भन्ने मौकै नरहेपछि”, सुनिताले जवाफ दिइन् । “कसरी भन्न सकिनस्, के अप्ठेरो भो र त्यस्तो ?” आमाले सोधिन् । सुनिताले लामो स्वास तान्दै भनिन्– “उसको एक्सिडेन्ट भयो आमा !” “ओ हो, अनि ?” आमाले आत्तिदै सोधिन् । “अनि के हुनु नि आमा ! उसले मलाई छाडेर गयो, ऊ भगवानको प्यारो भयो ।” छोरीको जवाफ सुनेर आमा अवाक भइन् । आमा छोरी निकैबेर मौन भए । मौनता तोड्दै आमा बोलिन्– “अनि यो के गरेकी त तइँले, सिंदुर पोते आदि इत्यादि ?”

लामो स्वास् तान्दै सुनिताले भनिन्– “मैले उसलाई बिर्सन सकिन आमा ! फेरि सम्भेmँ, अब ऊ मरी नै सक्यो भने किन उसलाई सम्झेर जीवन बर्बाद गरिरहुँ ? त्यसरी मैले उसलाई बिर्सन हर कोशिस गरेँ तर सकिन । अनि एक रात ।” सुनिता रोकिइन् । “एक रात के त ?” आमाको आग्रहमा सुनिता फेरि बोलिन् “ऊ मेरो सपनामा आयो र भन्यो ।” “के भन्यो ? छिटो भन्न ।” आमाको कौतुहलतामा सुनिताले भनिन्– “उसले सपनामा भन्यो, सुनिता ! मैले तिम्रो सिउँदोमा सिन्दुर भरिदिन सकिन । मैले तिम्रो रहर पूरा गर्न सकिन । तिमीले आपूmलाई के यस्तो हालत बनाएकी सुनिता ? मलाई माफ गरिदेऊ ।” “हो र, त्यसै भन्यो ?” चकित पर्दै आमाले सोधिन् । “त्यसपछि त आमा ! मैले उसलाई झनै बिर्सन सकिन र अठोट गरेँ ।” “कस्तो अठोट् छोरी ? भन् छिटो ।”

सुनिताले एक गिलास पानी पिइन् अनि भनिन्– “मैले बजारमा एक बट्टा सिंदुर किने अनि पोते ।” आमा ट्वाल्ल परेर सुनि रहिन् । “अनि म उसको गाउँनेरको खोलाको बगरमा पुगेँ जहाँ उसको अन्तिम संस्कार गरिएको चिहान थियो ।” “अबुइ अनि के गरिस् त त्यहाँ पुगेर ।” डराउँदै आमाले सोधिन् । “मैले त्यो सिंदुर उसको चिहानमाथि रहेको ढुंगामा पोखेँ ।” आमाले जिब्रो टोकिन् र सोधिन्– “अनि ?” “अनि ढुङ्गा उठाएर त्यो ढुंगाको सिंदुर मैले मेरो सिउँदोमा लगाएँ । पोते चिहानमा राखेँ र फेरि उठाएर लगाएँ ।” आमा लामो श्वास तानेर हेरेको हे¥यै भइन् । “त्यसरी मैले उसँग विहे गरेँ आमा !” सुनिता आमाको काखमा घोप्टो परेर सुँक्सुँकाउन थालिन् । आमा चाहिँ टोलाइरहिन् आकाश हेर्दै ।

धेरै बेरपछि आमा बोलिन्– “यस्तो पनि कहीँ बिहे हुन्छ त ? संसारमै नभाको । अब के जीवन भर यसरी नै जीउँछेस् त ? समाजले के भन्छ ?” सुनिताले मुन्टो उठाइन् र भनिन्– “हो म पनि यही प्रश्न गरिरहेकी छु आमा ! समाजको प्रश्नमा मेरो उत्तर यही हुनेछ ।” “के हुनेछ तेरो उत्तर छिटो भन्” आमाले कर गरिन् । “बिहे यस्तो पनि हुन्छ अनि बिहे यसरी पनि गर्न सकिन्छ भन्न तयार छु समाजलाई । ए समाज ! तेरो जड मान्यतामा अब खिया लागिसक्यो । अफाल तेरो कुही सकेको परम्परालाई काखी नच्याप र खोल्दे ढोका नयाँ युगको र नारीहरुको परम स्वतन्त्रताको ।”

“मैले त केही बुझिन् छोरी तेरो कुरा ।” “ठीकै हो आमा ! तपाईको समाज र जमानाले यस्तो कुुरा बुभ्mन सक्दैन । ऊ मेरो साथ नभए पनि उसको सिंदुर मेरो सिउँदोमा रही रहने छ । कुरा इच्छाको हो । सवाल स्वतन्त्रताको हो । समाजले यस्तोलाई सम्मान गर्न जान्नु पर्छ र जान्दै जानेछ भन्ने मेरो विश्वास छ ।”

“ठीकै होला तेरोलागि तेरो कुरा । तेरो कुरा तेरो जमानाको लागि सही होला तर समाज तँ एक्लैले परिवर्तन गर्न सक्ने कुरा होइन त !” सुनिताले आमाको दुबै हात समातिन् अनि भावुक मुद्रामा भनिन्– “मेरी प्यारी आमा ! आमा भने पनि बाबु भने पनि तिमी नै त हौ मेरो अभिभावक । एउटा कुरा छ आमा ।” “भन्न त छिटो, के छ तेरो एउटा कुरा ?”

आमालाई अँगाल्दै सुनिताले भनिन्– “उसको नाशो मेरो पेटमा छ आमा !” “हँ, आच्च्या, लाज नभएकी !” “हो आमा ! उसको नाशो मेरो पेटमा । समाजकै लोकलाजका लागि मैले बिहे गर्नु परेन त अनि । चाहे फरक किसिमको बिहे नै किन नहोस् ।” आमा चाहिँ अवाक भइन् । सुनिताले फेरि भनिन्– “म चाहन्छु मेरो बच्चामा उसको केही गुण सरेर आओस् । मेरो नानी हेरेर नै मैले उसको झझल्को मेट्न पाउँ ।” सुनिताकी आमाले भनिन्– “हत्तेरी के आई लाग्यो यस्तो ?”

सुनिता विश्वास साथ भन्छिन्– “समाजको सोचाईको फम्र्याट अनुसार मैले अर्को बिहे गरुँला तर जब म मरेर गएका प्रेमीलाई नै सम्झिरहन्छु भने मेरो नयाँ लोग्नेलाई जीवनभर धोका हुन्छ । त्यसैले म झुठो बिहे गर्न चाहन्न । त्यसैले म मेरो निर्णयमा अडिग छु । कसैलाई धोका दिनु, ढाँट्नु भन्दा एकल भएर जीउनु नै उत्तम तरिका हो । यो पनि वैवाहिक जीवनको एक उत्कृष्ट फम्र्याट हो ।”

आमा छोरी अँगालोमा एकै डल्लो परे धेरै बेरसम्म । छोरी आप्mनो प्रेमीको सम्झनामा रोइरहिन् अनि आमा आप्mनी छोरीको अवस्थामा । शहरको कुनै बैंकको सुरक्षा गार्डले टङ्टङ् पारेर रातको बाह्र बजेको घण्टी बजायो ।
मिरमिरेसँगै शहर बिउँझियो । गल्ली, सडकहरुमा अटो र मोटरहरु कुद्न थाले । आमा–छोरी आँखा मिच्दै उठे । आमा छोरी आज निकै खुशी देखिए । दुबै मिलेर भात तिहुन पकाए, मीठोमानी खाए र अटो चढेर हस्पिटलतिर लागे । सुनिताको स्वास्थ्य जाँच गर्न । सुनिताले नानी जन्माएपछि समाजले के प्रश्न गर्दो हो ? आमा छोरीलाई ब्यग्र खुल्दुली लागेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here