सामुहिक सम्वाद र जनअपेक्षा

0
617

संवाद समूह झापाको संयोजनमा शुक्रबार बिर्तामोडमा भएको छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले स्थानीय सरकारलाई सुझाव दिएका छन् । झापामा रहेका पन्ध्र स्थानीय तहमा स्थानीय सरकारले नीति र कार्यक्रम बनाउँदा र बजेट विनियोजन गर्दा गम्भीर हुनुपर्नेमा उनीहरुको जोड थियो । गाउँमै सिंहदरवार पु¥याउने सरकारको लक्ष्य र संविधानको प्रावधान अनुरुप गठन भएका गाउँपालिका र नगरपालिकाहरुले उत्पादनमुखी कृषि, उद्योग, सिपमूलक शिक्षा, विश्वासयोग्य स्वास्थ्य सेवा र रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरुको सुझाव छ ।

नेताहरुले सुझाव दिन्छन्, लिनुपर्नेहरुले कति र कसरी लिन्छन् त्यो व्यवहारले देखाउला ! तर हामीकहाँ पण्डित्याइँ देखाउन मात्र काम लाग्दै आएको छ । अर्थात् सुझाव कोही मान्नेवाला छैन, सुझाव दिने नै कार्यान्वयनको तहमा पुग्दा आफूखुशी चलेका दृष्टान्त धेरै छन् । यस्तोमा सबैलाई एक ठाउँमा भेला पारेर समग्र विकासका लागि हातेमालो गर्नु उत्प्रेरित गर्ने कार्यक्रम सकारात्मक रहँदा–रहँदै पनि कार्यान्वयन र परिणामले मात्र यसको महत्वलाई पुष्टि गर्नेछ । झापाका विभिन्न स्थानीय निकायहरु विभिन्न दलका प्रतिनिधिहरुको प्रतिनिधित्व छ । विचार फरक भएर पनि सबैको मूल ध्येय स्थानीय तहको भौतिक, आर्थिक र समष्टिमा सर्वाङ्गीण विकास नै हो ।

छलफलमा सुझाइएका युवा लक्षित कार्यक्रम, पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, दीगो विकास, गरिबी न्यूनीकरण लगायतका महत्वका कुरा सबैका साझा विषय हुन् । यी सबैको उचित सम्बोधनले स्थानीय तहको आवश्यकता पनि पूरा हुनसक्छ । त्यसका लागि योजना, कार्यान्वयन स्पष्ट हुनुपर्छ र जिम्मेवार प्रतिनिधिले पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्छ ।

अहिले जिल्लाका कतिपय स्थानीय तहमा विवाद र द्वन्द्व बढेको छ । मत, अल्पमत र बहुमतको नाममा हुने कुनै पनि विवादले स्थानीय तहकै समृद्धिमा अवरोध ल्याउँछ । विकास सबैको चाहना हो त्यसैले स्थानीय तहका प्रमुख वा जिम्मेवार प्रतिनिधिहरुले सबैको भावनालाई समेटेर विज्ञ समेतको सल्लाह–सुझावका आधारमा आवश्यकताको पहिचान गर्दै बजेट नीति र कार्यक्रम सार्वजनिक गर्नुपर्दछ ।

निर्वाचनका समय विचार, वाद र सिद्धान्तले विभाजित दलहरु आफ्नो तहको चौतर्फी विकासमा, एकीकृत हुनुपर्दछ । त्यसो भयो भने आवश्यकता पहिचान गर्न, त्यसलाई प्राथमिकता दिन, योजना, कार्यक्रम, नीति र बजेट बनाउन सहज हुन्छ । त्यसका लागि खासगरी सरकार–प्रमुख तथा जिम्मेवार जनप्रतिनिधिहरुमा उदारता, निष्पक्षता र जवाफदेहिताको भावना हुनैपर्छ । हिजोका विमतिहरुलाई बिसाएर हार्दिकतापूर्वक भिन्न विचारहरुलाई समेत विकासको प्रवाहमा समाहित गर्दै व्यापक जनसहभागिता जुटाउनुपर्छ । संवाद समूहको छलफल, अन्तरक्रिया र संवादले त्यस दिसातर्फ जिम्मेवार जनप्रतिनिधिहरुलाई डोहो¥याउन सके जनताको अपेक्षाले पूर्णता पाउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here