पत्रकारिताको विश्वसनीयताभित्रको समाज

२६ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

पूर्णबहादुर कटुवाल,

भनिन्छ, ‘पत्रकार राज्यको चौथो अंग हुन्, पत्रकारिता समाजको ऐना हो ।’ पत्रकारिताको माध्यमबाट समाजको सकारात्मक रुपान्तरण हुन्छ । समाजका विकृति र विसंगतिलाई वाहिर ल्याएर राज्य संयन्त्र, आम नागरिक र समाजको त्रिपक्षीय विश्लेषण गरी सुधारतर्फ सचेत गराउनु पत्रकारिताको धर्म हो । तर, आज पत्रकारिताले राज्यको चौथो अंगको रुपमै आफूलाई स्थापित गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । यही विश्लेषणका माध्यमबाट पत्रकारिताले सामाजिक समस्यालाई उजागर गर्दै परिवर्तनको बाटोमा अघि बढाउन निकै कठिन अवस्था सिर्जना भएको हो ।

केही समययता पत्रकार र पत्रकारिताको आोजमा नकारात्मक प्रभाव पर्दै गएको छ । यो तथ्यलाई विभिन्न सामाजिक सञ्जालदेखि सबै किसिमका सञ्चारमाध्यमसम्मका खबर र टीका–टिप्पणीले छर्लङ्ग पारेको छ । पत्रकारिताको जिम्मेवारी र कर्तव्यलाई सम्बन्धित पक्षले नै सही रुपमा ग्रहण गर्न नसक्नु यसको परिणती हुन सक्छ । पत्रकारिताको धर्मलाई समाजको यथार्थ र वस्तुपरक तथ्य बनाउन सकिएन वा पत्रकारितालाई कुण्ठा र विद्धेषसँग जोडियो जसले यसलाई बदनाम बनाउने काम गरिरहेको छ । विसंगति, विकृति, अन्याय र भ्रष्टाचारका विरुद्धमा उभिएर आफ्नो ओजलाई अझ तेज बनाउनुपर्ने हाम्रो पत्रकारिता आलोचित बन्दै जानु शुभ संकेत होइन । पत्रकारिताको महत्व र कर्तव्यलाई हामीले बुझ्न सकेनौं वा गलत ठाउँमा प्रयोग गरिरहेका छौं, यसलाई गम्भीरताका साथ लिनुपर्छ । पत्रकारिताको बदनाम त्यतिबेला हुन्छ । जब समाज रुपान्तरणको नाममा गलत गतिविधिका संवाहक चक्रियरुपमा सक्रिय बन्दछन् र सिङ्गो परिवर्तनलाई आफ्नो पक्षमा पार्न खोज्दछन्, यस्तो संक्रमण र असहज परिस्थितिमा पत्रकारिता साधनका रुपममा उभिन सक्नुपर्छ ।

हरेक समाज रुपान्तरण र अग्रगमनको पक्षमा हुन्छ, त्यसलाई सही मार्गमा डोर्याउन पत्रकारिताले मद्दत गर्न सक्नुपर्छ र प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनजीविकाको पक्षमा अघि बढ्न सक्नुपर्छ । यस्तो परिवेशमा वर्गीय हितको विरुद्धमा रहेका र प्रतिगमनकारी शक्तिका विरुद्धमा पत्रकारिता उत्रिनसक्नुपर्छ । तर, हाम्रो पत्रकारिताले यो सन्देश दिनको बदला द्वैध चरित्र देखाइदियो भने पत्रकाकारिता चक्रव्यूहमा फस्न सक्छ । जसले सामाजिक द्वन्द्व, विखण्डन र विद्धेष फेलाउन सक्छ । यो सबै पक्षका लागि हानिकारक हुनसक्छ ।

तर, अब पत्रकारिताको लागि नैतिकता र इमान्दारिता चाहिएको छ । यो इमानदारिता, सत्य, निष्ठा र आदर्शले पत्रकारिताको विरुद्धमा औंला ठड्याउने बाटो आउनु हुँदैन । लोकतान्त्रिक पद्धति र दलीय व्यवस्थाभित्र पत्रकारिताले अत्यन्त सम्यमता, समभाव र समदर्शिताको दृष्टिकोणबाट अघि बढेमात्र सकारात्मक सन्देश दिन्छ समाजलाई । यहीभित्र अटाउन नसक्दा पत्रकारिता द्वन्द्वमा फस्दै गएको र पीत पत्रकारिता भनी आलोचित समेत बन्दै गएको समाचार सम्प्रेषित हुन थालेका छन् ।

पत्रकारको कर्तव्य, पत्रकारिताको धर्म र आचारणलाई आजको पत्रकारिताले बिर्सन थालेको छ । पत्रकारिता समाज परिवर्तनको वाहक हो । यसले आम नागरिकको विश्वास जित्न सक्नुपर्छ । घटना र सत्य तथ्यबीचको तादात्म्य पत्रकारिताको मूल मर्म हो भन्ने कुरालाई वर्तमानको पत्रकारताले बिर्सेको अनुभूति भइरहेको छ । जसले समाज परिवर्तनका लागि आफ्नो ज्यानको जोखिम मोलेर भए पनि सही सूचना सम्प्रेषण गरी आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने हो, त्यो हुन सकिरहेको आभाष छैन । केबल पत्रकारिता चाहे छापा होस् चाहे विद्युतीय, सस्तो लोकप्रियता, कपोलकल्पित घटनाको संवाहक र यथार्थ परक घटनाको विमूख दौडिएको छ । अफवाहको घोतक बन्दै गरेको अनुमान आम पाठक र सर्वसाधारणहरुले गर्दै आएका छन् ।

हिजो र आजको पत्रकारितामा आमूल परिवर्तन भएको छ । व्यवसायिक पत्रकारिताबाट अघि बढ्दै गरेको परिप्रेक्षमा यसले आफ्नो ट्रयाकमा बाटो बिराएको अवस्थालाई नकार्न सकिँदैन । सिमित स्रोत साधनबाट जन्मेको पत्रकारिता आज विश्वव्यापिकरणका कारण धेरै फराकिलो भएको छ । पत्रकारिताले जन्माएको आचारसंहिता आज संकटमा परेको छ । घटनालाई सही तरिकाले उठान गर्ने, सत्यतथ्यको नजिक पुगेर घटनाको ब्याख्या, विश्लेषण गरी जनमानसमा पस्किने परम्पराले पत्रकारितालाई विश्व रंगमञ्चमा ठूलो उचाइमा पुर्याएको इतिहास छ । पत्रकारिताकै महत्वपूर्ण देनका कारण निरंकुश राज्यव्यवस्थाको अन्त, आम नागरिकलाई वास्तविकताको यथार्थ बोध र सुसुचित गराउँदै सामाजिक, आर्थिक, धार्मिक सांस्कृतिक एवम् समाजका हरेक इकाईमा समयानुकूल परिवर्तन गराउँदै पत्रकारिताले नै विश्वलाई अत्याधुनिक युगमा प्रवेश गराएका इतिवृतान्त हाम्रासामु छर्लङ्ग छन् ।

जुनबेला विज्ञान र प्रविधिको यति धेरै विकास भइसकेको थिएन । निरंकुश राज्य व्यवस्थाको अन्त्य, सामाजिक परिवर्तनको संवाहक, औद्योगिक विकासको मेरुदण्ड, शैक्षिक चेतनाका माध्यमबाट आधुनिक समाजको निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै अएको पत्रकारिता जति छिप्पिँदै गयो त्यति नै अपरिपक्क हुनु पत्रकार, पत्रकारिता र यसलाई निर्देश गर्ने नियमन निकायको लागि गम्भीर चुनौतिको विषय बनेको छ । २१औं शताब्दीको पत्रकारिता केबल हाँसीमज्जा, समाजमा अफवाह र त्रास फैलाउने स्रोतका रुपमा मात्र परिचित हुन खोज्नु कति दुःखदायी र लज्जास्पद होला ? चिन्ताको विषय बनेको छ ।

वर्तमानको पत्रकारिताको गतिविधिलाई समाजले राम्ररी नियाल्न थालेको छ । पत्रकार र पत्रकारिताका गतिविधिलाई समाजका हरेक सचेत सदस्यले टिठ्याउन थालेका छ । आजको समाजका नागरिक व्यावसायिक पत्रकारिता नभए पनि पत्रकारिताका माध्यमबाट निर्वाह गरिनुपर्ने कुनै न कुनै धर्मभित्र त्यो नागरिक पनि संलग्न छ, यस कारणले घटना, यथार्थ र वास्तविकताको नजिक समाज पनि पुगेको तथ्यलाई नकार्न मिल्दैन । पत्रकारिताले समाजमा के दिइरहेको छ ? दिनुपर्ने के हो ? भन्ने प्रश्नको जवाफ पत्रकारले मात्र होइन, २१औं शताब्दीका धेरै नागरिकले दिन सक्ने अवस्था रहेको छ । यसको अर्थ अघिल्ला दिनमा पत्रकारिताले समातेको बाटोको अनुगमन अब समाजले गर्न सक्ने स्थितिमा छ ।

त्यसैले हाम्रो पत्रकारिता भ्रामक हुनुहुन्न, पत्रकारिता आचारसंहिता विपरीत हुनुहुन्न, नागरिक समाजको आँखामा कालो चस्मा छ भन्ने सोचिनु हुन्न, यो त उचाइमा उठ्नुपर्छ, समाजभन्दा एक कदम अगाडि दौडिएर समाजलाई सही बाटोमा डो¥याउन सक्नुपर्छ । केबल आर्थिक प्रलोभनको झुण्ड, व्यक्तिवादी चरित्रको संवाहक, निश्चित सञ्चारमाध्यमको सिन्डीकेट हुनुभन्दा आम नागरिकको साझा विम्व हुन नसक्ने हो भने भोलिको पत्रकारिता अफवाह र झुण्डको खेतीवाहेक केही हुन सक्दैन ।

नेपालको सन्दर्भमा हेर्न हो भने २०४६ र २०६२÷०६३ को परिवर्तनपछि मुलुकको पत्रकारिताले ठूलो फड्को मारेको छ । सञ्चारमाध्यमको गुणात्मक पक्षभन्दा परिणात्मक पक्षले उल्लेख्य विकास गरेको छ । तर, लोकतान्त्रिक गणतन्त्र नेपालको घोषण भएयता मुलुकको आमूल परिवर्तनको लागि पत्रकारिता र यहाँका सञ्चारमाध्यमले जुनरुपमा भूमिका खेल्नुपर्ने हो त्यो हुन सकिरहेको अवस्था छैन । स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक संविधान निर्माणदेखि मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, बौद्धिक, सांस्कृतिक सवालमा जति विषयवस्तु उठान गरी अग्रगमन समाज निर्माणमा भूमिका खेल्नुपर्ने थियो । हाम्रो पत्रकारिताले अपेक्षित रुपमा त्यो गर्न सकिरहेको छैन ।

सायद हाम्रो पत्रकारिता दलीय दल–दल, व्यक्तिवादी प्रवृत्ति र अनूकूल जोड–घटाउको भूमरीमा फँसेर, आफ्नो ओजलाई त घटाएन ? यसको विश्लेषण पत्रकारले होइन, पत्रकार र पत्रकारितालाई दिशानिर्देश गर्ने निकायले गम्भीर ध्यान दिनै पर्छ । अहिले हाम्रो पत्रकारिता दिनानुदिन आलोच्य बन्दैछ, हामीले उठाएका विषयवस्तु चियागफका चुस्की बन्दैछन् । हामी कहाँ चुक्यौ, हाम्रा छापाका सञ्चारमाध्यम, हाम्रा विद्युतीय सञ्चारमाध्यम, हामीले बनाएका पत्रकार सदस्यहरु र हामीले सञ्चालन गरेका मिडिया हाउस नै पत्रकारिताको आचारसंहिता विपरीत त चल्दै छैनन् ? हामीले सम्प्रेषण गरेका समाचार तथ्यमा आधारित छैनन् ? हामीले सम्प्रेषण गरेका समाचारले समाजको एक व्यक्ति वा वर्गलाई माथि उठाउने र अर्कोलाई दल–दलमा भसाउने काम त गरेको छैन ? हामीले सम्प्रेषण गरेका समाचार समाज रुपान्तरणको साधन हुनुको अलावा वाधक त भएको छैन ? यसलाई सञ्चार र पत्रकारिताको नियमन गर्ने उपल्लो इकाइले विश्लेषण गर्नैपर्छ, यदि पत्रकारिताको उचाईलाई जीवन्त राखेर समाजको दर्पण बन्नुुछ भने ।

सूचना सम्प्रेषणको प्रविधि अत्यन्तै छिटो भएको छ । प्रतिसेकेण्ड लाखौ सूचना सम्प्रेषण गर्न सकिने प्राविधिको विकास भएको छ । यही छिटो र द्रुत प्रविधिको विकाससँगै छिटो सूचना सम्प्रेषण हुने कारणले सूचना र समाचार तथ्यहीन र वास्तविकताको नजिक नहुने गरेका छन् । अझ अनलाइनमा अपडेट गरिएका सन्देश होडवाजीका कारण भ्रामक बन्ने गरेका छन् । समाजमा भ्रम छर्ने माध्यम बन्दै गएका छन् । जसले सञ्चार र सूचनाको विश्वसनियता घट्दै गएको छ । समाजमा अफवाह छरिएका कारणले हाम्रो पत्रकारिताप्रतिको वितृष्णा बढ्ने निश्चित छ । त्यसैले यसतर्फ प्रत्येक मिडिया हाउस र सिङ्गो पत्रकारिता जगतको नियमन निकाय सतर्क हुनुपर्ने बेला आएको छ ।

प्रविधि र पत्रकारिताबीच तालमेल भइरहेको छैन । सञ्चार सम्प्रेषणका नाममा द्रूत प्रविधिको दुरुपयोग भइरहेको पक्षलाई समेत नकार्न मिल्दैन । पछिल्लो समयमा विकास भएका सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा आइरहेका सन्देश र घटनाले समाजलाई सहजतातर्फ होइन, असहजतातर्फ धकेलेको छ । पत्रकारिता र सञ्चारमाध्यम प्रविधिको विकाससँगै डर र त्रासको कारकतत्व बनेको छ, आखिर यो किन हुन्छ । जिम्मेवार पक्षको निस्कृयताका कारण संकटमा पर्दै गएको पत्रकारिता बचाउने प्रयास गरिएन भने यसले निम्त्याउने परिणाम खतरा हुनसक्छ । पत्रकारिता र सञ्चारमाध्यममा हावी हुँदै गएको बेथिती मौलाउँदै गयो भने समाज रुपान्तरणको साधन गुमराहमा पर्ने निश्चित छ ।

तसर्थ, पत्रकारिता र यसको कर्तव्यलाई अफवाह वाहकको तत्व नबनाई समाजको सत्यतथ्य र भरपर्दो पहरेदारका रुपमा स्थापित गर्न अपरिहार्य छ । परिभाषाभित्र सञ्चार क्षेत्र अटाउन सकेमात्र पत्रकारिताले सिङ्गो समाजको विश्वास जित्न सक्छ तबमात्र राज्यको चौथो अंग बन्न सक्छ समाजको दर्पण बन्न सक्छ र पत्रकारिताको विश्वसनियताभित्र समाज अटाउन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here