नेताज्यू ! मुलुक कता जाँदैछ ?

0
527

नरेन्द्र ढकाल,
विकासका नारा घन्किरहेको छ । देशले फड्को मार्ने क्रम जारी छ । तर, मुलुक कता जाँदैछ ? गम्भीर प्रश्न खडा भएको छ । १० वर्षे सशस्त्र युद्धपछि करिब एक दशक कै हाराहारीमा मात्रै जनताले नयाँ संविधान त पाए । तर, त्यो संविधान कतै जनताभन्दा नेतामुखी त बनेन भनेर सर्वत्र विश्लेषणा हुन थालेको छ । कुनै दलगत नेताहरुले चाहे जस्तो संविधान नबनेकाले काले–काले मिलेर खाँउ भाले भने झैं सहमतिको दस्ताबेजको रुपमा आएको संविधानले नागरिकलाई सर्वोच्च मानेको छ । त्यही संविधानले दिएको अधिकारबाट जननिर्वाचित भएको नेताहरु आज कुन हैसियतमा छन् अनि उनीहरुले मुलुकलाई कता लैजादै छन् यो बहसको विषय जरुरी छ ।

मुलुकको संविधानको दलको दस्तावेज त बनेन । तर, त्यो संविधानले छोटे राजाहरु जन्माएको आभाष हुन थालेको छ । जनतालाई सर्वोच्च निकाय बन्नेहरुले आफू सवार हुँदा सडकमा कफ्र्यु लगाएको आभाष हुन थालेको छ । आकाशमा उड्दा घण्टौंसम्म हवाईजहाज मैदानको प्रतिक्षामा चिल र कागहरु उडे झैं उडिरहन्छन् । यसले कतै छोटो राजाहरुको हैसियत प्रदान गरेको छैन । एक जना नेताको सुरक्षामा सयौं प्रहरी परिचालन गरेर के सिकाउँदैछौ ? यसले जनतालाई के सन्देश दिँदैछ एक पटक सोच्न जरुरी छ । विश्वका केही देशहरुमा अपराधी नहँुदा जेल खाली हुने अवस्थामा पुगेको भन्दै गर्दा नेपालमा हत्या र हिंसाले उधुम मच्चाएको आभाष हुन थालेको छ ।

जनताबाट निर्वाचित नेताहरु किन डराउने ? आखिर कोबाट असुरक्षा छ नेताहरुलाई ? यो खोजीको विषय छ । हिजो मतदानमा जुन मतदाताले मत दिएर जितायो आज त्यही मतदान निर्वाचित व्यक्तिसँग सन्तुष्ट छैन आखिर कारण के हो ? यो गम्भीर विषय बन्दैछ । नेताहरुले यस्ता सबैकुरा बुझेर नै आफ्नो सुरक्षामा राज्यका सुरक्षाकर्मीहरु व्यक्तिको सुरक्षामा खटाइरहेका छन् । देशको स्वाधीनताको विषयमा नेताहरुको बोली बन्द भएको छ ।

यहाँ रातारात सीमाहरु मिच्नेक्रम जारी छ । झापामा नै हेर्ने हो भने बेलुका सुत्दा नेपाली भएको बिहान भारतीय बन्नुपरेका कतिपय घटनाहरु ताजै छ । हिजो युद्धका समयमा भारतलाई विस्तारवादी भन्ने कमरेडहरुको अहिले बोली बन्द भएको भने जीवनशैली आकाश जमिनको फरक पाइएको छ । बन्दुक बोकेर परिवर्तन खोज्नेहरु आज भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । तर, कमरेडहरुले खोला तर्नु भयो र लौरो बिर्सनुभयो । यसले मुलुकलाई कता लैजाँदैछ ?

हिजोका पुर्खाहरु देशभक्ति त मर्दैन चुथ्दै देश भए पनि भन्दै आफ्नै देशको विकास र प्रगतिमा रमाउने गरेका थिए । तर, अहिले राष्ट्रभक्ति त खरानीको ढल्लो भएको छ । देशको विकास गर्नुपर्छ, भ्रष्टाचार रोक्नुपर्छ, अन्याय गर्नेलाई कानूनको दायरामा ल्याउनुपर्छ भन्नेहरुलाई दिनानुदिन जेल कोच्ने काम हँुदैछ आखिर देश कता जाँदैछ ? पश्चिम एक नेपालीको मृत्यु हँुदा पूर्वका नेपालीको छाती चसक्क दुख्ने गथ्र्यो हिजो आज अनेको प्रोपोगाण्ड बनाएर पैसा कमाउने धुनमा छ युवाशक्ति । विद्यालय तहको अध्ययन गर्ने तर्खर नहँुदै अष्ट्रेलिया, अमेरिका र जापानको सपना बुन्नेहरु प्रत्येक घरमा बढ्दै गएका छन् । खै राष्ट्रियता ? अनि खै देशभक्ति ? यो सबैको दायित्व कसले लिने ? राज्य सञ्चालन गर्नेहरुले देशलाई कता लैजाने भन्ने बाघडोर समाएका हुन्छन् नेताजी मुलुक कता जाँदैछ ?

राजनीति गर्नेको ध्यान कमाउ धन्दामा छ । यसले भौतिक सुख र सुविधा त दिएला, तर मानवीय सुविधा पटक्कै दिँदैन । देशका युवामा राष्ट्रियता र राष्ट्रभक्ति हराइरहेको छ । मानवता भन्ने चिज मानिसले बिर्सदैं गएको छ । नेताहरुले मुलुकलाई कता लगिरहेका छन् सबै अलमलमा परेका छन् । संघीय सरकारमा रहेकाहरुको हुँकार निकै ठूलो छ, प्रदेशका माननीयहरु कहाँ कम कुरा गर्छन् र ? स्थानीय सरकार त जंगबहादुर शैलीमा छन् । स्थानीय तहमा विपक्षी नहुँदा मनोमानी निर्णयहरु भइरहेका छन् यसले स्थानीय क्षेत्रमा भ्रष्टाचारको सीमा नाघेको छ । सामाजिक सञ्जालमा नैतिकवान चरित्र देशका जनप्रतिधिहरु नक्कली बिल खडा गरेर वैधानिक रुपमा भ्रष्टाचार गरिरहेका छन् ।

सडकहरु क्यान्सर लागेर अन्मि अवस्थामा रहेको बिरामी जस्तो अवस्थामा छ, ठेक्केदार दारु र तरुनीसँग मस्त छ । अनि समयमा काम नसक्दा अनेक बहानाबाजी त आइहाल्छ नि । अझ ठेकादारलाई सरकारले नै सहज बनाइदिएको छ । विप्लव माओवादीलाई प्रतिबन्ध लगाइदिएको छ । त्यसैले चन्दा माग्यो भनेर काम रोक्न बडो काइदा भएको छ, तर जनतालाई जहिले बेफाइदा छ ।

दुई घण्टा काम गरेर १२ घण्टा गफ चुट्ने हामी नेपालीलाई कसले सक्ने, अमेरिका, चीन र भारतका राजनीति कता जान्छ ? नेपालमा अब के हुन्छ भनेर चिया गफले १२–१५ जनालाई अल्मलियाउन सक्ने हिम्मत भएका छौं । न राष्ट्रियताको मतलब, न त सीमामा नै चासो, भ्रष्टाचारले मुलुक चुर्लुम्म डुब्दा पनि हामी विकासमा नारा घन्काइरहेका छौं । वर्षेैदेखि बाटो बालोपत्रे गर्ने सपना राखिरहेका छौं । नेतालाई गाली गर्न त पछि पर्ने कुरा नै भएन, तर गलत प्रवृत्तिविरुद्ध कुना परेर बर्बराउने धामी झैं हामीले अब समृद्धिको नारा कहिलेसम्म लगाउने हो ? अब उठौं गलतलाई गलत भनौं, राम्रो कामलाई प्रोत्साहन गरौं मुलुक निर्माण गर्ने दायित्व हामी सबैको हो । तर, अन्तिम प्रश्न यही को नेताजी मुलुक कता जाँदैछ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here