तीन किशोरीको उद्धार, होटल सञ्चालक सहित दुई पक्राउ

0
835

– यौनजन्य कार्यमा लगाए १५ वर्षसम्म कैद र १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना

– अधिकांश ग्राहक भारतीय

बिर्तामोड।

१८ वर्ष मुनिका बालबालिकालाई वेश्यावृत्ति वा यौन जन्य कार्यमा प्रयोग गराएमा त्यसलाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिक्षेद ८ ले बालबालिका विरुद्धको कसूर ठहर गरेको छ । यदि कसैले बालबालिकालाई वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गरेको पाइए १५ वर्षसम्म कैद र १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

वालवालिका सम्वन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (३) मा वालवालिकालाई वेश्यावृत्तिमा लगाए वा यौन दुव्र्यवहार गर्ने उद्देश्यले वालवालिकाको प्रयोग गर्ने वा गराए वालवालिका विरुद्धको कसूर अन्तरगत कारवाहीको व्यवस्था गरिएको छ । तर, झापामा सञ्चालित केही होटल तथा लजहरुले १८ वर्ष भन्दा कम उमेरका किशोरीलाई यौनजन्य कार्यमा प्रयोग गर्ने गरेको खुलेको छ । पछिल्लो समय झापाको बिर्तामोड आसपासमा सञ्चालनमा रहेको केही होटल तथा लजहरुले यस्तो कार्य गराउँदै आएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय झापासहित इलाका प्रहरी कार्यालय अनारमनीले होटल अनुगमनका क्रममा १८ वर्ष मुनिका किशोरीलाई यौन जन्य क्रियाकलावमा सम्लग्न गराएको पाइएसंगै यस्तो रहस्य खुलेको हो ।

कानूनत १८ वर्ष भन्दा उमेरका वालवालिकालाई होटलमा श्रम गर्न समेत निषेध गरिएको छ । तर, बिर्तामोडमा सञ्चालित केही होटलले वेश्यावृत्ति जस्तो घृणित कार्यमा प्रयोग गर्ने गरेको पाइएपछि बिर्तामोडबाट तीन किशोरीको उद्धार गर्दै त्यस्तो कार्यमा लगाउने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उद्धार गरिएका किशोरीलाई माइती नेपालको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

उपरीक्षक थापाका अनुसार बिर्तामोडस्थित प्रतिक्षा होटलका व्यवस्थापक अभिशेक तामाङ र मनशान्त होटलका सञ्चालक किरण तामाङ पक्राउ परेका हुन् । पक्राउ पर्ने मनशान्त होटल सञ्चालक तामाङ होटल व्यवसायी संघ झापाका पूर्व सचिव हुन् । तामाङ तेह्रथुमको आठराई गाउँपालिका – ६ स्थायी घर भई हाल बिर्तामोडमा वसोवास गर्दै आएका थिए ।

उनीसंगै पक्राउ परेका प्रतिक्षा होटलका व्यवस्थापक तामाङ सुनसरीको इटहरी घर भई बिर्तामोडमा वसोवास गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले इलाम र उदयपुरको गाईघाट निवासी तीन किशोरीलाई लामो समयदेखि यौनजन्य कार्यमा प्रयोग गराउँदै आएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई वालवालिका विरुद्धको कसूरमा मुद्धा चलाइने प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्षा होटलका सञ्चालक विमल गहतराज फरार रहेकाले उनको समेत खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक थापाले जनाए ।

यता प्रहरीले झापा होटलका सञ्चालक रामकृष्ण कडरियालाई समेत पक्राउ गरेको छ । कडरियाले २३ वर्षीया युवतीलाई यौनजन्य गतिविधिमा सम्लग्न गराई आर्थिक शोषण गरेको आरोप छ । उनलाई समेत प्रहरीले मानव वेचविखनमा मुद्धा चलाउने तयारी गरेको बताइएको छ ।

यता बिर्तामोड– ५ मा सञ्चालित प्रतिक्षा होटलबाट उद्धार गरिएका किशोरीका अनुसार यौन प्यास मेटाउन अधिकांश भारतीय नागरिक आउने गरेका छन् । होटलमा आएका मध्ये केहीले गलफ्रेण्ड बनाएर अन्यत्रै होटलमा तथा केहीले सोही होटलमा यौनप्यास मेटाउने गरेको उनीहरुको भनाई छ ।

होटल सञ्चालनका आफूहरुलाई प्रतिरातका लागि पाँच हजार रुपैयाँ र एक पटकका लागि एक हजार रुपैयाँमा ग्राहकसंग पठाउने गरेको उद्धार गरिएकी मध्ये एक किशोरीले भनिन्– ‘आधा रकम तिमी पाउँछौं होटल सञ्चालकले भनेको थियो अहिलेसम्म एक रुपैयाँ पनि दिएको छैन ।’

‘होटल मनशान्तमा दुई हप्ता वस्ता समेत एक रुपैयाँ आफूहरुलाई नदिएपछि बाध्य भएर होटल प्रतिक्षामा गएका थियौं ’ उनले भनिन्–‘ त्यहाँका साहुँको पनि उही व्यवहार छ । त्यहाँ पनि हामी मध्ये एक जनाले ८÷ १० जनालाई सन्तुष्ट बनाउनु पर्छ ।’

‘कतिपय असहज अवस्थामा साहुले ‘होल नाइट’ वुकिङ गरिदिएका हुन्छन् त्यस्तो अवस्थामा पनि मन नलागी नलागी जानु पर्छ’ उद्धार गरिएकी गाइघाटकी किशोरी भन्छिन्– वाध्यताले यस्तो पेशामा लागेपनि साहुले नै दिन्छु भनेको पैसा नदिँदा कहिले काँही त मर्न मन लाग्छ ।’

वलवालिका विरुद्धको कसूर अन्तरगत धूमपान, मद्यपान वा जुवा तास जस्ता कुलतमा संलग्न गराउने,डान्सवार वा क्यासिनो जस्ता मनोरञ्जनस्थालमा प्रवेश वा प्रयोग गराउने गरिएमा वालवालिका विरुद्धको हिंसा ठहरिने छ कानूनी व्यवस्था छ । त्यस्तै वालिगका लागि भनि तोकिएका चलचित्र, अन्य श्रव्य दृष्य जस्ता साम्रागी देखाउने , जादु वा सर्कसमा लगाउने, अश्लिल कार्य वा साम्रगी निर्माणमा प्रयोग , वाल यौन शोषण गर्ने गराउने , यौन जन्य सेवा प्रयोग गराउने उद्देश्यले वालवालिकाको प्रयोग गरेको खण्डमा वलवालिका विरुद्धको कसूर ठहरिने व्यवस्था छ । सोही कसूर अन्तरगत पक्राउ परेका दुवैलाई कारवाही गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here