विषादि हालेको आँप नखान आग्रह

0
737

चारपाने।

ताजा र विषादिरहित आँप पाउने तराईका जिल्ला सिरहा, सप्तरीमा आजभोलि विषादियुक्त आँपले उपभोक्तालाई त्रसित बनाएको छ ।

त्यसैगरी सुनसरी, मोरङ र झापामा पनि विषादि हालेको आँप खुलेआम बिक्री भइरहेको पाइएको छ । फलफूलको राजा मानिने र पोसिलो आँपमा मानव स्वास्थको लागि घातक विषादि कार्बाइड हालेर पकाइएका आँप बिक्री हुने क्रम पछिल्लो समय बढ्दै गएको छ ।

स्थानीय आँप हो भन्दै तराईका बजारमा बढी नाफा कमाउन व्यापारीले खुलेआम भारतबाट ल्याइएको आँप कार्बाइड हालेर बेच्ने गरेकाले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड भएकोे सरोकारवालाहरु बताउँछन् । केही दिनअघि इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा अनुगमन टोलीेले इटहरीमा सञ्चालित रामनारायण फ्रुट सेन्टर लगायतका पसलबाट ४० कार्टुन आँप विषादि भएको प्रमाणित गरी जफत गरेको थियो ।

नेपालमा प्रतिवन्धित गरेको कार्बाइड प्रयोग भएको आँप धरानमा १५ टनको परिणामा केही दिन अगाडि जफत गरिएको समाचार बाहिर आएको थियो । कार्बाइड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेंलो, लोभलाग्दो, आकर्षक देखिने भए पनि मानव स्वास्थ्यको लागि अत्यन्त घातक हुने खाद्य विज्ञ केपी लम्साल बताउँछन् ।

कार्बाइड प्रयोग गरेको कुनै पनि फलफूल खाँदा पाचन प्रणाली, आँखा, छालामा पनि असर गर्ने लम्सालले बताए । भारतको विभिन्न स्थानबाट आयात गरिएको विषादियुक्त आँप अहिले नेपालको पूर्वदेखि पश्चिमका चोक बजारमा भेटिन्छ, अझ झापा लगायतका प्रदेश नं. १ का जिल्लाहरुमा बढी बिक्रीका लागि राखिएको छ ।

नेपालको सिरहा, सप्तरीको आँप धेरै राम्रो हुने भएकोले सो क्षेत्रबाट आउने आँप भनेर व्यापारीले ढाँटेर बिक्री गर्ने गरेको गुनासो सुनिन्छ । यस बर्ष नेपालको आँप बजारमा आइसकेकै छैन । उत्पादन पनि यसपटक अत्यन्त कम भएको छ । रहेको आँप पनि असारको दोस्रो हप्तामा मात्र बजारमा ल्याउने गर्छन् स्थानीय व्यापारीले ।

टर्कीको एर्रियस विश्वविद्यालयमा सन् २००५ मा गरिएको अध्ययन अनुसार कार्बाइड केमिकल कार्सिनोजेनिक भएकाले यसलाई प्रयोग गरेर पकाइएको फलफूल खाए क्यान्सर लाग्ने सम्भावना अधिक रहने विश्वविद्यालयमा डाक्टरहरुले प्रमाणित गरिसकेका छन् ।

कार्बाइड प्रयोग भएको फलफुल खाँदा वान्ता हुने, पखाला, मासी, तिर्खा लाग्ने, कमजोरी, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, घाँटी खसखसाउने, आँखा चिलाउने र टट्याउने, छाला चिलाउने र फुस्रो हुने जस्ता शारीरिक समस्या पनि आउन सक्ने हुन्छ । युवा वैज्ञानिक रामचन्द्र अधिकारी भन्छन्– ‘यसको यौगिक क्याल्सियम कार्बाइड हो । यसमा आर्सेनिक र फोस्फोरस पनि हुन्छ ।’ वैज्ञानिक अधिकारीका अनुसार कार्बाइड हालेर पकाएको आँप खाए गर्भवतीको बच्चा तुहिने, बच्चा अपाङ्ग जन्मिने वा बच्चा महिना नपुगी जन्मिने जस्तो खतरा उत्पन्न हुन्छ ।

यस्तो फलको उपभोगबाट आँखाको शक्ति स्थायी रूपमा गुम्नसक्छ । खोकी लाग्ने, मुखमा फिँज आउने, श्वासप्रश्वासको दर छिटो हुने, फोक्सोमा पानी जम्ने, आमाशयमा असर र पेप्टिक अल्सर हुने रोग पनि लाग्न सक्छन् ।

विषादि प्रयोग भएको फलफूल सेवन गर्नबाट बच्ने उपाय काँचै किनेर आफैँ पकाउनु राम्रो उपाय हो । बिक्रीका लागि राखिएका कुन आँप वा केरामा कार्बाइड प्रयोग गरिएको छ–छैन भनेर सर्वसाधारणले छुट्याउन सक्दैनन् । कार्बाइड प्रयोग गरिएका फलफूलको बोक्रामा प्रायः सेतो र टाटेपाटे रङ देखिन्छ ।

तर, पसलेले मेहनत गरेर पुछेर फलफूल बेच्न राख्ने हुँदा यस्तो टाटा पनि देख्न सकिन्न । अर्कातिर कुनै पसलेले पनि आफूले बेच्ने फलफूलमा कार्बाइड प्रयोग गरेको स्वीकार गर्दैनन् । त्यसैले काँचै आँप वा केरा किनेर घरमा पकाएर खानु सबैभन्दा फाइदाजनक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here