बिर्तामोड।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले लागूऔषध दूव्र्यसन रोक्न एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
नारी कल्याण समाज बिर्तामोड झापाको आयोजनामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् ।
झापा बिर्तामोडको देवी माध्यमिक बिद्यालयमा आयोजित सचेतना कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का निजी तथा सामुदायिक १० वटा बिद्यालयका एकसय ५० जना बिद्याथीहरुको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरु समेत लागूऔषध दुव्र्यसनमा फस्दै गएकाले उनीहरुलाई लागूऔषधको कुलतबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिएको नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईले बताइन् । बिर्तामोड नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा भएको कार्यक्रमको औचित्यमाथि समाजकी सचिव कमला थापामगरले प्रकाश पारेकी थिइन् ।
नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा बिर्तामोड वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत समाजकी सदस्य चन्द्रा सेढाईले गरेकी थिइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बिर्तामोडलाई लागूऔषध दुव्र्यसन मुक्त बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताए ।
कार्यक्रममा देवी माविकी प्रध्यानाध्यापक अम्विका श्रेष्ठ, कोहेड कलेजका प्रिन्सिपल कमला तिम्सिना, एमिटी कलेजका भाइस प्रिन्सिपल उत्तम पराजुली, वडा नं. ५ का वडा सदस्य डिआर कडरिया लगायतको आतिथ्य रहेको थियो ।
राजु धमला र पवन विष्टले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन समाजकी सहसचिव समिता उप्रेतीले गरेकी थिइन् ।






























