यात्रा रमाइलो मात्र होइन

0
583

यात्रामा पर्याप्त समय बिताउने हो भने रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा पुग्छ । कुनै नयाँ शहर घुम्दै हुनुहुन्छ, सुन्दर दृश्य हेर्दै हुनुहुन्छ वा गाउँको स्वच्छ हावामा सास फेर्दै हुनुहुन्छ भने आफ्नो स्वास्थ्यमा यी छ फाइदा पुग्छ ।

मुटु स्वस्थ्य राख्छ

यदि कोही शहरमा बस्छ या प्रकृति अवलोकन गर्छ भने सायद एकदिनमा १० हजार पाइला हिँडिन्छ जुन ६७ किलोमिटर हुन्छ जुन मध्यमखाले राम्रो कसरत मानिन्छ । हिँड्दा दृश्यावलोकन या अरु गतिविधि पनि गर्दा स्वास्थ्यमा राम्रो पर्छ । खासगरी मुटुलाई यी गतिविधि असाध्यै राम्रो हुन्छ ।

सन् १९४८ को फ्रामिङ्घम स्टडीले यही विषयमा केन्द्रित भएर केही महिलाहरूको सर्वेक्षण गरेको थियो र २० वर्षपछि उनीहरू कहाँ फेरि पुगेको थियो । छ वर्षको एकपटक बिदा मनाउने महिलाहरूमा वर्षको दुईपटक बिदा मनाउने महिलाहरूको तुलनामा आठ गुणा बढी हृदयाघात या मुटुरोग भएको पाइयो । यो अध्ययन मोटोपन र चुरोट खाने बानी नभएकाहरूमा गरिएको थियो । न्यू योर्कको स्टेट विश्वविद्यालयले गरेको अर्को अध्ययनमा मुटुरोगको अत्यधिक जोखिममा रहेका १२ हजार पुरुषहरूमा नौ वर्षसम्म अध्ययन गरियो । वार्षिक बिदा नलिने मानिसहरूमा लिनेको तुलनामा हृदयाघातबाट मृत्यु हुने सम्भावना ३२ प्रतिशतले बढेको पाइयो ।

जवान रहन सहयोग गर्छ

यात्राले तनाव घटाउँछ भने त्यसले आयु पनि बढाउँछ । ‘ग्लोबल कोएलिसन अन एजिङ’ रिपोर्टका अनुसार तनावले बुढो हुने प्रक्रियालाई तीव्र बनाइदिन्छ । उक्त संस्थाका अनुसार तनाव लिनु भनेको हरेक दिन ‘कर्टिसोल हर्मोन’ को सुइ लिनु जत्तिकै हो जसले रोग प्रतिरोधात्मक शक्ति क्षीण गरिदिन्छ र एड्रीनल काम नगर्ने, टाउको दुख्ने र दिसा गडबड गराउने जस्ता समस्या निम्त्याउँछ ।

राम्रो कुरा के भने, घुम्न जाँदा तनाव मत्थर पार्न धेरै लामो समय लाग्दैन । सन् २०१२ मा ५०० मानिसहरूमा गरिएको ‘एक्सपिडिया’ सर्वेक्षणमा घुम्न जाने मानिसहरूले एकदुई दिनमै तनावमुक्त अनुभव गर्न सक्छन् भनिएको थियो । सरे विश्वविद्यालय यूकेमा सन २००२ मा गरिएको एउटा अध्ययनमा घुमफिरको योजना बनाउनु र सहभागी हुनुले नै मान्छेहरूलाई खुशी तुल्याउँछ र त्यसले आफ्नो जीवनप्रति नै निकै खुशी बनाउँछ भनिएको थियो ।

दिमागलाई चुस्त राख्छ

यात्राले विभिन्न परिस्थितिसँग जम्काभेट गराइदिन्छ जसले हाम्रो दिमागलाई खुराक दिन्छ (नयाँ खाना, नयाँ वातावरण र सम्भवतः फरक भाषा पनि) । स्थानीय संस्कृति र अरुका ठाउँहरूबारे जान्ने मौकाले हामीलाई थप चुस्त बनाउँछ । र, त्यसले मस्तिष्कको अल्जाइमर्स जस्तो रोग लाग्नबाट बचाउँछ । ‘नयाँ र फरक अनुभव र वातावरणले मानिसहरूको दिमागलाई चुनौति दिन्छ जसले मस्तिष्कको स्वास्थ्य प्रवद्र्धन गर्न र जीवनसँग संघर्ष गर्न सहयोग गर्छ’ –पिट्सबर्ग स्कुल अफ मेडिसिनका डाक्टर पल डी नसबम भन्छन्– ‘यात्रा राम्रो औषधि हो’ ।

सिर्जनशीलता बढाउन सक्छ

‘अ टेक्निक फर प्रोड्युसिङ आइडियाज’ नामक किताबमा अमेरिकी विज्ञापनकर्मी विज्ञ जेम्स वेब योङले विद्यार्थीहरू र मार्केटिङ व्यवसायीहरूलाई दिएको सुझावमा तपाई नयाँ राम्रो विचार उत्पन्न गर्न चाहनुहुन्छ भने त्यसबारे सोच्न छोडिदिनोस् भनेका छन् । नयाँ विचार आकाशबाट खस्छन् भन्ने उनको भनाइ पक्कै होइन बरु त्यसको उल्टो पो हो । किनभने अरु नै कुनै काम गरिरहेका बेला झिलिक्क विचार आउन सक्छ ।

अहिले स्नायु वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन्, नयाँ वातावरण र अनुभवले हाम्रो मस्तिष्कलाई पुनर्ताजगी गरिदिन्छन् । कग्निटिभ फ्लेग्जिबिलिटी भनिने मस्तिष्कको यो शक्ति विचारहरू उत्पन्न गर्ने क्षमतासँग प्रत्यक्ष सम्बन्धित छ । विख्यात लेखकहरू पल गगीन, अर्नेष्ट हेमिङवे र इगर स्ट्र्याभिन्स्कीले विदेशमा रहँदा गरेको काम असाध्यै राम्रामा गनिन शायद संयोग मात्रै नहुन सक्छ ।

उत्पादकत्व बढाउछ

अहिलेको कार्यक्षेत्रमा कामको बोझको मारमा पर्नु भन्ने महामारी जत्तिकै छ । वास्तवमा त्यो त कामदारहरूमाथि पर्ने बोझ मात्र होइन स्वास्थ्य प्रणालीमाथि पनि बोझ हो । अमेरिकन इन्स्टिच्यूट अफ स्ट्रेसको अनुमान अनुसार अमेरिकी उद्योगको तनाव सम्बन्धी खर्च तीन सय अर्ब डलर प्रतिवर्ष छ ।

राम्रो स्वास्थ्यको स्नायुविज्ञानबारे लेख्दै आएकी डा. शीमी काङ कहिलेकाहीँ कामको बोझ कम गर्दा त्यसले मस्तिष्कलाई पहिलेकै स्थितिमा धेरै काम गर्न सक्नेमा फर्काइदिन्छ र जसले समस्या समाधान गर्न र विचार एक अर्कातिर जोड्न सहयोग गर्छ ।

व्यक्तिगत विकास पनि प्रवद्र्धन गर्न सक्छ

तपाईँ जवान हुनुहुन्छ, केही समय विदेश बसेर काम गर्ने मौकाको खोजीमा हुनुहुन्छ भने अध्ययनहरूले देखाएका छन् त्यसले तपाईँको व्यक्तित्व विकासमा ठूलो फाइदा पुर्याउन सक्छ । जर्मनीको फ्रेडरिक–स्किलर–युनिभर्सिट्याटका डा. जुलिया जिम्मरम्यान र डा. फ्रान्ज नेयरले कम्तीमा एक सेमेस्टर विदेशमा गएर पढेका विश्वविद्यालका तीन हजार विद्यार्थी र यात्रा नगर्ने समूहसँग तुलना गरेर हेरेका थिए ।

आफ्ना अध्ययनका बेला यात्रा गर्न नचाहनेका तुलनामा बाहिर पढेकाहरू बहिर्मुखी पाइए । यात्रा गरेकाहरूले नयाँ अनुभवप्रति उदार र नयाँ ठाउँमा सम्हालिन सक्ने क्षमता बढेको देखायो । त्यसैले जुनसुकै उमेर समूह र यात्राको शैली भए पनि केही समय निकालेर फुर्सदको समयमा यात्रा गर्नेहरू फाइदामा हुने देखिन्छ । बीबीसी नेपालीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here