झापा , जातीय छुवाछूत तथा विभेद गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन झापाका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मानव अधिकार मञ्च इलामले बिर्तामोडमा सञ्चालन गरेको कार्यशालामा सहभागी दलका प्रतिनिधिहरूले विगतमा दलहरूबाटै पीडक संरक्षण हुने गरेको आरोपलाई स्वीकार गर्दै अब त्यस्तो प्रवृत्ति अन्त्य गर्ने बताएका हुन्।
कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विगतका कमजोरी सच्याउँदै अब कुनै पनि हालतमा विभेद गर्ने व्यक्तिको संरक्षण नगर्ने स्पष्ट पारेका थिए । उनले दोषीलाई कानुनी कारबाहीसम्म पु¥याउन दलहरूको तर्फबाट सहकार्य हुने बताएका थिए ।
मानव अधिकार मञ्चले ‘स्थानीयस्तरमा नीति सचेतना मार्फत जातीय भेदभावविरुद्ध सामूहिक कार्यक्रम’ अन्तर्गत विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गरिरहेको छ ।
पहिलो दिन दलित अगुवासँग छलफल गरिएकोमा दोस्रो दिन राजनीतिक दल, मानवअधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी तथा धार्मिक अगुवासँग अन्तरक्रिया गरिएको हो ।
आइतबार जनप्रतिनिधिसँग छलफल गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
छलफलमा सहभागी अधिकांश दलका प्रतिनिधिहरूले जातीय विभेद अन्त्यका लागि आफ्ना पार्टीभित्र सचेतना अभिवृद्धि गर्ने र व्यवहारमै परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष गिरी, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, नेकपाका विपी भट्टराई, राप्रपाका केशव ओझा र रास्वपाका अर्जुन उप्रेतीलगायतले विभेद अन्त्यका लागि प्रभावकारी भूमिका खेल्ने बताए।
कार्यक्रममा दलित समुदायले भोग्दै आएको विभेद र विद्यमान कानुनी व्यवस्थाबारे पनि गहन छलफल भएको थियो। झापा बारका अध्यक्ष बसन्त नेपालले कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक र धार्मिक अन्तरघुलनबाट विभेद न्यूनीकरण गर्न सकिने धारणा राखे।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले औपचारिक प्रतिबद्धताभन्दा व्यवहारमा कार्यान्वयन हुने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले पनि विभेद न्यूनीकरणमा भूमिका खेल्ने बताए।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जातीय विभेदसम्बन्धी उजुरीमा कानुनअनुसार कडाइका साथ कारबाही गरिने बताएका थिए ।
कार्यक्रमपछि प्राप्त सुझावहरूलाई नीति निर्माणमा सहयोग पु¥याउने गरी सरकारसमक्ष पेश गरिने मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए।
कार्यशालामा सुशासन विज्ञ कर्णबहादुर नेपाली र आयोजकका मनकुमार बराइलीले सहजीकरण गरेका थिए।































