अहिले यस्तो समाजसेवा पनि समाजसेवा नै मानिन्छ ?

0
873

व्यंग्यनारान पाँडे,

किशोरीबाट भर्खर उँभो उक्लेकी जस्ती देखिने एउटी केटीसंग आएका थिए आज गौंथलीको बाऊ । त्यो केटी र उनको उमेर, शारीरिक अवस्था आदिको चक्षु–निरुपण गर्दै र त्यस केटीका प्रति मनमनमा सहानुभूति राख्तै हेरें मैले—
त्यसका हात गोडाका औंला मल नभएको भूइँमा बलैले पानिएको अदुवाका पाना जस्ता काम गर्दा–गर्दा ठेला परेका जस्ता अररा देखिन्थे भने नङका टुप्पामा मयल खाँदिएका देखिन्थे । त्यसले जय–बांगला मार्का सुतीको माडयुक्त र टाटाटुटी लागेको सुरुवाले र आँखै बिगार्ने रातो–छेउछेउमा सुनौला बुट्टा भएको सुती कपडाकै कुर्ता लगाएकी थिई । खुट्टामा लगाएकी भुक्के हवाइ चप्पलको लोती साँगुरो भएर हो कि तिनमा छिराइएका दोक्चे खुट्टा अटस्मटस्–अप्ठ्यारो भइरहेको होला जस्तो भान हुन्थ्यो ।

झन्नै मझौलो आँपका कोया जस्ता ओठमा ऐना बिनै पोतिएको बुझिने किसिमबाट लिप्स्टिक देखिन्थ्यो— कहीँ बाक्लो, कहीँ पत्ला, ओठका तल–माथिसम्म । शायद त्यही लिप्स्टिक त्यसका फर्से गालाका डाँडा–डाँडामा पोतिएकाले होला त्यति एरिया चाहिँ रातो देखिन्थ्यो त्यसको कालो अनुहारका अरु कित्ताहरुका माझमा बेग्लै टाले जस्तो । त्यसका घिरौंले नाकमा सिरियस्ली हेर्दा मात्र देखिने सा….नो फुली थियो भनें कान–कानमा झन्नै दुई इञ्च गोलाइका सिल्भरे रिङ थिए । निधारमा सुगा रंगको प्लास्टिकको टिको टाँसिएको थियो । कालो घना कपाल गुजुल्ट्याएको र त्यसलाई छ–सातवटा हुकपीनले नियन्त्रित गरेको भए पनि अगाडि छोटो पारेको कए तरेली चाहिँ कोरेर निधारतिर झरिरहने बनाइएको थियो । जम्मैमा त्यसको बनावट र पहिरन हेर्दा लाग्थ्यो— त्यसलाई, भारतको कुनै पछौटे र दुर्गम गाउँको कान्छी बजारमा चर्चित भएपछिको मनोविज्ञानले ‘काम बिना नै खान र यत्तिको लाउन पाए पुग्ने’ मनस्थितिले आजको स्थितिमा ल्याएको हो ।…..

आसन ग्रहणपछि विषय प्रवेश गर्दै गौंथलीको बाऊले भने— “मेरा थाप्लामा एउडा मात्तै रेस्पोनसेब्लिटी छ र भन्या ? रानीतिकको पोल्टिस, आफ्नै बौमतको सर्खार भएसि तेल्लाई मलजल गरेर ढकमक्क फुला’र चइँनेकेरे कइलेइ नओइलिने मखमली फूल झैं ससेस्फुल बनाउने अइभारा, तेसमाथि मिस्कट भासाविद् गर्ने र गनतन्त्रको पत्रकार गर्ने झन्नट छइँछ । तेतिमात्तै काँहाँ र, इ एसरी समाचसेवा खोद्दै आकालाई समाचसेवा गर्दिनै परो । हैरान छ हओ भाइ, सारै हैरान छ ।”
मैले सोचें— “यो चाहिँ को केटी हो ?”

उनले टोपी झिकेर खुइले टाउको कन्याउँदै भने— “यो मेरै केटी हो । अ‍ैले हामी दोडा मिलेर समाचसेवक गर्दैछम् । अस्ति दोर्जेलिंगे मोटीले दिनपन्द्रेक मेरो समाचसेवा पाएसि उस्को दाजु लिन आ’छ र हिंनिगई । अ‍ैले यल्ले साथ दिराखेकी छ । यस्बेलासम्मन त यस्को समाचसेवा च्वाँकै छ, फस्किलासै छ भनम् न । पछि के हुने हो, भभिसेक कल्ले जान्दछ र होइन्छ ?”
मैले सोधें— “के गर्नुलाई समाजसेवा भन्या ?”
उनले भने— “अप्ठ्यारामा परेकाले अप्ठ्यारामा परेकालाई सहयोग गर्नु र सो–उक्त अप्ठ्यारोलाई सप्ठ्यारो पार्नु त हो नि समाचसेवा भन्या र तेसो गर्नुलाई समाचसेवक गर्नु भनिन्छ भन्र डिस्नेरीमै लेखिया छ । तपइँकी भाउजु–गौंथलीकी मम्मीलाई उस्को पल्टने मितदाजुको मामाको छोरोले इण्डेको बम्बई टुरिङमा लगेको अस्ति मुसलमानहरको इद परबमा ठ्याक्कै आठ बर्ख भो, घुराको छैन । छोरीहेरु सिरिदेवी, मादुरी, रेखा र हेल्यानहेरु समेतलाई उतै पुगाका छइँछन् उँधेरका बोइ फेरेनहर्ले । मम्मी चइँ उँधेरकै गार्जेन गर्दी होली नि । चिठ्ठीपत्री पनि छैन, फुन–मोबिल सन्पर्क पनि छैन । र म एक्लाले समाचसेवा हुँदैनथ्यो, अनि कोइ न कोइ नाइयो नै चाइयो, होइन्त ?”

उनी भन्दै गए— “हेर्नु न यो केटी डल्ली–डल्ली साइचकी कति भरिली छे नि ? हिन्दी सेनिमाको हिरोनी मुमताच जस्तै छे नि ? मैले यस्को सुबनाम नै मुमताच राखिरछु । गौंथलीकी मम्मी, मुसीकी आमा, मनकुमारी, रामदुलारी, रामप्यारी तो दोर्जेलिँगे हेमा माल्लिनी, भट्टी हुटेले कैलुकी जनानाहेरु थुपै्रको समाचसेवा गर्ने सुबिलिटीभन्दा यो केटीको सुबिलिटी फस्–रन्नरप् छ । इ सप्पै त अनुभउ गरेसि मात्तै जनिने बिएस हुन् क्या पाँडे भाइ ।”

उनको चाउरीले खुज्मुजिएको अनुहार, खुइलिसकेको टाउको र सेताम्भे फुलिसकेको आँखीभौ र नाकमा रौं, नशा र हड्डी छर्लङ्ग देखिने हात–गोडा हेर्दै मैले भनें— “यो पिण्ड खाने उमेरमा त त्यस्तो समाजसेवा नगरे राम्रो होइन र ?”
उनले लामो सास तानेर फ्याँक्तै भने— “यो मुनै त रछ नि हओ भाइ, मुनै त रछ नि सब्से अप्ठ्यारो ! म स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै भए नि गरिराखेकै छु समाचसेवा । अस्ति दोर्जेलिँगे हेमा माल्लिनीका ट्याममा चार दिन आठ–नउ डिक्री जरो आ’र थलै पनि परिरथेँ । के गर्ने, रानीतिकको पोल्टिस्यान गर्नेले समाचसेवक गर्नैपर्छ । समाचसेवा नगर्नेले के खान पोल्टिस्यान गर्नु त हओ, के खान गर्नु त ? तेसमाथि अज मैले त मिस्कट भासाबिद र पत्रकार गर्ने झ्याउलो पनि बिहोरिराख्या छु । सिन्यार भएसि भर नपाइँदो र’छ । इ हेर न, एस्ता मुमताच आइलाग्छन् । सेनिमावाली मुमताच जस्ती छिप्पट–थोत्री मुमताच भा त तैबरुतै, यो त हेर न—कसरी कलिली ! रसैरस भरिया रसगोल्ला जस्ती ।”…

उनको निर्लज्ज र लबस्तरो अनुहार हेर्दै मैले भनें— “लाजशरम पचेपछि त जे गर्दा पनि अप्ठ्यारो नलाग्दो रहेछ नि ?”
उनले भने— “रानीतिकको पोल्टिस गर्नेले लाच मानेर शरम् गरेर यत्रो चइँ ससेस्फुल होइन्छ ? फेरि समाचसेवाको काममा लाच–शरम् मान्नै हुँदैन । तेसमाथ पनि अ‍ैले आफ्नो पोल्टिस् चम्केका ट्याममा झन धेर समाचसेवा गर्ने फिरी चानस छ । कतैबड बादा–बेबदान हुँदैन । निम्रला पन्थ जस्ता केटी बलात्कार गरेर मारिंदा, सुन तस्करको लिडरमा केरो ठोक्किएसि सामसुम हुँदा, वाइडबडी हाबाजाज किन्ने निउँमा अरबउँ रुप्पे भष्टचारी हुँदा जस्ता काण्डहरु हुँदा र एस्ता–एस्ता करोडउँ त अलि नभनम् दशउँ काण्ड हुँदा त केइ नहुने हाम्रो राम्राज्जेमा शान्तिपूर्वकसंगले समाचसेवा लेनदेन गर्दा….ऊ ल हेर त, ममताचलाई निन्राले ट्यान्सिन पारेछ र हाम्रा डिसकेस सुनेर बिस्लेसुन गर्दागर्दै कुर्सीमै भुसुक्क निदाइछे । दिम्सो गर्मीले लल्याकलुलुक पार्छ र समाचसेवाको काम हुँदैन । तेसको सट्टामा राती खटाइ हुन्छ र यसको निन्रा खच्पचियो क्यार । दिम्सो रानीतिकका झमेला छ, मेरो जिम्मामा कत्रो रेस्सोन्सेब्लिटी छ । मैले दिम्सोको ट्याममा भ्याउन सके त थुक्क ! बौमत–बौमत भन्नु पो सैलो छ त, तेस अन्सार गर्न कम्ता डिफिकल छ ? हुन त समाचसेवा गर्न पनि केइ दिन एता मलाई कम डिफिकल हुन थाल्यो छैन, पसिनै–पसिना हुनुपर्छ तेस्सिमालाने ।…र, उ त्यो सारै अप्ठ्यारोसंग निदाई । एल्लाई हतेर्दै लेर मेरो सैलो ओछेनमा सुताउनु परो । भाइ, म आज गएँ ल ? पछि आउँला नि ।”….

उनी उनकी मुमताजलाई ब्यूँझाएर हतेर्दै लिएर हिंडे । उनीहरु गइरहेतिर हेर्दै अनि मैले मनमनै भनें— “यस्तो समाजसेवा पनि समाजसेवा नै हो क्यार ! कि कसो हो कुन्नि !”….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here