टुट्दै छ सपना अन्तरीक्षमा घरजम गर्ने !

७ असार २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

अलौकिक मिथक, कथा तथा ग्रन्थसाहित्यहरुले अन्तरीक्षमा देवताहरुद्वारा यात्रा, बसोबास र विचरण गरिएको कहानी सुनाउँछन्, देखाउँछन् । तिनले अन्तरीक्ष पनि पृथ्वीको भूतल जस्तै जीवन रहन बस्न सहज भएको जनाउँदछन् । तर, मानवका लागि भने अन्तरीक्ष एक कठिन यथार्थ रहेको प्रमाणित हुँदै गएको छ । अन्तरिक्षमा मानव यात्रा असम्भव नभए पनि बसोबास भने सम्भव नहुने अहिलेसम्मको अभियान र यान प्रक्षेपणहरुले देखाइसकेको छ । यस्ता अभियानका लागि ठूलो मात्राको प्रविधि, साधनस्रोत, धन, ज्ञानसीप र समय चाहिने देखिन्छ । त्यसैले अन्तरिक्षमा मानवबस्ती बसाउने र अन्तरिक्ष पर्यटनको सपना टुट्दै गएको अनुमान लगाउन सकिन्छ ।

वैज्ञानिकहरुले सन् १९५७ देखि अन्तरिक्षमा यान तथा भूउपग्रह पठाउन शुरु गरेका हुन् । वैज्ञानिकहरुले अन्तरीक्षका अनेकन रहस्यहरु पत्ता लगाए । चन्द्रमा उपर सन् १९६९ जुलाई २० मा बिजय हाँसिल गरे । तीन यात्री नील आम्स्ट्रङ्ग, एडविन यूगेन एल्ड्रिन र माइकल कोलिन्स् चन्द्रमामा पुगे । यस सफलता पश्चात वैज्ञानिकहरुले धेरै–धेरै ग्रह तथा नक्षत्र खोज गर्ने र त्यसतर्पm जाने सपना देख्न थाले । यसका लागि पृथ्वीबाटै सबै अभियान सम्भव नहुने ठानी अन्तरिक्षमा स्टेशन स्थापना पनि गरे र त्यहीँबाट पनि खोज अभियान चाले ।

निश्चय पनि अन्तरिक्ष अभियान थाल्ने देश अमेरीका र रुस नै हुन् । उसबेला पनि उनीहरु नै विश्वका आर्थिक तथा प्रविधि शक्ति सम्पन्न थिए । उनीहरुबीच शक्तिका लागि होड नै चलेको थियो । रुसले सन् १९५७ अक्टुवर ४ मा स्पुतनिक प्रथम नामक कृत्रिम भूउपग्रह अन्तरिक्षमा पठायो । रुसले पठाएको अर्कोे यान भेनरा ४ शुक्र ग्रहसम्म पुग्न सफल भयो र महत्वपूर्ण सूचनाहरु पृथ्वीमा पठायो । सन् १९८२ मा दुई रुसी वैज्ञानिकले अन्तरिक्ष केन्द्र स्यालुट ७ मा २ सय ११ दिनसम्म रही काम गरे । त्यसपछि अर्का वैज्ञानिक ३ सय २७ दिन अन्तरीक्षमा काम गरेर पृथ्वीमा सकुशल फर्केका थिए । रुसले निकैपटक कुकुर र मानवसहितका यानहरु अन्तरिक्षमा प्रक्षेपण गरी धेरै कुरा अनुसन्धान गर्न सफल भयो ।

रुसको सिको गर्दै अमेरिकाले पनि सन् १९५८ जनवरी ३१ मा एक्स्प्लोरर नामक भूउपग्रह अन्तरीक्षमा पठाउन सफल भयो । अमेरीकाले सन् १९७६ मा भाइकिंग नामक दुई अन्तरिक्ष यानलाई मंगलग्रहमा उतार्न सफल भयो । रातो ग्रह अर्थात् मंगलग्रहमा जीवनको अस्तित्व छ या छैन ? पत्ता लगाउनु यस यान पठाउनुको उद्देश्य रहेको थियो । तर, भाइकिंगको प्रयोगले मंगल ग्रहमा जीवनको कुनै चिन्ह नरहेको देखायो । अमेरिका नयाँ प्रकारको यान अर्थात् स्पेस सटल नै निर्माण गर्न सफल भयो । यो यान पृथ्वीदेखि र अन्तरिक्षसम्म यात्रुवाहक तथा मालबाहक (जहाज) सावित भयो । यो यान अन्तरिक्षबाट फर्केर हवाईजहाज जस्तै गरी पृथ्वीमा सकुशल अवतरण गर्न सक्नेखालको निस्कियो । सन् १९८१ अप्रिल १२ मा कोलंबिया नामक प्रथम स्पेस सटल चार अन्तरिक्ष यात्री बोकेर अन्तरिक्षमा पुग्यो ।

सटलले पृथ्वीलाई ३६ फन्को लगायो र पृथ्वीमा सकुशल फक्र्यो । कोलंबियाले १९८१ नोभेम्वर १४ मा फेरि अर्को अन्तरिक्ष उडान भ¥यो । यी अभियानपछि च्यालेन्जर र डिस्कभरी नामक स्पेस सटल अन्तरिक्षमा केही पटक पुगे । तर, सन् १९८६ जनवरी २८ मा च्यालेन्जर सिरिजको एक स्पेस सटल प्रक्षेपण भएको केही क्षणमा नै दुर्घटना भयो । यसमा सवार सातजना अन्तरिक्ष यात्रीहरुको मृत्यु भयो । स्पेस सटलको इतिहासमा यस घटनालाई दुर्भाग्यपूर्ण मानिन्छ । अहिलेसम्मका अन्तरिक्ष खोज अभियानमा धेरै वैज्ञानिक तथा अन्तरिक्ष यात्रीहरुले ज्यान गुमाइसकेका छन् । साथै मानव कल्याणका लागि काम लाग्ने ठूलो धनराशी खेर गैसकेको छ ।

अमेरिका र रुसका यस्ता थुप्रै अभियानहरुले अन्तरीक्षमा, विशेषगरी चन्द्रमामा मानवबस्ती बसाउने सपना बाँडेका थिए । चन्द्रमामा पनि पृथ्वीमा जस्तै मानवबस्ती, खेतीपाती, पशुपालन, जंगल, पहाड, हिमाल, खोला, नदी, झरना हुने छन् भन्दथे । त्यहाँ स्कुल, कलेज, अस्पताल, शहर बजार आदि हुने सपना बाँडेका थिए वैज्ञानिकहरुले । मानवले चाहेको समयमा यानमा सरर उडेर चन्द्रमामा पुग्ने र फेरि चन्द्रमाबाट रमाइलो गर्दै धर्तीमा फर्कने सकिने जस्ता हवाई सपना देखाएका थिए । तर, जीवन जीउन चाहिने तत्वहरु नभएको ग्रहमा जीवनका लागि चाहिने असंख्य तत्व सिर्जना गर्न कठिन या असम्भव भएरै होला यी देशहरुले त्यस्ता सपनाका कुरा गर्न छाडे । हालका खोजले मंंगलग्रहमा जीवन सम्भव हुन्छ कि भन्ने झिनो आशा देखाए पनि त्यहाँ एउटा सानो यान पुग्न पनि बर्षांै लागेको छ । तब पृथ्वीबाट मानव पुगेर जीवन शुरु गर्न सम्भव नै देखिँदैन । त्यसैले मंगलग्रहमा मानवबस्ती स्थापना र त्यहाँसम्मको अन्तरिक्ष पर्यटन यात्रा असम्भव नै देखिन्छ ।

पृथ्वीमा नै भएको समुद्रमा त मानवबस्ती बसाउन नसकिइरहेको अवस्थामा चन्द्रमा या अन्तरिक्षको खुल्ला स्पेशमा मानवबस्ती बसाउने कुरा हवाई सपना नै रहेछ सायद । अन्तरिक्ष यान या अन्तरिक्ष केन्द्र त सुरक्षित छैनन् भने झन् मानवबस्ती जस्तो विशाल संरचना कल्पनाभन्दा बाहिरको कुरा भएको साबित हुँदै गएको छ ।

यस्तोसम्म परिकल्पना पनि गरिएको थियो कि अन्तरीक्षमा गोलाकार या बेलनाकार कोलनी (मानवबस्ती) बनाइने छ । अन्तरिक्ष मानव कोलनीले पृथ्वीको परिक्रमा गरिरहने छ अनि पृथ्वी र अन्तरिक्षको मानव कोलनीबीच मानव आवातजावतको क्रम चली नै रहने छ । पछिल्लो पटक धनाढ््यहरुका लागि अन्तरिक्ष पर्यटन थाली हाल्ने जनाइए तर अन्तरिक्ष खोज अभियानमा सक्षम राष्ट्रहरु, उनीहरुबीचमै सिर्जित नयाँ अप्ठ्यारा परिस्थितिले उनीहरुले चन्द्रमा तथा अन्तरीक्षमा मानवबस्ती बसाउने लगायत धनाढ्यहरुका लागि अन्तरिक्ष पर्यटन सपना त्याग्दै गएको भान हुन्छ । उनीहरुले अन्तरिक्ष खोज प्रविधिमा छलाङ्ग मारे पनि, अन्तरिक्षलाई पानी पधेँरो बनाए पनि आप्mनै बचाउ र स्वार्थमा सीमित हुँदै गएको प्रतित हुन्छ ।

सन् १९९० को दशकतिर सोभियत संघबाट धेरै सदस्य अलग भएपछि रुसको आर्थिक तथा वैज्ञानिक शक्तिमा ह«ास आयो । तसर्थः उसले अन्तरिक्षमा मानवबस्ती बसाउने सपना पूरा गर्न सकेन । अमेरीकालाई पनि चीनले टक्कर दिइरहेको बुझाइले अमेरीकाको सपना अन्तरिक्ष जासुसीमा सीमित हुन पुगेको छ । आत्मरक्षाका लागि अमेरिका अन्तरिक्षबाट विश्वको जासुसी गरिरहेछ भने चीन पृथ्वीबाटै अमेरिकाले नै विकास गरेको सूचना प्रविधिकै माध्यम (इन्टरनेट)बाट संसारको जासुसी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आलेखहरुले जनाउँदै आएका छन् ।

त्यसैले पनि अन्तरिक्षमा निर्मित मानवबस्तीमा बस्न जाने, त्यहाँ घरजम गर्ने र अन्तरिक्ष पर्यटनको अलौकिक आनन्द लिने सपना टुट्दै गएको हो । तर पनि अहिलेसम्मका अन्तरिक्ष अभियानका बहुआयामिक नतिजा आइरहेका छन् । जसबाट पृथ्वीको मानव सभ्यता मात्र होइन सम्पूर्ण जीवन नै सुन्दर र रोमाञ्चित हुँदै गइरहेको छ ।

आशा गरौँ आपसी द्वन्द्व या होडबाजी त्यागेर अमेरीका, रुस, चीन र अरु धेरै देश मिलेर अन्तरिक्षमा गाऊँ शहर बसाउने अभियानमा जुटुन् र नील आम्स्ट्रङ्गले चन्द्रमामा पहिलो मानव पाईला टेक्दै भनेका ‘द्याट् इज वन स्मल स्टेप फर म्यान अ जाइन्ट लिप फर म्यानकाइन्ड’को अर्थ र यसमा लुकेको मानवको अन्तरिक्ष सपना साँच्चै साकार होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here