तुलसीराम खरेल,
बजारको झापारोडस्थित अति ब्यस्त चोकको छेउमा एउटा झाडी र झाडीको बीचमा सप्रिएका लामालामा पात भएका हरिया गाँजाका बोटहरु हल्लिरहेका देखिन्थे । सागर गाँजा सेवनमा पारङ्गत नै थियो । ऊ सीमावर्ती भारतको किसनगञ्ज क्षेत्रबाट आएर झापाको सुरुङ्गा बजारमा सानोतिनो व्यापार गथ्र्यो ।
त्यो देखावटी थियो । ऊ भित्री रुपले स्कुले केटाहरु मार्फत समाजमा गाँजा सेवनको लत स्थापित गरिरहेको थियो । उसको संगतमा दिन प्रतिदिन बिद्यालयका कक्षा ८, ९, १० तथा कक्षा ११ र १२ का छात्र र केही छात्राहरु संलग्न हुँदै गइरहेका प्रमाणहरु फेला पर्न थालेका थिए । सागर मण्डल राम्रो केटा थियो । किसनगञ्जमा उसको बुवाको ठूलो टायर रिसोलिङको कारोवार थियो । साथी कै संगतले पढ्दा–पढ्दैको केटो डेन्ड्राइट, चुरोट, रक्सी, गाँजा हुदै अन्य सिँडी उक्लन थालेको थियो । उसले एकदिन बुवाको २० हजार चो¥यो । फुपुको घर काँकरभिट्टा आयो अनि साथीहरुकै सल्लाहाले सुरुङ्गा बजारमा सानो पसल थाप्यो ।
बजारको झापा जनता माविको कक्षा ९ मा एउटा बिक्की चौधरी नामको रहरलाग्दो केटो पढ्थ्यो । डिगलबेङक नामको भारतीय सीमावर्ती बजारमा सागर मण्डलसँग उसको चिनजान भयो । झापारोडको व्यस्त चोकको छेउका सलसलाउँदा भाङ्का बोटहरु बिक्कीलाई चिनाइयो । बिक्की कि आमाको मृत्युपछि उसको घरको परिस्थिति बिग्रिएको थियो । उसको बुवाले अर्की आमा ल्याएपछि बिक्कीको उदासीनता बढ्यो । ऊ कति दिन भोकै स्कुल जान्थ्यो । कान्छी आमा र बुवाले खासै खोजी गर्दैनथे । उसलाई मनोभावनाले कहिलेकहीँ भावुक बनाउँथ्यो । सागरले पहिलोचोटी तान्न सिकाएको गाँजाले बिक्कीलाई लठ्ठै पा¥यो । उसलाई रमाइलो लाग्न थाल्यो । उसले आफ्नी मरेकी आमा देख्यो । बालापनमा आमाको सारी समातेर झापा बजारमा लाग्ने दशैँको संथाल नृत्य हेरेको याद आयो । कागजको ठूलो थैलीमा जामुन राखेर खाएर मुख रातो भएको सम्झ्यो । मेला बजारमा आमाले तातो तातो जेरी खुवाएको याद ग¥यो । उसले आफ्नो भोको पेट छाम्यो । अनि गाँजा झन जोड्ले तान्न थाल्यो ।
बिक्की राति घर आयो । हातमा पुराना फाँटेका पुस्तकहरु, दुईतिरबाट दोब्रिएका कापीका गाताहरु नाकबाट निस्कने पहेँला पाप्रा जस्ता देखिन्थे । उसको पेट छिनेर बारुलाको खण्ड परेको शरीर जस्तो देखिन्थ्यो । सेतो कमिजमा कालाकाला टाटाहरु, खैरा कत्लाहरु परैबाट टल्कन्थे । चप्पलको मोटाइभन्दा दुईगुणा जतिको मोटो पहेँलो माटो टाँसिएको थियो उसको चप्पलमा । नीलो पाइन्टमा कुरो टाँसिएर झापा बजारमा संथाल नृत्यमा समूह मिलाएर बसेका मानिसका टोपी जस्ता देखिन्थे । ढीलो आएकोमा कान्छी आमाको एक तोखो बचन भुइँमा झर्न नपाइ बाबुको चड्कन गालामा प¥यो ।
जेठ महिनाको प्रचण्ड गर्मीमा तातेको टीनको छानोको रापले उसको मुटु कलेजो र फोक्सो भकभक उम्लिएको पानी झैँ उम्लन थाले जस्तो लाग्थ्यो । उसको आँखाबाट ताता नुनिला आँशुको बर्षा हुन थाल्यो । गन्धे मुख, उदासी मुखमण्डल र गलीत शरीर बोकेर उ बाहिर निस्क्यो । नजिकैको बिरीङ खोलामा गयो । कपडा खोल्यो । निर्वस्त्र आफ्नो शरीर नियालो । पानीमा हाम फाल्यो । भोको पेटमा अघाउञ्जेल पौडियो र घर फर्कियो । आलुको भाजी, चिसो माछाभात खान पायो त्यो दिन उसले । चिमोरिया बाजेको होली खेतबाट आमाले ढोक्सा थापेर ल्याएको माछा सम्झ्यो उसले ।
उसका पञ्कज भारती, राजकुमार खरेल, दीपा वाग्ले, बशन्त राई, भोगन यादव नामगरेका साथीहरु थिए । उसले भोगनलाई गाँजा खुवाउने कुरा सुनायो । शुरुमा भोगनलाई डर लाग्यो । ए, एकपटक त हो नी खा न ? बिक्कीले भन्यो । बिक्की र भोगनले स्कुलको टिफिन टाइममा दयारामको मकैवारीको आलीमा बसेर गाँजा ताने । यो क्रम हप्तादिन जति चल्यो । भोगनको घरमा उसकी आमाले होली पर्वमा भाङको लड्डु बनाएर बजारमा बेच्दथिन् । त्यो लड्डु कक्षा चारमा पढ्दाखेरी नै भोगनले चाखीसकेको थियो । भोगनको बुवा घर निर्माण कार्यका मिस्त्री थिए । उनले काम गरेको दिनमा एक हजार दुई सय रुपैयाँ एकैदिनमा कमाउँथे । त्यो रकम उनी रक्सी खाने साथीलाई खुवाउने मोजमस्ती गरेरै सक्थे । त्यसको पीडाले ९ कक्षामा पुगेको भोगनलाई समात्न थालिसकेको थियो ।
झापा जनता माध्यमिक बिद्यालयमा प्रथम त्रैमासिक परीक्षा आउनै लागेको थियो । निश्चित कोर्ष सकेर शिक्षकहरु बिद्यार्थीहरुलाई रिभिजन गराउने र बढी प्राक्टिस बुकहरुबवाट एक्सरसाइज गराउने कार्यमा लागेका थिए । टिफिन पछिको पाँचौ घण्टी लाग्यो । बिद्यालयको चमेना गृह, छेवैको सानो चोकबाट खाजा खाएर बिद्यार्थीहरुका बिभिन्न समूह बिद्यालय प्राङ्गणमा प्रवेश गरिरहेका देखिन्थे । त्यो दिन पंकज, राजकुमार, भोगन र बिक्की ढीलोगरी बिद्यालय प्रवेश गरे । हेमन्त सरले सोधी हाले ।’ कक्षा शुरु भइसक्यो किन ढीलो गरेको तिमेर्ले ?’ कोहीसँग उत्तर थिएन । भोगन गाँजाले लठ्ठ थियो । राजकुमारको आँखा झुम्म परेका देखिन्थे । सबैजनालाई अफिसमा लगियो । उनीहरुको क्रियाकलाप केही दिनदेखि नै निगरानी गरिरहेका हेमन्त सरलाई लामो ढाँटिरहन सकेनन् । उनीहरुले गाँजा खाने गरेको स्वीकारे । भोगनले चार भाटा खाएपछि बोल्यो । राजकुमारले मातृका र राजेन्द्र सरको झापड र सिर्कनुको स्वादसँग अंकमाल गर्दै गाँजाको लत लागेको कुरा बोल्न बाध्य भए ।
बिद्यालय प्रशासनबाट चारै जनाका अभिभावकहरुलाई बिद्यालयमा बोलाउनका लागि टेलिफोन गरियो । भोगनकी आमा लगायत चारैजनाका अभिभावकहरु बिद्यालयमा आइपुगेका थिए । कसैका आमा कसैका बुवा कसैका हजुरवुवा । पंकजको गार्जियनको रुपमा सेतो कछाड् लगाएका हजुरवुवा आए । पंकजका बुवा साउदी अरबमा र आमा ओमनमा वैदेशिक रोजगारी गर्दारहेछन् । नातिको यस्तो हर्कतले हजुरबुवाको हृदयमा चोट लाग्यो । भोगनकी आमा रुँदै थिइन् । बावुकै लाइनमा छोरो लाग्यो के गर्ने ? छेउमा बसिरहेका तुलाराम सरले सोधे ‘तपाईका श्रीमान् के गर्छन् ?’ भोगनकी आमाले फटाफट भन्न थालिन्– ‘ऊ मिस्त्री हो, पैसा पनि राम्रै कमाउँछ । रक्सी, मासु धोक्छ । अर्काकी श्रीमतिसँग रोमान्स गर्छ । घरमा आएर मलाइ कुट्छ ।’
भोगनकी आमा भन्न थालिन्– ‘यो छोरालाई हुर्काउन मैले गाउँभरिका जुठाभाँडा माझेँ, लोग्नेको लात्ती र कुटाई सहेँ, पोइल पनि गइन, यसैको माया लाग्थ्यो । यसलाई हुर्काएर सुख पाउँली भनेको यो पनि यस्तै भयो ।’ उनको रुञ्चे आवाज सुनिरहेको भोगनको अनुहारमा कति पनि ग्लानी देखिन्नथ्यो । उसको यो क्रियाकलापले आक्रान्त बनेका मिलन सरले एउटा भाटो समातेर भोगनको तिघ्राको पछाडिको भागमा पाँच सात छडी लगाए । अव ऊ रुन थाल्यो । उसले भन्यो– ‘अब फेरि खाँदिन ।’
केटाहरुलाई सोधपुछ गरेर यो घटनाको श्रृंखला पत्ता लगाइयो । गाँजा आतंकका राजकुमार, पंकज, भोगन, बिक्की हुँदै सागर मण्डलसम्म कुरो पुग्यो । गाँजा आतंकको नायक र स्रोत सागर थियो । उसको भारतीय सीमा क्षेत्रमा यसको खेती नै थियो । सागरका क्रियाकलापमा निगरानी बढाउन प्रहरीलाई जानकारी गराइयो । बिद्यार्थीहरुलाई कागज गराएर घर फर्काउन चाँजोपाँजो मिलाउन थालियो । त्यति नै बेला भोगनकी आमा भन्दै थिइन्– ‘म झुण्डेर मरौँ कि बिष खाएर मरौँ ! बुढाको त्यस्तो आतंक छोराको यस्तो कार्य । म मर्न चाहन्छु ।’ उनलाई पनि शिक्षकहरुले धेरैकुरा सम्झाएर छोरासहित घर पठाइ दिए । छोराले पनि अब त्यो खालको कार्य नगर्ने प्रतिबद्धता जनायो ।