कनकाईमा धमाधम योजना तर्जुमा गरिँदै

0
383

सुरुङ्गा।

आ.व. २०७६÷०७७ को बजेट तयारीका लागि कनकाई नगरपालिका वार्ड नं. ३ को योजना तर्जुमा सम्बन्धी भेला सम्पन्न भएको छ ।

कनकाई नगरपालिका वार्ड नं. ३ को आयोजनामा कनकाई सामुदायिक वन समूहको सभाहलमा भएको भेलामा योजना छनौटका सैद्धान्तिक तथा कार्यक्रमगत ढाँचाका सम्बन्धमा छलफल भएको थियो ।

वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले अव्यवस्थित बसोबास तथा सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्नुपर्ने, बाटाका ठाउँ–ठाउँमा ह्युमपाइप राखी पानीलाई निकास दिनुपर्ने, सन्काहा खोलालाई व्यवस्थित गरी छेउछाउका बस्तीलाई सुरक्षित राख्नुपर्ने, कुलतमा फँसेका युवालाई असल बाटामा लगाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, कृषि तथा उत्पादनमूलक काममा लगानी गर्नुपर्ने, रोजगारीका लागि युवा विदेश पलायन हुने क्रम रोक्ने कार्यक्रम तल्लो तहदेखि नै शुरु गर्नुपर्ने, उपभोक्ता तथा निर्माण समिति गठन गर्दा राजनीतिक भेदभाव गर्नु नहुने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सामुदायिक विद्यालयमा निजी दरबन्दीमा कार्यरत शिक्षकको सेवासुविधाका लागि व्यवस्था गर्नुपर्ने, सुरुङ्गा बजारमा सुविधासम्पन्न व्यापारिक कम्प्लेक्स बनाइनुपर्ने लगायतका माग तथा सुझावहरु राखेका थिए ।

सो कार्यक्रममा बाटाघाटा र भवन लगायतका भौतिक विकास मात्र साँचो अर्थमा पूर्ण विकास नभएकाले सर्वाङ्गीण विकासका पक्षहरुमा ध्यान दिनुपर्ने, गरीब, बेसहारा, भूमिहीनको हितका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने विषयमा पनि सहभागीले विचार राखेका थिए ।

कनकाई नगरपालिका कार्यपालिका सदस्यहरु नबलकिशोर दत्त र कृष्णमाया भुजेल, वार्ड नं. ३ सदस्य छबि थपलिया र सुष्मा परियारको उपस्थिति रहेको कार्यक्रममा कनकार्य माविका अध्यक्ष जनार्दन उप्रेती, प्रअ कर्णबहादुर डाँगी, नेपाली कांग्रेस नगर सचिव दुर्गाप्रसाद प्रसाई, कनकाई महिला एकता तथा वातावरण संरक्षण समितिका अध्यक्ष मान्ता खरेल, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, नेपाली कांग्रेस वार्ड नं. ३ अध्यक्ष यदुनाथ अधिकारी, युवा नेताहरु राजेन्द्र उप्रेती, ऋषि राई, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, शिक्षक हिमाल बिष्ट, नेपाल पत्रकार महासंघ झापा जिल्ला कार्यसमिति सदस्य लीलाराज झापाली लगायतले योजना तर्जुमाका लागि सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रम कनकाई नगरपालिका वार्ड नं. ३ का सदस्य युवराज चम्लागाईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here