विर्तामोड।
महिला मुक्ति अभियान झापाको आयोजना तथा विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा एकदिने नेतृत्व विकास तथा लंगिक हिंसा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिमको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि रहेकी प्रसाईले लैंगिक हिंसा र विभेद सम्बन्धी कानून उत्कृष्ट भएपनि त्यो ठेलीमा मात्रै सिमित रहेको बताइन् ।
उनले कानून कार्यान्वयन गर्ने ठाउँमा पुरानै मानिसकता बोकेका मानिसहरुको उपस्थिति र मुद्दालाई कमजोर बनाउन हुने पैसाको चलखेलका कारण कानून कार्यान्वयन हुन नसक्दा पीडितले न्याय पाउन नसकेको बताइन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहनकुमार थापाले लैगिंक हिंसा न्यूनीकरणका लागि कानून कार्यान्वयनमा कडाई गरिनु पर्ने बताउँदै लैंगिक हिंसा अन्त्यका लागि पहिले परिवार भित्रैको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महासचिव सुष्मा पौडेल, एवीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै सञ्चारकर्मी शीला उप्रेती बोजूले प्रहसन प्रस्तुत गरेकी थिइन् ।
संस्थाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मोती पन्धाकले स्वागत गरेकी थिइन् । तालिममा विर्तामोडका दशवटै टोल विकास समितिका एक सयभन्दा बढीको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई अधिवक्ता लक्ष्मी खनाल कोइरालाले लैंगिक हिंसाबारे र सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौलाले नेत्तृत्व विकासबारे प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरु मध्ये वडा नं. १ बाट माया प्रधान, २ बाट माया सिटौला, ३ बाट दुर्गा सिलवाल, ५ बाट जमुना खरेल र ७ बाट गंगा तामाङले तालिम फलदायी भएको बताएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव बिनिता तामाङले गरेकी थिइन् ।































