आठ स्रष्टालाई सम्मान तथा पुरस्कार

0
976

बिर्तामोड,साहित्य चौतारी झापाले २०औं वार्षिकोत्सव तथा २०६औं भानुजयन्तीको अवसर पारेर बिभिन्न विधाका आठ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
साहित्य चौतारी झापाले २०औं वार्षिकोत्सवलाई ‘कला वर्ष’का रुपमा मनाउने र यस बर्ष कला बिधा लगायत साहित्य, कला र संगीतको क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको होटल हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको २०औं वार्षिकोत्सव तथा २०६औं भानुजयन्तीको अवसर पारेर आगामी असार ३१ गते उक्त कार्यक्रम गरिने जानकारी दिइयो ।
यस वर्ष साहित्य चौतारी कला सम्मान मूर्तिकला विधाबाट मूर्तिकार केडी देवानलाई प्रदान गरिने र समर्पण साहित्य चौतारी सम्मान हाँस्यव्यंग्य विधाबाट हाँस्यव्यंग्यकार स्व. गोकुल राजवंशीलाई मरणोपरान्त प्रदान गरिने संस्थाका अध्यक्ष टंक विकल्पले बताए । यस वर्षबाट साहित्यसँग सम्बद्ध तथा सम्बद्ध नभएका झापा जिल्लामा रहेर साहित्य, कला र संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेलाई मरणोपरान्त उक्त सम्मान प्रदान गरिने संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । त्यस्तै भीमबहादुर–पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार चित्रकला विधाबाट चित्रकार योगन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै डिकमान विरही स्मृति साहित्य चौतारी कला सम्मान पुरस्कार कला विधा अन्तर्गत अभिनय कलाबाट लवकुश गौतमलाई प्रदान गरिने छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । त्यस्तै जेवी आले स्मृति साहित्य चौतारी फोटोग्राफी पुरस्कार फोटोग्राफी विधा अन्तर्गत विक्रम नाल्वो सुब्बालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि पाँच हजार एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै धनमाया–जगन्नाथ बिमली स्मृति साहित्य चौतारी नवप्रतिभा पुरस्कार नृत्यकलातर्फ प्रदान गरिने भएको छ । नवप्रतिभा पुरस्कारका लागि झापाभित्रका नृत्य प्रशिक्षण बिद्यालयबाट दुई–दुई जना प्रतियोगीको सहभागितामा असार १४ गते लोकनृत्य छनौट प्रतियोगिता आयोजना गरिने भएको कार्यक्रम संयोजक हिम्मत नेम्वाङले बताए । उक्त प्रतियोगिताबाट सर्वोत्कृष्टलाई पाँच हजार एक सय र दुई जनालाई जनही दुई हजार एक सय रुपैयाँले पुरस्कृत गरिने भएको छ ।
त्यस्तै साहित्य चौतारीले यस वर्ष झापा जिल्लाभरि क्रियाशील दर्तावाल साहित्य तथा कला संगीतसँग सम्बद्ध संस्थाहरुसँग समन्वय गरी वार्षिक कार्यक्रम सहितको क्यालेन्डर प्रकाशन गर्ने, ती संस्थाको परिचय एवम् गतिविधि सहितको साहित्य चौतारी वार्षिक बुलेटीन प्रकाशन गर्ने लक्ष्य लिएको संस्थाका संरक्षक तथा संस्थापक श्रेष्ठले जानकारी दिए । भीमबहादुर श्रेष्ठ–पञ्चकुमारी श्रेष्ठ र धनमाया विमलीको स्मृतिमा २०५६ साल असार ३१ गते देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठले साहित्य चौतारीको स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, कला विभागका कार्यक्रम संयोजक मूर्तिकार हिम्मत नेम्वाङ, साहित्य विभागतर्फ कृष्ण निराकार सुवेदी, संगीततर्फ संगीतकार कृष्ण योञ्जन, कोषाध्यक्ष भवानी गौतम, देवीचरण भण्डारी, रंगकर्मी माधव कल्पित, विमला चिमरिया, सुनिता तामाङ, कमला नेम्वाङ, झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिलीप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here