बजेटबिनै नीति कार्यक्रम

0
1663

बिर्तामोड, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले असार १० गतेभित्र स्थानीय तहको सभामा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नियम छ ।
सोही नियम अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति कार्यक्रम सार्वजनिक गरे । तर, कतिपय स्थानीय तहले बजेट भने सार्वजनिक गर्न सकेनन् । उनीहरुले तयार पारेको बजेटको खाकाका विषयमा छलफल जारी छ ।
ऐनले परिच्छेद– ७ को राजश्व र व्ययको अनुमान स्थानीय तहले सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, झापाका १५ स्थानीय तहमध्ये केहीले मात्र नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
अधिकांश पालिकाले विकास निर्माणलाई नै प्राथमिकतामा राखेका छन् । केही पालिकाले शिक्षा त केहीले कृषिलाई पहिलो प्राथमिकतामा राखेका छन् । जसमध्ये बिर्तामोड नगरले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै बिर्तामोडलाई ‘साइन्स सीटी’को परिकल्पना गरेको छ । बिर्तामोड नगरपालिकाले बालमैत्री शिक्षक सिकाईको सपना, आचरणयुक्त समाजको परिकल्पना गर्दै नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्दै आधारभूत तहसम्मको शिक्षालाई सर्वसुलभ तथा अनिवार्य गर्न भर्ना अभियानलाई निरन्तर सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को नगरले पेस गरेको नीति तथा कार्यक्रममा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको हो । विद्यार्थीहरुलाई स्वच्छ पिउने पानी र सफा शौचालयका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नगरको लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । महेन्द्र रत्न माविमा विशेष शिक्षाको अटिजम कक्षा सञ्चालन गरिने भएको हो ।
बिर्तामोडमा रहेका १८ सामुदायिक विद्यालयहरुका बालशिक्षा कक्षाकोठालाई सहारा नेपालसंगको साझेदारीमा ब्यवस्थापन गरिने भएको छ । बालमैत्री शिक्षणको सपना आचारण युक्त समाजको परिकल्पना भन्ने नगरपालिकाको आर्दश वाक्यलाई पुरा गर्न कक्षा–३ र ४ मा लागुगरिएको आचारण तथा सचेतना शिक्षालाई कक्षा ८ सम्म निरन्तरता दिइएको छ ।
बिर्तामोडमा साइन्स सिटी साथै बाल उद्यानको निर्माण गरि विज्ञानका विद्यार्थीलाई अध्धययन अनुसन्धानको रुपमा विकास गरेर लगिने भएको छ । शिक्षाको विकासमा विशेष जोड दिएको नगरपालिकाले कृषकको समृद्धि व्यावसायीककरण र आधुनिक प्रविधिलाई जोड्ने भएको छ ।
मेयर विषादिमुक्त नगर कार्यक्रममा संलग्न कृषिकहरुद्वारा उत्पादित विषादिरहित तरकारीको व्यवस्थापन गर्न कृषिथोक बजारभित्र विषादिरहित तरकारी बिक्री केन्द्र स्थापना गरिने भएको छ । वर्ष एक, समूह एक, उत्पादन र मौरी स्रोत केन्द्र जस्ता कृषकका लागि कृषि कार्यक्रम थप गर्ने भएको छ । विपन्न एक हजार परिवारलाई नगरको तर्फकाट दुई हजार र परिवारको तर्फबाट १५ सय रुपैयाँको साझेदारीमा स्वास्थ्य बिमा गराउने शुरुवात गरिने भएको छ । नगरका १० वटै वडामा स्वास्थ्य जीवन कार्यक्रम विस्तार गरिने भएको छ ।
नगरमा पर्यटन क्षेत्रको विकासका लागि पोखरी टु पोखरी अभियान सञ्चालन गरिने भएको छ । पर्यटकीय स्थलका रुपमा रहेका सामुदायिक वनको स्तरोन्ती गरिने भएको छ । नगरलाई हरित र स्वच्छ नगरकाख रुपमा विकास गर्न एक सदस्य एक विरुवा अभियान सञ्चालन गरिने भएको छ । जसका लागि सहकारी संघ–संस्थासँग नगरले सहकार्य गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here