बिर्तामोड ।
झापामा पछिल्लो समय रकम लिएर फरार हुने क्रम बढ्दै गएको छ । १५ वटै स्थानीय तहमा विभिन्न प्रलोभन देखाएर ठगी गर्नेहरु बढ्दै गएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा रकम हात पार्ने र त्यस लगत्तै कुलेलाम ठेक्नेहरु बढेकाले समस्या आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । यो समस्या झापासहित देशभर नै बढ्दै गएको छ ।
ठगी गर्ने गिरोह विरुद्धका उजुरी प्रहरी कार्यालयमा आएपनि लेनदेनको विषय प्रहरीले नहेर्ने डीएसपी श्रेष्ठको भनाई छ । कानुनले प्रहरीलाई लेनदेनको मुद्धा हेर्ने अधिकार नदिएको र ठगी गर्ने गिरोहले प्रमाण पनि नष्ट गर्ने भएकाले उनीहरुलाई कानुनी दायरामा ल्याउन समस्या भएको प्रहरीले जनाएको छ । यसैबीच केही समय अघि स्थानीय तहका न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुखहरुले न्यायिक समितिमा ठगीको उजुरी बढ्दै गएको र ठगी गर्ने गिरोह नै सक्रिय रहेको बताएका थिए । विभिन्न प्रलोभनमा पार्ने र जग्गा तथा नगद रकम आफ्नो कब्जामा पारेपछि फरार हुने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।
केहि महिना अघि झापाको बिर्तामोड–४ का व्यवसायी अनिल अग्रवाल रिङ्कुले विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर फरार भएका थिए । उनको विरुद्धमा उजुरी परेपनि उनी फरार रहेकाले हालसम्म पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ । उनी भारतमा आफन्तकोमा जान्छु भन्दै गएपछि सम्पर्क बिहिन बनेको जनाइएको छ ।
यता महंगो ब्याजमा रकम साटी दिनेहरु भने आर्थिक लेदेनका कारण धेरैको घरबार बिग्रने तथा डिप्रसनको शिकार समेत बन्ने अवस्थामा पुगेको बताइएको छ । प्रहरीले मिटर ब्याजको लोभमा धेरै मानिस घरबार विहीन हुनुपर्ने अवस्थामा पुग्न लागेकाले सचेत बन्न आग्रह गरेको छ । कसैलाई ऋण दिदाँ वा लिदाँ अनिर्वाय रुपमा कानुनी पक्रिया पुरा गरेर दिन र लिन सुझाव दिइएको छ । समान्य चिनजानको भरमा कसैको विश्वासमा परेर आर्थिक कारोबार नगर्न र आर्थिक कारोबार गर्दा बैंकिङ्ग प्रक्रिया मार्फत गर्न प्रहरीले सुझाव दिएको छ ।
मिटर ब्याजको धन्दाले आफन्त, साथीभाइ र परिवारमा समस्या आएको जनाइएको छ । आपसी समझदारीमा बजारमा चलेको भन्दा बढी ब्याज दिने बहानामा कागज पनि नबनाएका र बैंक÷ सहकारीमार्फत नभई नगद नै बुझाएकाहरु अप्ठ्यारोमा परेका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रीम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको बताइएको छ ।
बैंक, वित्तीय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा परेर धेरैजसो महिलाले रकम डुबाउन पुगेका छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर आएको रकम र बैंकमा घरजग्गा धितो राखेर निकालिएको रकम मिटर ब्याजमा लगाउने गरिएको पाइएको छ । बिर्तामोडमा लाखौं रुपैंया कुम्ल्याएर फरार भएको घटना सेलाउन नपाउदै सप्तरीको दौलतपुर स्थायी ठेगना भइ हाल भद्रपुर १० धनुषमोड नजिकै बस्दै आएका ४५ वर्षिय राजकुमार राउत करोडौं रकम लिएर वेपत्ता भएका छन् ।
राउत असार १३ गते शुक्रबार दिउँसो देखी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ । उनले झापाको विर्तामोड, भद्रपुर, चन्द्रगढी, गौरादह, उदयपुरको गाइघाट लगायतका स्थानबाट व्यक्ति,सुन व्यवसायी, यातायात व्यवसायी, सटही काउन्टर सञ्चालक, उद्योगी व्यापारी ,छिमेकी आफन्तजनबाट करिब ५ कारोडभन्दा माथि रकम लिएर वेपत्ता भएको आरोप छ ।
उनले एक देखि २७ लाख रुपैयाँसम्म रकम सापटी लिएको देखिएको छ । प्रायःजसो जग्गाको कारोबार गर्दैछु रकम अपुग भयो भन्दै रकम लिने र केही दिनपछि व्याज थपेर रकम दिने गरेकोले लगानी गरेको लगानी कर्ताको भनाइ छ । उनले कसैबाट सुनको कारोबार गर्दैछु भनेर समेत आश्वासन दिएर रकम लिएका बताइएको छ । एकै घरका परिवारले राउतसँग छुट्टाछुट्टै कारोबार गरेको समेत पाइएको छ । हालसम्म राउतलाइ रकम दिने २३ जना देखिएका प्रहरीले जनाएको छ ।
अहिले दैनिक राउतको घरमा मानिसहरु आउन थालेका छन् । उनका बुवा आमा सप्तरीमा छन् । २०६७ साल देखि राउत परिवार चन्दगढीमा स्थायी बासिन्दा हुन् । राउत वेपत्ता भएपछि तीनदिन अघि मङ्गलबार ९ जना लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताइएको छ । रकम लिएर फरार हुने बढेकाले धेरैमा आर्थिक समस्या आएकाले पारिवारीक कलह बढ्दै गएको छ ।