बिर्तामोड ।
जिल्ला प्रहरी कार्यालय झापाले १९ थान चोरिएका मोटरसाइकल सहित प्रहरीले पाँच जनालाई सार्बजनिक गरेको छ । एक साताको अवधिमा झापाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । चोरीमा सम्लग्न १३ जना भएपनि पाँच जनालाई मात्रै सार्वजनिक गरिएको छ ।
झापाको गौरादह नगरपालिका– २ निवासी १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ निवासी २२ वर्षीय रोविन राजवंशी, वाह्रदशी गाउँपालिका ७ निवासी १९ वर्षीय विनोद मुर्मू, सोही गाउँपालिका – ६ का १९ वर्षीय किरण चौधरी, कमल गाउँपालिका – ४ का केशव श्रेष्ठलाई प्रहरीले मोटरसाइकल चोरी अभियोगमा पक्राउ गर्दै सार्वजनिक गरेको हो ।
त्यस्तै मोटरसाइकल चोरी आरोपमा प्रहरीले शिवसताक्ष नगरपालिका – १ का किरण भण्डारी, इलाम चुलाचुली गाउँपालिका २ निवासी सन्त श्रेष्ठ समेत पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।
त्यस्तै मोटरसाइकल चोरी आरोपमै शिवसताक्षी– ५ का रमेश ताजपुरिया, सोही ठाउँमा प्रेमवहादुर रिमाल, झापा गौरादह निवासी शन्त लिम्बू, प्रकाश न्यौपाने, दमक – ४ निवासी वसन राई, र कमल गाउँपालिका – १ निवासी रामु दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकल चोरीमा सम्लग्न १३ जनालाई नै विशेष सूचनाको आधारमा एक सातामा पक्राउ गरिएको बताइएको छ ।
प्रहरीले उनीहरुका साथबाट विभिन्न मितिमा चोरी भएका वुलेट सहित १९ थान मोटरसाइकल बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पूर्व – पश्चिम राजमार्गको सहरी क्षेत्र बिर्तामोड, मेचीनगर, शिवसताक्षी, दमक, आसपासका क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेका थिए । दिन प्रतिदिन मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर १९ थान मोटरसाइकल सहित चोरीमा सम्लग्न गिरोह नै पक्राउ गरेको जनाएको छ ।
प्रहरी पनि कारवाहीमा
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ४६ प्रहरीलाई कारवाही गरेको जनाइको छ । प्रहरीले आचरण विपरित कार्य गर्ने प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार १० र प्रहरी जवान २८ गरी ४६ जनालाई कारवाही गरेको नसिहत ,सख्त चेतावनी, ग्रेड रोक्का, तलववृद्धि रोक्का, पदोन्नति घटुवा ÷ रोक्का ,र ९ जनालाई नोकरीबाटै हटाइएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ को प्रहरीले गरेका काम कारवाहीको विवरण प्रस्तुत गर्दै प्रहरी उपरीक्षक मैनालीले नियम विपरित कार्य गर्ने प्रहरी पनि कारवाहीमा परेको बताउनुभयो । उहाँले राम्रो काम गर्ने १०१ जना प्रहरीलाई पुरस्कृत गरिएको बताउनुभयो ।
प्रहरी संगठन सुदृढिकरण गर्दै शान्ति सुरक्षा अब्बल राख्न प्रहरी सक्रिय भएको भन्दै प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो – अपराध गरे प्रहरी पछि लाग्छ, एक न एक दिन कानूनको फन्दामा परिन्छ ।
उहाँले जिल्लाको शान्ति सुरक्षा कायम राख्न पक्रकार, राजनीतिक दल, व्यवसायी, मानवअधिकारकर्मी र सम्पूर्ण नगरिकको साथ र सहयोगको खाँचो रहेको औल्याउनुभयो ।