रक्सीले मातेर डिआइजीलाई हप्काउने एसपीको सरुवा

0
1037

काठमाडौं ।

रक्सी पिएर आफ्नै हाकिमलाई हप्काउने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलको काज सरुवा भएको छ।

गण्डकी प्रदेशका डिआइजी विनोद घिमिरेलाई फोनमा हप्काएपछि रावल विवादमा तानिएका थिए । उनले डिआइजी घिमिरेलाई फोनमै गीत गाएर पनि सुनाएको विवरण बाहिरिएपछि काज सरुवा गरेर ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पुर्‍याइएको हो ।

के थियो घटना गोरखामा केही दिन अघिदेखि एउटा घटनाले डरलाग्दो रुप सिर्जना गरेको थियो। गत साता बुधबार रातिदेखि गायव यारुबगरका व्यवसायी धनकमल गुरुङको अवस्था अज्ञात थियो उनलाई आक्रमण गर्नेसमेत नौजना अझै बेपत्ता रहेको घटनाले प्रहरीको टाउको दुखाएको थियो।

यसैबारेमा बुझ्न असार १८ गते बुधबार बिहानै प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेले गोरखाका एसपी भोला रावललाई फोन हाने। रावलले डिआइजीको फोन नउठाएको तीन दिन भइसकेको थियो। पटक पटक फोन गर्दा पनि सम्पर्क नभएपछि डिआइजीले प्रहरीकै सञ्चारमार्फत् गोरखाका एसपीलाई फोन गर्न निर्देशन दिए।

तर, पनि फोन आएन। केही बेरपछि एसपी रावलले डिआइजीलाई आफैं फोन गरे तर रक्सीले मातेर बेसुर भएर। ‘उहाँले मलाई फोन गरेर गाली गरेर त उल्कै गर्नु भो नि! गीत गाउनेदेखि सारा गर्नुभो,’ एसपी रावलले रक्सी पिएर फोन गरेको पुष्टि गर्दै डिआइजीले भने, ‘अत्ति भयो भनेर यहाँबाट चेकजाँच गर्न एसएसपीसापको टिम पठाएँ।

गोरखा अस्पतालकै डाक्टरलाई बोलाएर मेडिकल गर्दा रिपोर्ट पोजेटिभ देखियो।’ प्रदेश प्रहरीको प्रमुखको भूमिकामा आएपछि घिमिरेले हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जिल्ला प्रमुखहरूलाई प्रदेशमा फोन गरी कार्ययोजना सुनाउनै पर्ने नियम बनाएका थिए। ‘दैनिक कार्ययोजना सुनाउनु पर्ने मान्छे तीन दिनदेखि बेपत्ता,’ घिमिरेले भने।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here