बिर्तामोडमा यस वर्ष ‘वैशागु बथर’ मनाइने

0
4

झापा, मेचे समुदायको महान पर्व ‘वैशागु बथर’ यस वर्ष झापाको बिर्तामोडमा मनाइने भएको छ।
मेचे समाज शिवियारी आफात केन्द्रीय समितिले वैशाख ३ गते भव्य रूपमा पर्व मनाउने तयारी पूरा भएको जनाएको छ। बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो।
नव वर्ष २०८३ को अवसर पारेर आयोजना गरिने उक्त पर्व मेचे समाज सिवियारी आफातको मुख्य आयोजना, मेचे महिला उत्थानको सह–आयोजना तथा बिर्तामोड, अर्जुनधारा र हल्दीबारी नगरपालिकाको व्यवस्थापनमा हुने जनाइएको छ। कार्यक्रममा मेचे जातिको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा जोड दिइने आयोजकको भनाइ छ।
केन्द्रीय अध्यक्ष वीरेन मेचेका अनुसार नेपाल र भारतबाट बुद्धिजीवी, कवि–साहित्यकार, संस्कृतिकर्मी तथा भाषाविद्को सहभागितामा पर्व मनाइनेछ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा रहने छन्। साथै बोडो राइटर एकेडेमीको टोली तथा बोडो टेरिटोरियल काउन्सिलका प्रमुख हाग्रामा मोहिलारीलगायतको उपस्थिति रहने जनाइएको छ।
गत वर्ष मेचीनगर–धाइजनमा मनाइएको उक्त पर्व यस वर्ष बिर्तामोडमा आयोजना गर्न लागिएको हो। झापाका नौ स्थानीय तहमा करिब पाँच हजार १९३ मेचे समुदायका मानिस बसोबास गर्दै आएका छन्। पर्वको अवसरमा जिल्लाका सात स्थानीय तहले वैशाख ३ गते सार्वजनिक बिदा दिएका छन्।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अर्जुन मेचे, अमर मेचे, सुनिल मेचे तथा अर्जुनधारा इकाइका प्रताप मेचेलगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here