काठमाडौँ, 
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले आगामी वैशाख ४ देखि ६ गतेसम्म नेपालमा हुने ‘जैविक विविधता रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ हुने भएको छ । सो सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाउने भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा खोटाङको दिक्तेल बजारमा हुने उक्त सम्मेलनमा कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भूसंरक्षण विभाग, रेडपाण्डा नेटवर्कलगायत सङ्घसंस्थाको समन्वय र सहकार्य रहनेछ ।
विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा परेको अवस्थामा नेपालमा हुने सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै स्थानीय तहदेखि नै संरक्षण गर्नुपर्ने सन्देश प्रवाह गर्ने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनमा अन्तरराष्ट्रिय तहबाट अन्य २३ मुलुकले सहभागिताका लागि प्रतिबद्धता जनाएको भए पनि मध्यपूर्वको युद्धका कारण सहभागी हुन नसक्ने पत्राचार गरेको उहाँले बताउनुभयो ।
सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची छ । सरकारको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा पर्दछ । करिब १०७ किलोमिटर लामो दूरीको पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइसकेको छ । यसको नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले रेडपाण्डा–थार पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।
स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन सम्पन्न गरेको नगरपालिकाले स्थानीय स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रवर्द्धनसमेत सम्मेलनमा गर्ने जनाएको छ ।
उक्त नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।






























