झापा ।
गएको जेठ महिनामा मात्रै १ सय ६५ महिलामाथि हिंसा भएको छ । ओरेक नेपालले जेष्ठ महिनामा अभिलेखिकरण गरेका १ सय १६ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त ४९ घटनाका आधारमा १ सय ६५ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरि प्रतिवेदन सार्वजनिक गरेको छ ।
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा जेष्ठ महिनामा ७८ वटा (४७ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ ।
यसैगरी ५२ वटा (३२ प्रतिशत) यौन हिंसा, १४ वटा (८ प्रतिशत) सामाजिक हिंसा, ६ वटा (४ प्रतिशत) हत्या, ६ वटा (४ प्रतिशत) मानव बेचविखनका घटना, ३ वटा (२ प्रतिशत) पारिवारिक स्रोतका अनुसार लैंगिक विभेदका कारणले आत्म हत्या गरेका घटना, २ वटा (१ प्रतिशत) बेचविखन प्रयासका घटना संकलन भएका छन् ।
४ वटा (२ प्रतिशत )घटना माथिकाबाहेक अन्य प्रकारका छन् । अन्य प्रकारका हिंसामध्ये २ जनालाई अलपत्र पारिएको र २ जनालाई अनलाइनमार्फत हिंसा भएको तथ्याँक ओरेकको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै उमेरको आधारमा विश्लेषण गर्दा जेष्ठ महिनामामात्रै सबैभन्दा धेरै ५० जना (३० प्रतिशत)१७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ ।
यसपछि हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु रहेका रहेका छन् । ३९ जना (२४ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका, १९ जना (१२ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले हिंसाको बढी जोखिममा २५ वर्षभन्दा कम उमेर समूहका बालिका, किशोरी र युवामहिलाहरु रहेको देखिन्छ ।
यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ५५ जना (३३ प्रतिशत) रहेका छन् । यसैगरी ३५ जना (२१ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका र २९ जना (१८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका पुरुषहरु हिंसामा संलग्न भएको पाइएको छ ।
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६८ वटा (४१ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ४४ वटा (२७ प्रतिशत) हिंसाका घटना छिमेकीबाट र १२ प्रतिशत (१४ वटा) परिवारका सदस्यवाट भएको पाइएको छ ।
तथ्याङ्ककलाई विश्लेषण गर्दा महिलाहरु अन्जान व्यक्तिहरुबाट भन्दा श्रीमान, छिमेक र घरपरिवारका व्यक्तिहरुबाट नै बढी हिंसाको जोखिममा रहेको देखिन्छ । त्यस्तै २५ वर्षभन्दा कम उमेर समूहका बालिका, किशोरी र युवा महिलाहरु बढि हिंसाको जोखिममा रहेको र २६ देखि ३५वर्ष उमेर समूहका युवाहरु हिंसाको प्रमुख जिम्मेवार भएको पाइएको छ । महिला खवरबाट